जलवायु

सन् २०६० सम्ममा कराची डुव्ने खतरा

सिन्ध नदीको माथिल्लो भागमा बनाइएको बाँधका कारण हिमालय हुँदै डेल्टासम्म आउने माटो तथा गेग्र्यानमा ठूलो मात्रामा कमि आउनेछ। यसले गर्दा डेल्टा क्षेत्रमा समुन्द्रिक पानीको प्रवेश हुनुका साथै डेल्टा कटानमा तिव्रता आउनेछ
नेपाली

सिन्धु नदीको मुख क्षेत्र (डेल्टा) तथा पाकिस्तानको तटीय क्षेत्र वरिपरि बढ्दो समुन्द्री सतहका कारण सिन्ध प्रदेशका तीन मुख्य सहरहरु पाँच दशकभन्दा पनि कम समयमै डुब्नसक्ने खतरा रहेको पकिस्तानको राष्ट्रिय सामुन्द्रिक अध्ययन संस्थानका प्रमुखले बताएका छन्।

सिन्धु नदीको मुख क्षेत्र र तटीय क्षेत्रमा भइरहेको कटान कायम रहने हो भने पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने देशको आर्थिक राजधानी कराँचीलगायतका तटीय सहरहरु सन् २०६० सम्ममा जलमग्न हुन सक्नेछन्। यो स्पष्ट चेतावनी पाकिस्तानी राष्ट्रिय सामुन्द्रिक अध्ययन संस्थानका प्रमुख डा. असिफ इनामले सांसदहरुलाई गत महिना दिएका थिए।

इनामले विज्ञान तथा प्रविधि संसदीय समितिमा ब्रिफिङको क्रममा थत्ता तथा बदिन शहरहरु सन् २०५० सम्ममा डुब्नुका साथै २ करोड मानिसको बसोबास भएको कराँची २०६० सम्ममा डुब्नसक्ने खतरा भएको बताए। विशेषज्ञहरु यस प्रलयकारी परिदृश्‍यको मुख्य कारण जलवायु तथा विश्वब्यापी तापक्रममा आएको परिर्वतनका साथै तटीय क्षेत्रमा भएको योजनाविहीन विकास भएको बताउँछन्।

‘बढ्दो सामुन्द्रिक सतहका कारणले सिन्ध प्रान्तका तीन शहरहरु कराँची, बदीन र थत्ता खतरामा परेका छन्। यसको रोकथामको लागि अविलम्ब कदम चाल्न जरुरी छ,’ इनामले थर्डपोल डट नेटलाई भने।

खतराको आँकलन गर्न र त्यसैअनुरुप आवश्यक कदम चाल्नका लागि सामुन्द्रिक कटानको पछिल्लो विवरण पकिस्तानको अन्तरिक्ष तथा वातावरणसम्बन्धी आयोगको सहयोगमा तयार गरिने जनकारी दिँदै उनले भने, ‘संसारका अरु डेल्टाजस्तै, सिन्धु नदीको डेल्टा पनि सामुन्द्रिक कटानमा परेको छ।’

‘बढ्दो सामुन्द्रिक सतहले बदिन र थत्ता सहरका धेरै भूभाग जलमग्न भइसकेका छन्,’ उनले थपे। तर उनले यस प्रलयकारी परिदृश्यको दाबीको पछाडि रहेको वैज्ञानिक तथ्यहरु भने उपलब्ध गराउन अस्विकार गरे।

संसदीय समितिमा बोल्दै उनले कराँचीको मलिर क्षेत्रको धेरैजस्तो भू-भाग समुन्द्रिक पानीका कारण प्रभावित भइसकेको र यसको समाधानका लागि उपयुक्त कदम नचाले पूरै सहर असुरक्षित बन्ने बताए।

यसैगरी इनामले वलोचिस्तान प्रान्तको चीनले अन्तर्राष्ट्रिय बन्दरगाह सञ्चालनमा ल्याउने भनिएको सहर ग्वदारलगायतका तटीय सहरमा बढ्दो सामुन्द्रिक सतहको कारणले सुनामीको खतरा बढेको चेतावनी दिएका छन्। संसदीय समितिमा बोल्दै वलोचिस्तान प्रादेशिक सरकारका एक अधिकारीले पनि गत ३५ वर्षमा २ किलोमिटर भन्दा बढी तटीय भू-भाग डुबानमा परेको जानकारी गराए।

