पानी

जोखिमका बाबजुद नदी डाइभर्सन योजनामा अघि बढ्दै नेपाल

जलवायु परिवर्तनका कारण आएको विनाशकारी बाढीले सन् २०२१ मा मेलम्ची खानेपानी आयोजना ध्वस्त बनायो । पुनर्निर्माण जारी छ, तर सामुदायिक सुरक्षाका विधिहरू लागु गरिएका छैनन् ।
नेपाली
<p class="p1"><span style="font-weight: 400;">सन् २०२१ मा सिन्धुपाल्चोकका घरहरू डुबानमा पारेर समुदायमा व्यापक क्षति पुर्याएको मेलम्ची नदीको बाढी हेर्दै स्थानीय व्यक्तिहरू (तस्बिरः सरोज बैजु/नुरफोटो)</span></p>

सन् २०२१ मा सिन्धुपाल्चोकका घरहरू डुबानमा पारेर समुदायमा व्यापक क्षति पुर्याएको मेलम्ची नदीको बाढी हेर्दै स्थानीय व्यक्तिहरू (तस्बिरः सरोज बैजु/नुरफोटो)

विनाशकारी बाढीले मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग प्रवेशविन्दु नजिकै क्षति पुर्याएको तीन वर्षपछि अहिले राजधानी काठमाडौंबाट ६० किलोमिटर उत्तरपूर्वमा पुनःनिर्माणको काम भइरहेको छ । विपद्का बाबजुद मेलम्ची नदीको पूर्वमा पर्ने याङ्ग्री र लार्के नदीको पानीलाई काठमाडौं शहरमा ल्याएर अति आवश्यक खानेपानी आपूर्ति गर्ने योजना अघि बढेको छ ।

सन् १९९७ मा प्रस्ताव गरिएको आयोजनाले मेलम्चीबाट दैनिक १७ करोड लिटर (एमएलडी) पानी २६.५ किलोमिटर सुरुङमार्फत प्रवाह गर्ने लक्ष्य राखेको थियो । ‘अपर्याप्त खानेपानी आपूर्ति, पानीको बढ्दो माग र उपलब्ध जलस्रोतको कमजोर व्यवस्थापन’ जस्ता चुनौतीलाई सम्बोधन गर्न मेलम्ची खानेपानी विकास समितिको स्थापना भएको थियो । सन्  १९५० को दशकमा करिब एक लाख ५० हजारको हाराहारीमा रहेको काठमाडौंको जनसंख्या सन् १९९१ सम्ममा पाँच लाखभन्दा बढी पुगेको थियो । यसले गर्दा महानगर क्षेत्रको पानीको स्रोतमा अत्यधिक दबाब परेको थियो।

पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले सन् १९७३ को अध्ययन प्रतिवेदनले सुझाव दिएको ‘मेलम्चीको पानी डाइभर्सन’ काठमाडौं उपत्यकाका लागि खानेपानीका ३० स्रोतमध्ये एउटा मात्र भएको बताए । सो प्रतिवेदनमा सुझाइएका पानीका अन्य स्रोतहरू काठमाडौं उपत्यकाका स्थानीय नदीहरू बल्खु र कोड्कु, छिमेकी काभ्रे जिल्लाको रोशी नदी, र सुनकोशी र त्रिशूलीजस्ता हिमालबाट बग्ने नदीहरू पर्छन्।

‘तर नेपाली अधिकारीहरूले त्यस क्षेत्रमा जग्गा अधिग्रहण गर्न सजिलो हुने भन्दै मेलम्ची आयोजनालाई प्राथमिकता दिएका थिए,’ ज्ञवालीले भने।

असफलताको इतिहास

एसियाली विकास बैंक (एडीबी) ले सन् २००१ मा ऋण स्वीकृत गरी मेलम्ची खानेपानी आयोजना सन् २००६ मा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर यो आयोजनामा आर्थिक लगानी गरेका अन्य तीन लगानीकर्ता विश्व बैंक, नर्वेजियन विकास सहयोग नियोग र स्वीडेनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगले केही वर्षपछि हात झिकेका थिए । सन् २००८ मा एडीबी र नेपाल सरकारले परियोजनाको पुनर्संरचना गरेका थिए र पहिलो चरणको बजेट अमेरिकी डलर ३१ करोड ७३ लाख रहेको थियो।

अहिले, काठमाडौंको जनसंख्या २० लाख नाघेको छ । यो परियोजनाको लागत  पनि पहिलो पटक परिकल्पना गरिएभन्दा लगभग चार गुणाले बढेको छ ।

मेलम्ची खानेपानी विकास समितिको वेबसाइटका अनुसार सन् २०१० मा आयोजनाको निर्माण कार्य सुरु भएको थियो । तर ठेकेदारको कमजोर कार्यसम्पादनका कारण प्रगतिमा ढिलाइ भएको थियो । सन् २०१२ मा ठेक्का तोडिएको थियो र सन् २०१४ मा नयाँ ठेकेदार इटालियन कम्पनी कुपराटिभा मुराटोरी इ सिमेन्टिस्टी डि राभेना (सीएमसी) अन्तर्गत आयोजना पुनः सुरु भएको थियो । तर, विस २०७२ सालको भूकम्पले सीएमसीलाई थप काम गर्नुपर्ने गरि अवस्था जटिल बनायो । ठेकेदार र सरकारबीचको विवादले थप ढिलाइ निम्त्यायो । पछि मुद्दा नै पर्यो र एक न्यायिक अदालतबाट मुद्दाको फैसला भयो। भ्रष्टाचारको व्यापक आरोपले प्रगतिलाई थप रोक्यो । सरकारले अदालतले निर्धारण गरेको रकम तिर्न इन्कार गर्यो । यसले गर्दा सन् २०१८ मा सीएमसी फिर्ता गयो।

सन् २०१९ मा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले काम को जिम्मा लिएको थियो । कोभिड–१९ महामारीका कारण उत्पन्न अवरोधका बाबजुद मेलम्चीको पानी पहिलोपटक सन् २०२१ को मार्च महिनामा काठमाडौं आइपुगेको थियो । यो समयमा काठमाडौंको जनसंख्या २० लाख नाघेको थियो । यो जनसंख्या परियोजना पहिलो पटक परिकल्पना गरिएदेखि लगभग चार गुणा बढी हो । तर त्यसको ठीक दुई महिनापछि जलवायु परिवर्तनका कारण भएको चरम मौसमी गतिविधिका कारण आएको विनाशकारी बाढीले महत्वपूर्ण पूर्वाधारहरू ध्वस्त पारिदियो र नेरु २ अर्ब बराबरको क्षति भयो। प्रकृति स्रोत केन्द्रको अनुसन्धानले सन् २०२१ को मेलम्ची बाढीको कुल आर्थिक प्रभाव ५० करोड अमेरिकी डलरसम्म पर्न सक्ने देखाएको छ ।

भग्नावशेषहरूबाट पुन: निर्माण गर्दै

तीन वर्ष बितिसक्दा पनि मेलम्ची नदी क्षेत्रका अधिकांश भाग पहिरो र ठूला ठूला ढुङ्गाले पुरिएका छन् ।  मेलम्ची बजार नजिकैको माटो हटाउने प्रयास जारी रहे पनि अवस्था भने अन्योलमा परेको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले डायलग अर्थसँग कुरा गर्दै नयाँ हेडवर्क्स् अर्थात् परियोजनाको शीर भागको पूर्वाधार निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम सुरु भइसकेको बताए । यो नयाँ साइटले टिम्बपूर्वको एक स्थानलाई प्रतिस्थापन गर्नेछ, जहाँ २०२१ मा पूरा भएका संरचनाहरू पछि नष्ट भएका थिए।

हाल याङ्ग्री नदीसम्म पुग्ने पहुँच सडकमार्ग निर्माणाधीन छ । यो स्थानमा भविष्यमा पानी ल्याउने सुरुङसँग पश्चिमको मेलम्ची र पूर्वको लार्केलाई जोडिनेछ । यसबाट काठमाडौं ल्याइने पानीको आयातन ५२ करोड लिटर प्रतिदिन पुग्नेछ । तर, स्थानीय बासिन्दा भने चिन्तित छन् ।

‘काठमाडौंका अधिकारीहरू याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउन चाहन्छन्, तर यस क्षेत्रका जनता उचित क्षतिपूर्ति र सुरक्षा चाहन्छन्।’ याङ्ग्री र लार्के दुवै नदीलाई समेटेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले भनिन् । ‘बाढी पहिरो बारम्बार र जोखिमपूर्ण बन्दै गएको छ ।’ सन् २०२१ मा आएको बाढीले  मेलम्ची उपत्यकामा व्यापक क्षति गराएको थियो ।  ६३ वटा घर भत्काएको थियो । करिब १७ हेक्टर जमिन बगाएको थियो । बालीनाली नष्ट गरेको थियो र पशुचौपाया समेत मरेका थिए ।

वैकल्पिक योजना र नयाँ योजना

उपत्यकाको दक्षिणी र पूर्वी सिमानामा रहेका वैकल्पिक पानीका मुहानहरू जस्तै मकवानपुरको सिस्नेरी, ललितपुरको ठोस्ने र भक्तपुरको महादेव खोला जस्ता साना नदीहरूको सदुपयोग गर्ने प्रयास जारी रहे पनि नेपाल सरकार र एसियाली विकास बैंक मेलम्ची आयोजनामा केन्द्रित छन्। आयोजना सञ्चालन गर्ने मेलम्ची खानेपानी विकास समितिका पूर्वकार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार यो आयोजनामा धेरै रकम र समय खर्च भइसकेकाले यस किसिमको लगाव देखिएको हो । उनले भने, ‘सरकारले सुरुङ, पानी प्रशोधन केन्द्र, पहुँच मार्ग र अन्य पूर्वाधार निर्माणमा यतिका वर्ष खर्च गरिसकेको छ । त्यसैले मेलम्ची आयोजना सबैभन्दा बाध्यकारी विकल्प बनेको छ ।’ 

मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवका २१ वटा पूर्वाधार आयोजनामध्ये एक हो, जसले यसलाई अन्य विकास आयोजनाभन्दा प्राथमिकता दिएको छ ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा सिभिल इञ्जिनीयरिङका अवकाशप्राप्त प्राध्यापक महेश भट्टराई बढ्दो जनसंख्या र अन्य थुप्रै अप्ठ्याराका कारण, ‘धेरै जोखिमका बाबजुद, नेपाल सरकारसँग यसलाई अगाडि बढाउनुको विकल्प नभएको’ तर्क गर्छन्।

उनले थपेः “[जलवायुजन्य प्रकोपहरूको] जोखिम हिन्दूकुश हिमालयमा जताततै छ … तर, नेपालसँग एक मात्र विकल्प भनेको सन् २०२१ को बाढीजस्ता जोखिमलाई कम गर्नका लागि अझ राम्रो र बलियो पूर्वाधार निर्माण गरेर कदम चाल्नु हो।’

सिकेका पाठहरू?

लामिछानेले डायलग अर्थसँग कुरा गर्दै भने, ‘मेलम्चीको नयाँ हेडवर्क्सलाई सुरक्षित स्थानमा पुनर्निर्माण गर्नका लागि मेलम्ची खानेपानी विकास समिति विस्तृत परियोजना प्रतिवेदनको पर्खाइमा छ। यसका साथै, हामी पहुँच मार्गहरूको पुनर्निर्माण वा मर्मत गर्न र तिनीहरूलाई सबै मौसममा चल्न सक्ने सडकमा परिणत गर्न काम गरिरहेका छौं।
सन् २०२५ सम्ममा पुनर्निर्माण सुरु गर्ने र सन् २०२८ सम्ममा निर्माण सम्पन्न गर्ने उनको अपेक्षा छ । याङ्ग्री र लार्के खोलाको पानी निकासका लागि मेलम्चीपूर्वमा दुई नयाँ सुरुङ खन्ने काम शुरु हुने उनको भनाइ छ । उनले सन् २०२१ मा देखिएको क्षतिबाट जोगाउन भविष्यमा सुरुङभित्र हेडवर्क्स् निर्माण गरिने बताए ।

एक प्रतिवेदनले विगतका डिजाइनहरू जलवायु जोखिमहरूलाई सम्बोधन गर्न असफल भएको र सन् २०२१ को विपद् पहिले तय गरिएको डिजाइन बाढीभन्दा ४.५ को अङ्कले माथि रहेको पत्ता लगायो।

एडीबीले सन्  २०२३ को नोभेम्बर महिनामा तयार पारेको प्रतिवेदनमा अत्यधिक वर्षा, विस २०७२ सालको भूकम्पको क्षति, हिमताल विस्फोटन, बाढी र पहिरोजस्ता कारणले सन् २०२१ को मेलम्ची विपद् निम्त्याएको निश्कर्ष निकालेको थियो । ‘सन् २०२१को बाढी पछिको क्षतिका कारक रहेका भूस्खलन, लेदो बग्ने र जम्ने क्रिया र कटान लगायतका भूस्थलीय प्रक्रियाहरू त्यस क्षेत्रमा लगभग सधैँ नै भैरहनेछन्,’ प्रतिवेदनमा भनिएको छ।

विगतका डिजाइनहरूले जलवायु जोखिमहरूलाई सम्बोधन गर्न असफल भएको थियो ।  डिजाइन बाढी अर्थात् परियोजनाको डिजाइनको समयमा अनुमान गरिएको अधिकतम बाढीको स्तरभन्दा सन् २०२१ को विपदको समयमा आएको बाढी ४.५ अङ्क भन्दा बढी थियो। पहिलेको डिजाइन तयार गर्दा जलवायु परिवर्तनको मुद्दा गौण थियो, र त्यतिखेरको डिजाइनमा एकचोटि हुने वर्षाले गर्ने क्षतिको विषय मात्रै आँकलन गरिएको थियो । 

प्रतिवेदनले जलवायु चुनौतीलाई सम्बोधन गर्न व्यापक डिजाइन परिवर्तनको सिफारिश गरेको छ र स्थानीय जनतासँग परामर्श गरेर बहु-जोखिम पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापन योजना सहित सामुदायिक सुरक्षा उपायहरू कार्यान्वयन गर्न आग्रह गरेको छ। यसले “पहिरोको जोखिम कम गर्न र सामुदायलाई व्यापक लाभ प्रदान गर्ने गरि समाधानमुखी कार्यक्रमहरूको सुरुवात गर्न”का साथै “जोखिममा रहेका स्थानहरूमा स्थानीय जोखिम संरक्षण उपायहरू पहिचान गर्न, प्राथमिकता दिन र कार्यान्वयन गर्न एकीकृत नदी बेसिन व्यवस्थापन योजना को स्थापना” गर्न पनि आह्वान गरेको छ। तैपनि, निर्माण कार्य अघि बढिरहँदा सुरक्षाका यी कुनै पनि उपायहरू लागू भएको देखिंदैन।  तर मेलम्ची खानेपानी विकास समितिका लामिछानेले डायलग अर्थसँग भने, ‘निर्माणको नयाँ चरण सुरु हुनुअघि नै अधिकांश काम पूरा हुनेछ ।’

फेरि यस्तै विपद् आयो भने त्यसको जवाफदेही को हुने ?
अजय दीक्षित, जल तथा जलवायु विज्ञ, आइसेट–नेपाल

याङ्ग्री र लार्के नदीको पानी काठमाडौं ल्याउन  पुनर्निर्माण र नयाँ योजनाले आकार लिँदै गर्दा जलवायु जोखिम र सामुदायिक संरक्षणमा ध्यान नदिँदा चिन्ता बढेको छ । सन् २०२१ को विपद्बाट सिकेको पाठका बाबजुद स्थानीय बासिन्दा र विज्ञहरू भविष्यमा यस्ता विपद्बाट बच्न पर्याप्त सावधानी अपनाइँदै छैन कि भन्नेमा सशंकित छन्।

इन्स्टिच्युट फर सोसल एन्ड इन्भाइरोमेन्टल ट्रान्जिसन (आइसेट–नेपाल) का जल तथा जलवायु विज्ञ अजय दीक्षितले चिन्ता व्यक्त गर्दै भने, ‘मेलम्ची नदी जलाधारमा रहेका चुनौती र जोखिम याङ्ग्री र लार्के नदी जलाधारमा पनि विद्यमान छन् । त्यसैले, फेरि यस्तै विपद् आइपऱ्यो भने त्यसको जवाफदेही को हुने ?’

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)