पानी विचार: ब्रह्मपुत्रको बहाव मोड्ने योजना यथार्थ भन्दा निकै पर छ एउटा ठूलो नदीको बहावलाई मोडेर तिब्बतबाट सिन्जियाङ पुर्याउने योजना विज्ञानमा भन्दा भ्रममा आधारित छ नेपाली नेपाली 中文 English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। A bridge over the Yarlung Zangbo/Yarlung Tsangpo river west of Lhasa. The river later flows into India where it is known as the Brahmaputra [image by Eric/Flickr] Fan Xiao ज्यानवरी 23, 2018April 10, 2022 एउटा ठूलो नदीको बहावलाई मोडेर तिब्बतबाट सिन्जियाङ पुर्याउने योजना विज्ञानमा भन्दा भ्रममा आधारित छ, फान सिआओ भन्छन्।गत वर्षको कुरा हो, एसियाकै ठूलो मध्येको ब्रह्मपुत्र नदीको बहाव परिवर्तन गरेर तिब्बतबाट सिन्जियाङ राज्य तर्फ मोड्ने प्रस्ताव इन्टरनेटमा सार्वजनिक भएको थियो र त्यसले निकै चर्चा पाएको थियो । चीनका अधिकारीहरूको मानसपटलमा बेलाबखतमा यस्तै खालका बहुलठी विचारहरू आइरहन्छन् । कहिले उनीहरू हिमालयमा प्वाल पारेर हिन्द महासागरबाट न्यानो हावा चीन तर्फ ल्याउने कुरा गर्छन् त कहिले उत्तर पूर्वी चीनमा रहेको पीत सागरको (Yellow Sea) खाडीमा रहेको बोहाई सागरबाट पानी देशको उत्तर पश्चिमा रहेको सिन्जियाङ राज्यसम्म पुर्याउँछौँ भन्छन् । उनीहरूका विशाल परियोजनाहरूको प्रमुख समस्या के हो भने उनीहरू यस्ता ठूला निर्माणका कारण आइ पर्ने सामाजिक र पर्यावरणीय परिणामका बारेमा सोच्नै चाहँदैनन् । पानीको सतह बढाउँदा के के डुब्ला ? मानिसहरूलाई एक ठाउँबाट अर्कोमा सार्नुको परिणाम के होला ? स्थानीय संस्कृतिमा कस्तो असर पर्ला ? सायद ठूला आयोजनाका कुरा गर्नेहरू मानवरहित नक्साहरूलाई हेरेर काम गर्छन् । उनीहरू छिनमै एक ठाउँमा रहेको पहाडी शृङ्खलालाई मेटिदिन्छन् अनि अर्को ठाउँमा गएर नदी कोरिदिन्छन् । यो सबै जानेपछि लाग्छ उनीहरूका कुनै पनि प्रस्ताव विचारणीय नै छैनन् । तर पर्यावरणका मुद्दाहरूका बारे सचेतना र विज्ञानका बारे सामान्य जानकारी पनि नभएका समुदायहरूमा यस्ता परियोजनाहरूले मानिसको ध्यान आकर्षित मात्रै गर्दैनन्, वाह वाही पनि कमाउँछन् । त्यसैले यस्ता आयोजनाहरू बनाउने सोचको प्रतिवाद गर्नु जरुरी हुन गएको छ । पानीको बहाव मोड्ने सोच तिब्बतको पानी सिन्जियाङसम्म पुर्याउने योजना को सूत्रपात चीनको दक्षिणका नदी उत्तर फर्काउने योजना अन्तरगतको पश्चिमी रुटको काम हुँदै गर्दा भएको थियो । योजनाका तीन प्रस्तावित रुट थिए : पूर्वी, मध्य र पश्चिमी । पूर्वी र मध्य रुटका काम समापन भइसकेका छन् भने पश्चिमी रुटको सम्भाव्यता अध्ययन अझै जारी छ । चीनको अहिलेको ध्येय भन्नु नै याङ्जी नदीको पानीको बहाव परिवर्तन गरेर पीत नदी (येल्लो रिभर)मा पानी मिसाउनु हो । तर यो काम सजिलो भने छैन । याङ्जी नदीको पिँद पीत नदीको भन्दा ८०-५०० मिटर होचो भएकाले याङ्जीबाट पीत नदीमा पानी पठाउन याङ्जीको सतह बढाउनु जरुरी छ । त्यसका लागि लागि तोङतिया, जिन्सा, यालोङ र दादू नदी र तिनका सहायक नदीहरूमा तटबन्ध निर्माण गर्नु पर्ने छ । यी तटबन्धहरू मध्येका अधिकांश संरचनाहरूको उचाई १५० मिटर भन्दा माथिको हुनु पर्ने छ । सबै भन्दा उच्च बाँध त २९२ मिटरसम्म अग्लो हुनेछ । त्यसै गरी विभिन्न जलाधारहरूलाई छेडेर सुरुङहरूको सञ्जालको निर्माण गर्नु पर्नेछ । सबै भन्दा लामो सुरुङको लम्बाइ १६४ कि मि हुनेछ । यो योजनाको सम्भाव्यतालाई लिएर विज्ञहरूका साथै चिनियाँ जनतामा पनि सन्देह छ । योजना कार्यान्वयन गर्नका लागि ३,०००-४,००० मिटरको चिसोमा निर्माण कार्य गर्नु पर्नेछ । भौगर्भिक रुपमा पनि जोखिममा रहेको यो क्षेत्रमा यातायातको पनि सुविधा छैन । प्राकृतिक विपतको जोखिम झेलिरहेको यो क्षेत्रमा जातीय र धार्मिक अल्पसंख्यकहरू बस्दछन् । यो परियोजनाको निर्माण लागत मात्रै नभएर यसको मर्मत सँभार गर्न लाग्ने खर्च पनि निकै ठूलो हुनेछ । यति हुँदा पनि आयोजना अघि बढाइन्छ भने चीनले ठूलो पर्यावरणीय र सामाजिक मूल्य पनि चुकाउनु पर्नेछ । त्यस्तै प्राकृतिक रुपमा बहने पानीको मात्रा आयोजनालाई चाहिने भन्दा कम हुनेछ । यदि कसै गरी पानीको बहाव मोड्न सकिए पनि चीनको सुख्खाग्रस्त उत्तर-पश्चिममा माग भए बमोजिम पानी उपलब्ध गराउन सकिने छैन । याङ्जीको तल्लो तटको पारिस्थितिक प्रणालीमा पनि पानीको बहावमा हुने परिवर्तनले नकारात्मक असर पार्नेछ । केही क्षणका लागि यी सबै पर्यावरणीय र सामाजिक मूल्यलाई नजरअन्दाज गर्ने हो भने पनि भौतिक संरचना निर्माण र त्यसको मर्मत संभार गर्न लाग्ने खर्चले नै योजनालाई असम्भाव्य तुल्याउने छ । तर यो भन्दा पनि ठूलो अर्को एउटा योजनाले अहिले धेरैको ध्यान आकर्षित गरेको छ । यो योजनाको चर्चा सन् १९५० देखि नै हुन थालेको जब चिनियाँ अधिकारीहरूले ब्रह्मपुत्र, नू, लाकाङ(मेकंग) र माथिल्लो याङ्जी नदीहरूबाट पानी ओसारेर देशको उत्तर-पश्चिममा पुर्याउने अवधारणामाथि विचार गरेका थिए । सन् ५० को दशकमा ठूला आयोजनाहरूको सामाजिक र वातावरणीय प्रभावका बारेमा होस् वा पानीको प्रयोगले दिगो विकासमा पार्ने प्रभावका बारेमा कसैलाई केही चासो थिएन । तर यो शताब्दीको सुरूवातमा जलश्रोत मन्त्रालय अन्तरगतको पीत नदी संरक्षण आयोगले तयार पारेको कार्य योजनामा भने याङ्जीलाई मात्र सम्भावित स्रोतको रूपमा हेरिएको थियो । आयोगको बुझाइमा याङ्जी बाहेकका अरू नदीहरूबाट पानी सङ्कलन गर्ने सकिने संभावना न्यून थियो । सुओतिआन कनाल आयोगले तयार पारेको कार्य योजना विज्ञहरूको एक समूहलाई देखाइएको थियो र सरकारले धेरै नगरे पनि पानीका क्षेत्रमा काम गरेकाहरू माझ छलफल चलाएको थियो । सन् २००६ तिर चर्चित भएको ‘सुओतिआन कनाल’ को प्रस्ताव झन् बढी महत्त्वाकाङ्क्षी थियो ।