विगत केही वर्षका प्रतिवेदनले तिब्बती पठारमा उच्चस्तरको भूगर्भीय क्रियाकलाप हुने गरेको देखाएकाले त्यहाँ बाँध बनाउने चीनको योजनाले निम्त्याउन सक्ने दुष्प्रभाव र खतराका बारेमा सबैको चिन्ता बढेको हो ।
बाह्रौ पञ्चवर्षीय योजनाअन्तर्गत चीनमा बाँध बनाउने काम निकै बढेको छ । यो योजनामा १५ प्रतिशत उर्जा नवीकरणीय स्रोत विशेष गरी जलविद्युत्बाट उत्पादनबाट गरिने उल्लेख छ। त्यसकै प्रतिफलस्वरुप चीनको दक्षिण–पश्चिम तिब्बती पठारका याङ्त्से, मेकोङ र सालविन नदीमा विशेष गरी क्विङ्घाई, सिचुवान, युनान प्रान्त र तिब्बत स्वायत्त क्षेत्रमा बाँध बनाउने काम निकै बढेको छ ।
यस क्षेत्रमा २० वटा निर्माण सम्पन्न भएका र ४० वटा बन्दै गरेकासमेत गरी करिब ६० वटा बाँध बनाउने योजना छ । जलस्रोतको धनी क्षेत्रमा त्यसको दोहन गर्दा उच्च भौगोलिक जोखिम सिर्जना हुन सक्छ । सन् २०१२ मा प्रोब इन्टरनेसनलले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ, “९८.६ प्रतिशत बाँध र पश्चिम चीनको ९९.७ प्रतिशत जलविद्युत् उत्पादन क्षमता सामान्य र उच्च भौगर्भिक जोखिमको क्षेत्रमा पर्छन् ।”
पहिले भौगर्भिक क्रियाकलाप निकै कम हुने तिब्बतको खाम क्षेत्रमा सन् २०१३ को अगस्टमा अनुमान नै नगरिएको खतरनाक भूकम्प आएको थियो । गत वर्षभन्दा अगाडि र सन् १४८० पछि यो क्षेत्रमा दुईवटा भूकम्प रेकर्ड भएका थिए । अगस्टमा आएका दुई भूकम्प रेक्टर स्केलमा ४.२ देखि ५.७ म्याग्निच्यूटका थिए । ती भूकम्पमा परी ८७ जनाले ज्यान गुमाएका थिए । सोही भूकम्पका कारण त्यस क्षेत्रमा ४५ हजार घर भत्केका थिए ।
लानकान (मेकोङ) मा नजिक नजिक चारवटा ठूला जलविद्युतका बाँध बनाउने योजनाले यस्ता भुकम्पको खतरा बढेको छ । रुमेई (तिब्बती भाषामा रोङमेई) निर्माण सम्पन्न भएपछि तीन सय १५ मिटरको तिब्बतकै अग्लो र विश्वको दोस्रो अग्लो बाँध हुनेछ ।
“तिब्बतको दक्षिण–पूर्वको त्यो क्षेत्र जहाँ जटिल भूगोल र कमजोर सतह छन् । त्यहाँ विगतमा केही भएन भन्दैमा भविष्यमा पनि केही हुँदैन भनेर ढुक्क हुने अवस्था छैन,” खाम क्षेत्र र तिब्बती पठारमा सन् २००९ देखि भूकम्पको अनुगमन गरिरहेका भूगर्भशास्त्री एड्रियन मुनले भने ।
मुनका अनुसार सन् २०११ का दुवै क्राइस्ट चर्च र जापानको तोहोकु भूकम्प (यी दुई क्रमशः ६ र ९ म्याग्निच्युटका थिए) प्रभाव नपार्ने गरीे सहर बनाउने तरिका र आशा गरिएभन्दा बढी खतरनाक थिए । त्यस कारण तिब्बतको पनि त्यही किसिमको समस्या भविष्यमा नपर्ला भन्न सकिँदैन । चीनको नीतिनियममा भौगर्भिक क्रियाकलापलाई हेरेर बाँध बनाउनु पर्ने उल्लेख छ, “तर न्युजिल्याण्ड र जापानको उदाहरणले अनुमान गरिएको जोखिमलाई अनुमान नगरिएको जोखिमले खर्लप्पै निल्नेछ भन्ने प्रष्ट हुन्छ ।”
चीनमा बाँध बनाउने कुरा त्यसले आन्तरिकरूपमा सामाजिक प्रभाव र तल्लोतटका छिमेकी राष्ट्रमा पार्ने पर्यावरणीय प्रभावका कारण विविदित विषय बन्दै आएको छ । सन् २०११ मा ठूला बाँधले मत्स्यपालनमा पारेको नकारात्मक प्रभावका बारेमा र भिओन्हाई बाँधका कारण माथिल्लो याङत्से नदीका दुर्लभ माछा नास भएकाले सरकारले आफ्नै वातावरण संरक्षण नियम उलंघन गरेको भन्दै चिनियाँ भूगर्भशास्त्री फान झिओले सरकारलाई खुला पत्र लेखेका थिए । केही वैज्ञानिकले विगतका भूकम्प पनि बाँधकै कारण आएको भन्ने आरोप लगाएका छन् । यसमा सबैभन्दा विभत्सकारी जिङपिङपु बाँधका कारण सन् २००८ मा वेन्चुन प्रान्तमा आएको भूकम्प थियो ।
नियमित र निकै खतरानाक भौगर्भिक क्रियाकलापका साथै तिब्बती पठारमा निर्माण भएका बाँध फुटेमा बाँधभन्दा तल्लो सतहको जमिन डुब्ने भयावह स्थिति आउन सक्छ । मेकोङ र सालविन नदी कमजोर सतहबाट बग्ने भएकाले यो चिन्तालाई थप बल मिलेको छ । त्यस क्षेत्रमा बाँध बनाउने काम बढिरहेकाले भौगर्भिक जोखिमका बारेमा निष्पक्ष लेखाजोखा तत्काल आवश्यक भएको छ । यद्यपि, बाँध निर्माणका बारेमा आमनागरिकलाई निकै कम सूचना दिइने गरेको छ ।
चीनको उर्जा आपूर्तिलाई सुनिश्चित गर्न दीर्घकालमा आउन सक्ने भौगर्भिक जोखिमलाई नजरअन्दाज गरिएको छ । चीनले २० प्रतिशत नवीकरणीय उर्जासहित सन् २०३० मा उर्जा आपूर्ति दोब्बर गर्ने लक्ष्य लिएको छ । वास्तवमा ठूला बाँध भत्केमा त्यसको परिणाम भोग्नुपर्ने चीनको दक्षिण–पश्चिमका बासिन्दाले आफ्नो भनाई जोडदाररूपमा राख्नु पर्नेछ ।