प्रकृति संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइयुसीएन), जलवायु परिवर्तन मन्त्रालय र संयुक्त राष्ट्रसंघ आपत्कालीन बल (युएनइएफ)ले संयुक्तरुपमा तयार पारेको तटीय कटानसम्बन्धी राष्ट्रिय प्रतिवेदनअनुसार सिन्ध र वलोचिस्तान प्रदेशको विकास योजनामा भएको लापरबाहीले तटीय जमिनको कटानमा तिव्रता ल्याउनुका साथै यस क्षेत्रमा सामुन्द्रिक आँधी तथा अरेवियन सागरमा उत्पन्न हुने चक्रवातबाट हुनसक्ने सम्भावित खतरालाई अझ बढाएको छ। ‘पकिस्तानको तटीय क्षेत्रको सामुन्द्रिक सतह यही गतिमा बढ्ने हो भने अब आउने ५० वर्षभित्र त्यहाँको सामुन्द्रिक सतह अहिलेको तुलनामा ५० मिलिमिटर (५सेमी) बढ्ने छ,’ प्रतिवेदनमा भनिएको छ।

सिन्धु नदीको ड्यामले डेल्टा कटानमा तिव्रता

हिमालय क्षेत्रबाट कटान गरी ल्याएको माटो तथा गेग्र्यानन जम्मा गर्दै सिन्धु नदीले तल्लो क्षेत्रमा संसारको ठूलामध्येको एक डेल्टा बनाएको छ। तर सिन्धु नदीमा बनाएको बाँधले हिमालयन क्षेत्रबाट कटान भइ आउने माटो तथा गेग्र्यानको परिमाणमा कमि हुनुका साथै तल्लो क्षेत्रमा आइपुग्ने पानीमा समेत ठूलो कमि आउने छ।

‘सिन्धु नदीमा सुरु गरिएको निर्माणसम्बन्धी गतिविधिले डेल्टाको आकार खुम्चिँदै गइरहेको छ। नदीको माथिल्लो क्षेत्रमा बाँध निर्माणले गर्दा नदीमा पानीको परिमाणमा कमि भएको छ। तिव्र बहाबका कारण कटानमा थप तिव्रता आउने र यसको परिणामस्वरुप चक्रवात र आँधीको समयमा तटीय क्षेत्रहरु थप डुबानमा पर्नेछन्,’ प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार केही स्थानीय समुदाय सामुन्द्रिक कटानका कारण तटीय क्षेत्रबाट विस्थापित पनि भइसकेका छन्।

अध्ययनले पाकिस्तानी तटीय क्षेत्रको अनुपम भौगोलिक बनावटको उल्लेख गर्दै यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक विपत्ति साथै मथिल्लो क्षेत्रमा भएको अनावृष्टिको कारणले डेल्टामा हुने डुबान तथा बढ्दो सामुन्द्रिक सतहजस्ता जलवायुसम्बन्धी तत्व र मौसम परिवर्तनजस्ता समस्याको खतरा बढेको बताइएको छ।

डर लाग्दो परिस्थितिलाई मध्यनजर गर्दै, संसदीय समितिले यसलाई महत्वपूर्ण सार्वजनिक विषयमा निणर्य लिनका लागि बनाइएको पाकिस्तानका चारै प्रदेशका मुख्य मन्त्रीहरु सम्मिलित उच्च स्तरीय सरकारी अंग काउन्सिल अफ कमनमा अविलम्व पेस गरी अपनाउनुपर्ने सावधानी तथा समस्या समाधानका लागि आवश्यक उपायबारे छलफल गर्न सुझाव दिएको छ।

संसदीय समितिले देशको नीति निर्माणको जिम्मा पाएको योजना आयोगलाई तटीय क्षेत्रमा देखिएका समस्या समाधान तथा रोकथाम गर्न सरकारी कार्यक्रम ‘भिजन २०२५’ अन्तर्गत विभिन्न परियोजना सञ्चालन गर्न पनि सुझाव दिएको छ।

सिन्ध विश्वविध्यालयको भू-विज्ञान विभागमा कार्यरत प्राध्यापक सर्फराज हुसेन सोलाङ्गीले चिन्ता ब्यक्त गर्दै भने- ‘सामुन्द्रिक सतह बढ्नुको मुख्य कारण जलवायु परिर्वतन तथा विश्वब्यापी उष्णता हो। जसले गर्दा वलोचिस्तान र सिन्ध प्रदेशलगायत पाकिस्तानको तटीय क्षेत्रहरु खतरामा परेका छन्।’

कराँची, वदीन तथा थत्ता सहरहरु डुब्ने खतरा रहेको भन्दै राष्ट्रिय सामुन्द्रिक अध्ययन संस्थानका प्रमुख डा. इमानले गरेको दाबीमा सहमत हुँदै सोलाङ्गीले भने- ‘सिन्ध नदीको माथिल्लो भागमा बनाइएको बाँधका कारण हिमालय हुँदै डेल्टासम्म आउने माटो तथा गेग्र्यानमा ठूलो मात्रामा कमि आउनेछ। यसले गर्दा डेल्टा क्षेत्रमा समुन्द्रिक पानीको प्रवेश हुनुका साथै डेल्टा कटानमा तिव्रता आउनेछ।’

माछा मारेर जीवन यापन गर्ने समुदायहरुको आर्थिक तथा राजनीतिक अधिकारका क्षेत्रमा काम गर्ने स्थानीय गैरसरकारी संस्था पाकिस्तान फिसरफोक फोरमका प्रमुख सैयद मुहमद अली शाहले सामुन्द्रिक अध्ययन संस्थानका प्रमुख डा. इमानले गरको खुलासालाई चेतावनीको रुपमा लिनुपर्ने भन्दै सन् १९५६ यता सिन्ध प्रदेशको करिब ३५ लाख एकड उब्जाउ जमिन सामुन्द्रिक कटानमा परेको बताए।

सिन्ध डेल्टाको बचाउका लागि अविलम्ब आवश्यक उपाय अपनाउनुपर्ने भन्दै शाहले संकटको मुख्य कारण नदीको माथिल्लो क्षेत्रमा बनाइएको बाँध र ब्यारेजले गर्दा डेल्टासम्म आइपुग्ने पानीको बहाबमा रोकावट हुनु रहेको बताए। अध्ययन प्रतिवेदन उद्धृत गर्दै शाहले भने, ‘सामुन्द्रिक अतिक्रमणका कारण थत्ता र बदिन जिल्लामा २२ लाख एकडभन्दा बढी कृषियोग्य जमिन डुबानमा परेको छ।

सदाबहार वन तिव्ररुपले बिनास भइरहेकाले सम्पूर्ण क्षेत्र आँधी र डुबान समस्याको थप खतरामा परेको छ। सिन्धमुख द्धीप (डेल्टा)मा अवस्थित वन, कृषियोग्य भूमिलगायत सम्पूर्ण पारिस्थितिक प्रणाली नै बिनास भइरहेको पाइएको छ। ‘सिन्ध नदीको डेल्टामा उपलब्ध पानीमा निर्भर रहेका हजारौं मानिस यस क्षेत्रबाट विस्थापित भइसकेका छन्,’ शाहले थपे।

परिस्थितिलाई भिन्नरुपमा प्रस्तुत गर्दै सिन्ध प्रदेशमा सरकारमा रहेको पाकिस्तान पिपल्स पार्टीका सांसद तथा पर्यावरणीय कार्यकर्ता ताज हैदरले भने- ‘बदिन र थत्तामात्र समुन्द्रिक कटानको खतरामा परेका हुन्, कराँचीमा चाहिँ यस्तो अवस्था छैन। उनले भनेअनुसार कराँची सहर सिन्ध डेल्टा क्षेत्रभित्र पर्दैन।

थत्ता सहरमामात्र २४ लाख एकड जमिन सामुन्द्रिक कटानको चपेटामा परेको तथ्य उजागर गर्दै उनले थपे- ‘पाकिस्तान पिपल्स पार्टीको प्रादेशिक सरकारले थत्ता तथा बदिन सहरलाई कटानबाट संरक्षण गर्न तटीय क्षेत्रमा २ सय २५ किलोमिटर लामो पर्खाल बनाउँदै छ।’ कटानलाई रोक्न उनको सरकारले गर्ने भनेको अर्को उपायचाहिँ तटीय क्षेत्रको किनारैकिनार २ सय २० किलोमिटर लामो चार लेनको सडक बनाउनु रहेको छ।