गुओ काईले नेतृत्व गरेको टोलीले तयार पारेका प्रस्तावमा तिब्बतको पानी चीनका अरू भागहरूमा पुर्याउने कुरा उल्लेख गरिएको थियो । लाकाङ, नू र ब्रह्मपुत्रको पानी तटबन्ध र सुरुङहरूको सञ्जाल बनाई पीत नदीमा झार्ने परिकल्पना गरिएको थियो प्रस्तावमा । चीनको बहुचर्चित थ्री गोर्जेज तटबन्धमा काम गरिसकेका पूर्व जलश्रोत मन्त्री वाङ सुचेङ र पानी विज्ञहरू पान जियाझेङ र चियान झेङ्यिङ ले आयोजनाको खुला रुपमा विरोध गरेका छन् । पान भन्छन् : “पहिले पहिले हामीले प्रकृतिलाई आफ्नो वशमा राख्ने र उनको पुनर्संरचना गर्ने अडान राख्यौँ तर यसो गर्नाले हामीले धेरै नोक्सानी भोगेका छौँ र थुप्रै ऋण बोक्न पुगेका छौँ । हामीले अब के बुझ्नुपर्छ भने हामीले सधैं प्रकृतिबाट लिने काम मात्रै गरिरहन सक्दैनौँ । हामीले अब प्रकृतिसँग बाँच्न सिक्नै पर्छ । तिब्बतबाट सिन्जियाङसम्म पानी पुर्याउने र हिमालयमा प्वाल पारेर हिन्द महासागरबाट न्यानो हावा भित्र्याउने योजनाहरू खालि उपन्यासहरूमा सीमित रहेमा राम्रो हुनेछ । यी योजनाहरू अतिरञ्जित कल्पनाका उपजहरू मात्र हुन् ।“ सन् २०१७ को पुन: उत्थान सुओतिआन कनालको हालै अद्यावधिक गरिएको योजना झन् चकित गर्ने खालको छ । योजनाका अनुसार एउटा ७५० किमी लामो सुरुङ बनाइने छ जसले चिङ्घाई क्षेत्रलाई तिब्बतको पठारसँग जोड्नेछ र विभिन्न सहायक सुरुङहरूको सहयोगमा यार्लुङ साङ्पो, नू र तोङतियान नदीहरूबाट पानी सङ्कलन गरिनेछ ।आयोजनाको रिपोर्टले पानी चिङ्घाईको गोल्मुडसम्म प्राकृतिक रुपमै बहने दाबि गरेको छ । तर प्रस्तावित सुरुङको सुरुवात २,००० मि भन्दा कमको उचाइबाट हुनेछ । गोल्मुड भने २,७०० मि को उचाइमा छ । त्यसैले दाबि गरिए अनुसार कसरी पानी होचोबाट अग्लोतिर बहनेछ भन्ने कुरा स्पष्ट छैन । दक्षिण-पश्चिम तिब्बतमा रहेका उपत्यकाहरूमा भूकम्प र पहिरोको उच्च जोखिम छ । प्रस्तावित सुरुङ द ग्रेट रभर बेन्ड भएर जानेछ । यो क्षेत्रमा ठूला भुकम्पका धक्काहरू महसुस गर्ने गरिएको छ । त्यसै गरी बेलाबखतमा पहिरोका कारण नदीको बहाव रोकिने गरेको छ र आसपासका क्षेत्रमा बाढी पनि आउने गरेको छ । यस क्षेत्रमा निर्माण गरिने ठूला आयोजनाहरूका कारण चुकाउनु पर्ने पर्यावरणीय र आर्थिक मूल्यको त कल्पनासम्म पनि गर्न गाह्रो छ । नदीहरूलाई आफ्नो पारिस्थितिक प्रणाली सञ्चालन गर्नका लागि एउटा निश्चित परिमाणमा पानी चाहिन्छ । त्यसै गरी निश्चित परिमाणमा पानी स्थानीय समुदायको दिगो विकासका लागि पनि चाहिन्छ । साधारणतया नदीको प्राकृतिक बहावको ३०-४० प्रतिशत भन्दा बढी पानीको बहाव परिवर्तन गरिँदैन । तर सुओतिआन कनाल बन्यो भने ८३.३ देखि ९१.५% पानी सुरुङ मार्फत अन्यत्र जानेछ । हालै अद्यावधिक गरिएको योजनामा त ‘अधिकांश’ देखि ‘सबै’ पानी स्रोतबाटै लैजाने लेखिएको छ । योजनामा समेटिएका सबै नदी अन्तराष्ट्रिय सीमा भएर बग्दछन् । सन् १९७२ मा वातावरणीय अधिकारसम्बन्धी राष्ट्रसंघिय सम्मेलनको घोषणाले भनेको छ: संयुक्त राष्ट्र को बडापत्र र अन्तर्राष्ट्रिय कानुन का सिद्धान्तका अनुसार राज्यहरूलाई आफ्नो स्रोतको उपयोग आफ्नै पर्यावरण नीति अनुरूप प्रयोग गर्ने अधिकार छ । तर आफ्नो क्षेत्राधिकार भित्र गरिने गतिविधिले अरू राज्यको अथवा आफ्नो क्षेत्राधिकार नभएको क्षेत्रको वातावरणमा दुष्प्रभाव पर्न नदिनु राज्यको दायित्व हुन जान्छ । सन् ११९२ मा गरिएको वातावरण र विकाससम्बन्धी घोषणाले समेत यो सिद्धान्तमा जोड दिएको छ । विकास मात्रै नभएर संयुक्त विकासको अवधारणा यो घोषणामा अघि सारिएको छ । तर चीनको यो योजनाका निर्माताहरूले यी सबै अन्तराष्ट्रिय मान्यताहरूको अपमान गरेका छन् । दुवै योजनाले अन्तराष्ट्रिय मान्यता नमान्न उत्तरी चीनमा सुक्खा लागेको तर्क प्रस्तुत गर्ने गरेका छन् । तर यो तर्क त्रुटिपूर्ण छ ।उत्तरी चीनका केही भाग आंशिक रूपमा भए पनि आर्द्रता छ, र सुक्खा क्षेत्रमा समेत हेक्सी करिडोर र सिन्जियाङ जस्ता मलिला क्षेत्रहरू छन् जहाँ हिमनदीको पानी बहने गरेका छन् । धेरै जसो सन्दर्भमा पानीको अभाव हुनुको मुख्य कारण वातावरणमा पुगेको क्षति र अनुचित मानव गतिविधि हुन् । हामीले के पनि भुल्नुहुँदैन भने उपलब्ध स्रोतकै आधारमा पारिस्थितिक प्रणालीहरू विकसित हुन्छन् ; आपूर्ति अनुसारको माग सिर्जना हुने न हो । पानीको माग पूर्ति गर्न आपूर्ति बढाउनु ठूलो गल्ती हो । हामीले एउटा ठाउँबाट चोरेर अर्को ठाउँमा भएको कमिको पूर्ति गर्नु हुँदैन । हामीले प्राकृतिक स्रोतको पनि पुन: बाँडफाँड गर्नुहुँदैन । हामी आफ्नो उद्देश्य प्राप्त गर्न असफल त हुने नै छौँ, ठूलो मूल्य पनि चुकाउने छौँ । चीनका मरुभूमिहरूलाई कृषियोग्य जमिनमा बदलिने दाबि यी आयोजनाहरूको छ । तर विज्ञान र प्रकृतिबारेको यो लेखको बुझाइले के भन्छ भने यस्ता योजनका प्रबर्धकरूले तथ्यको सट्टा कल्पना र विज्ञानको सट्टा भ्रमको प्रयोग गरिरहेका छन् । हामीले आफूलाई सोध्नु पर्छ: किन यति धेरै मानिसहरू अझै यी योजनाहरू सम्भव छन् भन्ने ठानिरहेका छन् ? फान सिआफ सिचुवान भौगर्भिक उत्खनन ब्यूरोका वरिष्ठ इञ्जिनियर हुन् । यो लेख www.chinadiaologue.net बाट साभार गरिएको हो । थप पढ्नुहोस् आलेख सीडीबी चीनको विकास सहायतामा ‘विकास’ कहाँ छ ? आलेख वार्ता जलवायु सम्मेलन ; जोखिममा रहेका समुदायका लागि वित्तीय सहयोग अझै ‘आकाशको फल’ आलेख विपद् पृथ्वी 'टिपिङ पोइन्ट' तर्फ उन्मुख रहेको वैज्ञानिकहरूको चेतावनी आलेख बेल्ट एण्ड रोड 'बेल्ट एण्ड रोड' लाई वातावरण मैत्र बनाउन सकिन्छ आलेख जलवायु प्रभाव जलवायु परिवर्तनले गरेको क्षतिको पूर्ती कसले गर्ने र क्षतिपूर्ती कसलाई दिने ? आलेख संकटापन्न प्रजाती हिउँ चितुवालाई यसरी बचाइँदै छ आलेख बेल्ट एण्ड रोड नेपालको रेशममार्ग रेल सपना आलेख जलवायु प्रभाव नयाँ अध्ययनको निष्कर्षः हिमनदी क्षय पहिले अनुमान गरेभन्दा कम शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय