खाना भीरमौरीको संख्या घटेपनि मह काढ्ने परम्परा कायम राख्दैछन् महशिकारी ज्यानै जोखिममा पारेर भीरमौरीको मह काढ्ने परम्परालाई गुरुङ समुदायले हजारौँ वर्षदेखि निरन्तरता दिइरहेको छ तर जथाभावी मह काढ्ने र सडक तथा बाँधहरू बनाउँदा मौरीको संख्या भने निरन्तर घट्दो छ । नेपाली नेपाली हिन्दी English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। नवीन बराल जुलाई 22, 2022July 27, 2022 गंगाबहादुर गुरुङले अत्यन्त शान्तपूर्वक भगवानसँग प्रार्थना गरिरहेका छन् । उनले जलदेवता, भूमिदेवता, अग्निदेवता, वायुदेवता र नागदेवतासँग आशीर्वाद मागिरहेका छन् । उनको एउटा शिकारी समूह हातले बनाएको यता र उता हल्लिने डोरीको भर्याङबाट ५० मिटर अग्लो भीरमा चढ्न लागिरहेको छ । विश्वकै सबैभन्दा ठूलो मानिने भीरमौरीको गुँडबाट महका चाका झिक्न उनीहरूले त्यो जोखिमपूर्ण काम गर्नलागेका हुन् । “अत्यन्त सुरक्षित भीर जहाँ भगवान् बस्छन्, त्यहाँमात्र जंगलीमौरीले घार बनाउँछन्,” गंगाबहादुरले भने । मह काढ्ने काम सुरक्षित र सफलरुपमा सम्पन्न होस् भनी देवीदेवतासँग प्रार्थना गरिरहेका बेला उनले यी कुराहरू अर्थ्याइरहेका थिए । न्यादी नदीको खोचमा भीरमौरीले बनाएका पाँचवटा घार (बायाँ) । हिमाली भीरमौरी पनि भनिने यो प्रजातिले १.५ मिटरमा फैलिएको घार बनाउने गर्छ । यसले अग्ला भीरपहरा वा ठूला रुखका हाँगामा यस्ता गुँड बनाउने गर्छ । त्यहाँ जान निकै अप्ठ्यारो हुने भएकोले त्यस ठाउँमा बनाएका घारमा नाइचेका गाउँलेले मह काढ्ने गर्दैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) हिमाली क्षेत्रको काखमा बस्ने नेपाली समुदायको प्राचीन परम्परा हो मह काढ्ने काम । मध्यनेपालका पहाडमा बस्ने आदिवासी गुरुङ समुदाय र उत्तरी भारतका मानिसहरूले हजारौँ वर्षदेखि यसरी नै जीवन जोखिममा पारेर मह काढ्ने कामलाई निरन्तरता दिइरहेका छन् । शरद् र वसन्त ऋतुमा मह काढ्ने काम गुरुङ समुदायको संस्कृतिसँग अभिन्नरुपले गाँसिएको छ । एसियामा महशिकारकाे परम्परा इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसीमोड) का सबल जीविकोपार्जन विशेषज्ञ सुरेन्द्रराज जोशीका अनुसार नेपालमा हिमाली भीरमौरीको महशिकार मुख्यरुपमा गुरुङहरूले गर्ने गरेका छन् । मौरीको यो प्रजाति खासगरी दक्षिण एसियाको हिन्दूकुश हिमालय क्षेत्रमा पाइन्छ । भुटानमा पनि नेपालीभाषी मानिसले महशिकार गर्ने गर्छन् । भारत, चीनको दक्षिणपूर्वी प्रान्त युन्नान, म्यान्मा, लाओस र भियतनाममा मुख्यतः होचोभागमा पाइने ठूला मौरीले पार्ने मह काढ्ने गर्छन् । गण्डकी प्रदेशको मर्स्याङ्दी गाउँपालिकामा पर्ने नाइचे गाउँका १५ जनाको शिकारी समूहका प्रमुख हुन गंगाबहादुर । मर्स्याङ्दीमा मिसिने न्यादी नदीले हिमालय पर्वत बन्ने क्रममै बनाएको खोँचमा अवस्थित छ नाइचे गाउँ । मर्स्याङ्दी गाउँपालिकास्थित नाइचे गाउँको तलबाट बग्ने न्यादी नदी । (तस्बिरः नवीन बराल/द थर्ड पोल) पहिले पहिले नाइचे र वरपरका क्षेत्रमा भीरमौरीको मह प्रशस्तमात्रामा पाइने गर्थ्यो । तर अहिले त्यस्तो छैन । ४८ वर्षे गंगाबहादुरले आफ्नो ध्यानको अन्तिम खण्डमा भीरमौरीसँग क्षमायाचना गर्छन् । ती मौरीका गुँड नष्ट गरेकोमा त्यसप्रति माफी माग्दै आफ्नाे समूहका बच्चाहरु सुरक्षित रहून् भन्ने कामना पनि गर्छन् । यो क्षेत्रमा पाइने भीरमौरी ३ सेन्टिमिटरसम्म ठूला हुन्छन् । शिकारी समूहका अरु साथीहरूलाई भीरको फेदीमा छाडेर बिच्चेमान गुरुङ र प्रविण गुरुङ भीर चढ्छन् । डोरीको भर्याङ बाँधेर त्यसैबाट उनीहरू मौरीको घारसम्म पुग्छन् । मौरीको गन्ध थाहा पाउने क्षमतालाई निष्क्रिय पार्ने धूवाँमार्फत सो ठाउँलाई गुम्स्याएर काम्चो भीरमा बनाएको मौरीको घारतर्फ जाँदै महशिकारी बिच्चेमान गुरुङ र प्रविण गुरुङ । वरपर धूवाँ फैलिएपछि मौरीहरूले वन डढेलो लाग्यो भन्ठानेर गुँड नै छाडेर भाग्छन्, जसले गर्दा शिकारीलाई महका चाका झिक्न सहज हुन्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल) मौरीको टोकाइबाट बच्न टाउकोमा रातो बोरा बेरेका गंगाबहादुर गुरुङ (बीच) मह झिक्नेहरूलाई भीरको फेदमा बसेर सिकाइरहेका छन् । “होचा भीरपहरामा मैले युवा शिकारीलाई मौका दिन्छु तर अधिकांश अग्ला भीरमा भने म आफैँ चढ्छु । युवापुस्ताले पनि यो विधि सिक्नुपर्यो नि,” उनी भन्छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) भीरमा रहेका शिकारीसँग आवश्यक जानकारी लिन रुख चढिरहेका वीरजंग गुरुङ । (तस्बिरः नवीन बराल/द थर्ड पोल) गंगाबहादुरको ध्यानका बाबजुद पनि उनीहरूको सो शिकार सुरक्षित त भयो तर सफल भने भएन । भीरमा चढेका शिकारीले महका चाका झिकेर बाल्टी तल पठाए । समूहका अरु सदस्यले हेर्दा ती त सुख्खा थिए । विगतमा यही भीरमा हुने एउटै ठूलो घारबाट १५ लिटरसम्म मह काढेको गंगाबहादुर सम्झिन्छन् । अहिले त २०० मिलिलिटरभन्दा कम हुन्छ । काम्चो भीरमा विगत १० वर्षमा मह काढ्दा यसरी साह्रै कम मह हात परेको यो तेस्रो पटक थियाे । शिकारको अन्त्यमा, गंगाबहादुरले मौरीलाई धन्यवाद दिनुका साथै सो मौरीको झुण्ड निकै फैलियोस् र अर्को वर्ष सयौँ झुण्ड बनून् भनी आशीर्वाद दिए । गंगाबहादुर भन्छन्, “प्रकृति हाम्रो भगवान् हो, हामीले यसको सम्मान गर्नुका साथै अत्यन्त होशियारीपूर्वक मह काढ्नुपर्छ । जसरी हाम्रा पुर्खाले गर्थे त्यसरी गरेमात्र आउने सयौँ वर्षसम्म यो कायम रहन सक्छ ।” काम्चो भीरबाट काटेर झिकेको महको चाका जसमा २०० मिलिलिटर मात्र मह भेटियो । मौरीका घारहरू यस्तो सुक्खा हुनथालेको देख्दा गंगाबहादुर चकित छन् । “जंगली शिकारमा कहिले सफलता पाइन्छ, कहिले खाली हात फर्किनुपर्छ । अहिलेलाई समय नै गलत पर्यो वा सिउरी खोला सुकेर हो, जे होस्, चाकामा मह भेटिएन,” उनले भने । (तस्बिरः नवीन बराल/द थर्ड पोल) मौरीकाे संख्या घट्दाे, महकाे माग बढ्दाे यो प्रजातिको भीरमौरीको संख्या डरलाग्दोगरि घटिरहेको त्रिभुवन विश्वविद्यालयका वरिष्ठ मौरी विशेषज्ञ रत्न थापाको भनाइ छ । “भीरमौरीको संख्या प्रत्येक वर्ष ७० प्रतिशतको दरले घटिरहेको छ,” उनले भने । इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) का वरिष्ठ जीविकोपार्जन विशेषज्ञ सुरेन्द्रराज जोशी भन्छन्ः “कास्की र लमजुङ जिल्लाबाट प्राप्त विवरण, घटनामा आधारित प्रमाणहरू र अन्य देशका रिपोर्टहरू हेर्दा के देखिन्छ भने एउटा भीरमा हुने मौरीको घारको संख्या र मौरीले घार बनाउने भीरको कुल संख्या दुवैमा कमी आएको छ ।” जिल्ला र देशअनुसार यसको अवस्था भिन्न छ । मौरीको संख्यामा यसरी निरन्तर गिरावट आउनुमा विभिन्न कारण रहेको थापा र जोशीको भनाइ छ । उनीहरूका अनुसार विषादीको प्रयोग, वासस्थान र उनीहरूकाे खानेकुरामा आएकाे ह्रास, भौतिक पूर्वाधारको विकास र आक्रमणकारी किरा तथा शिकारीहरूको आक्रमणका कारण मौरीको संख्या निरन्तर ओरालो लागेको हो । ‘मह काढ्ने विनाशकारी अभ्यास’ लाई उनीहरूले अर्को मुख्य कारणको रुपमा पहिचान गरेका छन् । महको सुक्खा चाका हातमा लिँदै शिकारमा संलग्न समूहका एक जना सदस्य । सामान्यतया यस्ता चाकाहरूमा मह तपतप चुहिनुपर्ने हो । (तस्बिरः नवीन बराल/द थर्ड पोल) नाइचेका गाउँलेले २० वर्षअघि एक लिटर महलाई साढे ३ अमेरिकी डलरमा बिक्री गर्थे । अहिले प्रतिलिटर २० डलरमा बिक्री हुने गरेको र उनीहरूको आम्दानीको एउटा प्रमुख स्रोत यही बनेको गंगाबहादुरले बताए । अन्तर्राष्ट्रिय बजारमा त यसको मूल्य निकै बढी छ । विश्व बजारमै महको माग बढिरहेको हुँदा यसको भाउ वृद्धि भइरहेको हो । गंगाबहादुर भन्छन्, “दुई दशकअघिसम्म त महभन्दा त्यसको चाकाको बढी पैसा पर्थ्यो, त्यसैले मौरीले घार छाडेर हिँडेपछि त्यसलाई हामीले ल्याइहाल्थ्यौँ । त्यतिबेला मह स्थानीय रक्सी बनाउन वा सुर्तीमा मिसाउन प्रयोग गरिन्थ्यो… मह त कसैले किन्नै खोज्दैनथे ।” यस नाइचे गाउँमा ६१ गुरुङ परिवार बस्छन् । यहाँका गाउँलेहरू आफ्नो जीविकोपार्जनका लागि कृषि र भीरमहजस्तै प्राकृतिक स्रोत साधनमा निर्भर छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) ढिकीमा चामल कुटेर पिठो बनाउँदै स्थानीय गुरुङ महिला । घरायसी काममै व्यस्त रहने हुँदा महिलाहरू महशिकारमा सहभागी हुँदैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) घाटु नाचका लागि युवतीहरूलाई तयार पार्दै नाइचेका महिला । वैशाख पूर्णिमामा मनाइने घाटु गुरुङ समुदायको एउटा मुख्य चाड हो । यो चाडको बेलामा गुरुङहरूले महशिकार गर्दैनन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) नेपालबाट अन्तर्राष्ट्रिय बजारमा भीरमौरीको मह निर्यात गर्ने बेस्ट म्याड हनी नामक कम्पनीका प्रमुख कार्यकारी सञ्जय काफ्लेले आफ्नो कम्पनीले एक वर्षमा तीनदेखि चार टनसम्म मह निर्यात गरेको बताए । उनका अनुसार यो मात्रा प्रत्येक वर्ष बढिरहेको छ । यो महमा दिमागलाई नै अतिसक्रिय बनाउने तत्व हुने भएकोले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दाे छ। ‘म्याड हनी’ अर्थात् पागल मह भनिने यसको सानो मात्राले पनि टाउको हल्का बनाउन र मानिसमा उमंग ल्याउन सक्छ भने धेरै मात्रा उपभोग गरेमा ह्यालुसिनेसन अर्थात् काल्पनिक कुराको समेत अनुभूति दिन्छ । यसमा कोलेस्ट्रोल तथा जोर्नी दुःखाइको समस्या निको पार्ने औषधीय गुणहरू भएको मानिन्छ तर यो विषाक्त हुनसक्ने कुरा पनि पुष्टि भएको छ । ““मानिसहरूले यो महको औषधीय महत्व बुझ्नथालेका छन् र वैज्ञानिकहरूले पनि यो पुष्टि गरेको हुनुपर्छ त्यसैले गर्दा आजकल यसबाट हामीले केही कमाइ गर्नसकेका छौँ,” गंगाबहादुर भन्छन् । तर मौरीविज्ञ रत्न थापा भने त्याे भनाइप्रति असहमत छन् । “यसमा औषधीय गुण रहेको पुष्टि भएको भनी कुनै वैज्ञानिक अनुसन्धान पेपर मैले अहिलेसम्म पढेको वा देखेको छैन । बरु यसमा हाम्रो स्नायु प्रणालीलाई असर गर्ने ग्रेयनोटक्सिन भन्ने रसायन हुन्छ भन्ने कुरा चाहिँ म भन्नसक्छु,” उनले भने । नेपालको पहाडी र हिमाली क्षेत्रमा प्रशस्त पाइने लालीगुराँसको पात र फूलमा ग्रेयनोटक्सिन पाइन्छ । पुर्वी तीनजुरे–मिल्के–जलजले लालीगुराँस संरक्षण क्षेत्रमा फक्रिएको नेपालको राष्ट्रिय फूल लालीगुराँस । (तस्बिरः नवीन बराल/द थर्ड पोल) थापाका अनुसार उच्चपहाडी क्षेत्रमा पाइने वनस्पतिमा परागसेचन गराउने मुख्य माध्यम नै भीरमौरी हुन् । एउटा बोटबिरुवाबाट अर्कोमा उड्ने क्रममा उनीहरूले वनस्पतिमा परागसेचन गराउँछन् । यो भीरमौरी समुद्री सतहबाट ४२ सय मिटरमाथिको क्षेत्रमा रहन्छ, जहाँ अन्य मौरी बस्न सक्दैनन् । त्यसैले थुप्रै प्रकारका फूलका बिरुवा भीरमौरीमै निर्भर रहेको ईसीमोडका जीविकोपार्जन विज्ञ जोशीले बताए । “उच्च हिमाली क्षेत्रको जैविक विविधता संरक्षण तथा पारिस्थितिक प्रणाली (इकोसिस्टम) जोगाउन यी मौरीले गर्ने योगदानको तुलनामा यिनीहरूले उत्पादन गर्ने महको मूल्य नगण्य हो,” थापाले थपे, “ “भीरमौरीको प्रजाति मासियो भने नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि त्यो सँगसँगै मासिनेछ ।” गंगाबहादुर (बायाँबाट दोस्रो) र नाइचे गाउँका उनका साथीहरू मिलेर बाँसको चोया काढिरहेका छन् । त्यसबाट उनीहरूले महशिकार गर्दा भीर चढ्नका लागि डोरीको भर्याङ बनाउँछन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) बाँसको चोया बाटेर डोरी बनाउँदै गरेको यस समूहले त्यसलाई काठको खम्बाहरूमा बाँधेर शिकार गर्ने भर्याङ बनाउँछन् । यसरी १०० मिटरको डोरी बनाउन लगभग १६ सय मिटर बाँस चाहिन्छ र यो बनाउन दुई दिन लाग्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल) डोरी बाटेपछि त्यो बोकेर काम्चो भीरतर्फ जाँदै शिकारीहरू । नाइचे गाउँबाट हिँडेर भीरमौरी भएको ठाउँसम्म पुग्न लगभग १ घण्टा लाग्छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल) मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महशिकार पनि सो क्षेत्रको पर्यटनको एउटा प्रमुख आधार भएको बताए । पर्यटकलाई आकर्षित गर्नका लागि महशिकारलाई थप प्रवर्द्धन गर्न स्थानीय सरकार इच्छुक रहेको उनको भनाइ छ । “महशिकारको काम परम्परागतरुपमा हुँदै आएको छ । हामीले यो परम्परागत अभ्यासलाई अवरोध गर्न र गाउँलेहरूको अधिकारमा दख्खल पुर्याउन चाहँदैनौँ ,” उनले भने । थर्ड पोलसँगको कुराकानीका क्रममा अर्जुन गुरुङले जैविक विविधता संरक्षण गर्न मौरीको कति महत्व छ भन्ने यथार्थप्रति जिम्मेवार निकायका अधिकारीहरू सचेत नभएको गुनासो पोखे । संरक्षणका क्षेत्रमा स्थानीय तहले के काम गरेको छ त भन्ने जिज्ञासामा उनको भनाइ थियोः “अहिलेसम्म त मौरीका घारहरुमा क्षति हुने गरेकोबारे कुनै गुनासो नै आएको छैन त्यसैले हामीले त्यस्तो कुनै आवश्यकता नै देखेका छैनौँ… संरक्षणका क्षेत्रमा त्यस्तो केही गर्नुपर्ने भए त हामी गरिहाल्छौँ नि !” मौरीविज्ञ रत्न थापा भने महशिकारलाई रोकेर इको–टुरिज्म (पर्यावरणीय पर्यटन) का गतिविधिको प्रवर्द्धन गर्नुपर्ने बताउँछन् । स्थानीय समूहहरूले उनीहरू कसरी भीरमौरीको महशिकार गर्छन् भनी सांकेतिक रुपमा देखाउँछन् तर वास्तविक जस्तो लाग्ने त्यस्ता प्रस्तुतिमा साँच्चिकै महशिकार भने गर्दैनन् । त्यसो गर्दा पर्यटनबाट हुने आम्दानी पनि भइरहने र मौरीमा नकारात्मक असर पनि नपर्ने उनको दाबी छ । ईसीमोडका जोशीले महशिकारको परम्परालाई दिगो रुपमा टिकाइराख्नका लागि केही उपायहरू बताए । उनले मौरीका चाकामध्ये केहीबाट मात्र मह काढ्ने र नयाँमध्ये आधालाई जस्ताको तस्तै छाड्नुपर्ने बताए । वन तथा मौरीका गुँड हुने ठाउँहरूबारे सचेतना बढाउने, मौरीले घार बनाउने भीरहरूको सुरक्षालाई अझ राम्रो बनाउनका लागि त्यसको स्वामित्व र व्यवस्थापनको जिम्मेवारी महशिकारीलाई दिने र मौरी अवलोकन भ्रमणजस्ता इकोटुरिज्मका गतिविधिलाई बढावा दिनुपर्ने जोशीको धारणा छ । बाँधका कारण पनि मौरी संकटमा भीरमौरीलाई आइपरेको चुनौती अधिक शिकार मात्र होइन । नेपालको हिमाली क्षेत्रमा सडक, बाँध आदि निर्माणकार्यका क्रममा विष्फोटन गर्दा कमजोर हिमाली पारिस्थितिकीय प्रणाली (इकोसिस्टम) मा नराम्रो असर पर्ने गरेको छ ।. नाइचे गाउँका महशिकारी बस्ने गरेको क्षेत्रमा पर्ने न्यादी नदी क्षेत्रमा पाँचवटा जलविद्युत् परियोजना छन् । तीमध्ये तीनवटा न्यादीको मुख्यधारमै छन् भने अरु दुईवटा न्यादीमा मिसिने नदीमा छन् । यीमध्ये दुईवटा परियोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा छन् । ३० मेगावाटको न्यादीखोला जलविद्युत् परियोजनास्थलसम्म निर्माणाधीन पहुँचमार्ग तथा सुरुङ । शिकारी गंगाबहादुरका अनुसार निर्माणकार्य सुरु हुनुअघि त्यो सडकमाथि भीरमौरीको गुँड हुने गर्थ्यो । (तस्बिरः नवीन बराल/द थर्ड पोल) जलविद्युत परियोजनातर्फ पानी फर्काएपछि सुकेको न्यादी खोला । भीरमौरीले पानी नजिकै घार बनाउने गर्छन् । पानी सुक्यो भने त्यो ठाउँ नै छाड्छन् । (तस्बिरः नवीन बराल/द थर्ड पोल) महशिकारी समूहका सदस्यहरू काम्चो भीरतर्फ जाने क्रममा सिउरी खोला पार गर्दै । न्यादी नदीमा मिसिने यो खोलाको पानीलाई एउटा पाइपबाट ५ मेगावाटको सिउरीखोला जलविद्युत् परियोजनातर्फ फर्काइएको छ । (तस्बिरः नवीन बराल/द थर्ड पोल) थापाका अनुसार मौरीको एउटा घारलाई प्रतिदिन चारदेखि पाँच लिटर पानी चाहिन्छ । मौरीलाई स्वस्थ रहनका लागि बालुवा पनि चाहिन्छ । त्यही कारण सामान्यतया मौरीले घार बनाउँदा पानीको स्रोतनजिकको ठाउँ रोज्ने गर्छन् । घार बनाएको ठाउँमा पानी सुक्यो भने मौरीको झुण्डले पनि त्यो ठाउँ छोड्छ । थापाको अध्ययनमा पनि देखिएको कुरा हो यो । नाइचे गाउँनजिक महशिकार गर्ने ठाउँहरूमध्येको एउटा प्रमुख स्थल निर्माणाधीन ३० मेगावाटको न्यादीखोला जलविद्युत् परियोजनाको ठीक तलपट्टि पर्छ । सो परियोजनामा सन् २०१७ देखि निर्माणकार्य सुरु भएको हो । त्यो भीरमा मौरीका २२ वटा घार भएकाे गंगाबहादुर सम्झिन्छन् । तर अहिले त्यहाँ त्यसको आधा पनि बाँकी छैनन् । अहिले जलविद्युत् परियोजना निर्माणका क्रममा गरिने विष्फोटन, निर्माणकार्यको अन्य चहलपहल र सवारीसाधनको प्रदूषणका कारण सो क्षेत्रमा मौरीको संख्या कम भएको उनको ठहर छ । न्यादी खोला बाँधभन्दा तलपट्टि मौरीका केही गुँडहरू बाँकी छन् तर नजिकैको पानी पनि अब छिट्टै सुक्नसक्ने गंगाबहादुरको चिन्ता छ । “केही समयपछि जब पानीलाई सुरुङमा प्रवेश गराइन्छ र नदी सुक्छ त्यसपछि भीरमौरीले घार बनाउनका लागि सो ठाउँ उचित नभएको ठानी त्यो ठाउँ छाड्नेछन्,” गंगाबहादुरले अनुमान गरे । ३० मेगावाट क्षमताको न्यादी खोला जलविद्युत् परियोजनाको पावरहाउसदेखि करिब २० मिटर तल अल्पत्र छाडिएको मौरीको गुँड । खोलामा माछा मार्ने क्रममा मानिसहरूले गुँडमै ढुंगा प्रहार गरेर त्यहाँका मौरी भगाएका थिए । जलविद्युत् परियोजनाको काम सुरु भएपछि सो ठाउँमा मानिसको चहलपहल व्यापकरुपमा बढेको हो । (तस्बिरः नवीन बराल/द थर्ड पोल) थप पढ्नुहोस् आलेख खाद्य सुरक्षा Honeybee colonies prove win-win for Assam farmers, beekeepers आलेख वनफडानी Climate change, deforestation, cripple Pakistan's honey exports आलेख संरक्षण Why are bees dying en masse in Bhutan? आलेख जलविद्युत Nepal’s hydropower boom needs strategic assessment and public oversight आलेख नीति विश्लेषणः संघीयतामा जटिल बन्दै जलवायु परिवर्तनका काम आलेख नागरिक समाज बाढीले बिथोल्दा कठिन बन्दैछ विहारमा मनसुनी विवाह आलेख जैविक विविधता सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे आलेख व्यापार रुद्राक्षको दाना जसले देखाउँछ चीनसँग नेपालको व्यापार असन्तुलनको सार शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय