इन्टरगभमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) अर्थात् जलवायु परिवर्तनबारे अन्तरसरकारी समूह सन् १९८८ मा विश्व मौसम संगठन (डब्लूएमओ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) द्वारा स्थापना गरिएको एउटा वैज्ञानिक निकाय हो । सरकारहरुलाई जलवायु विज्ञानसम्बन्धी नयाँ विषयबारे जानकारी गराउने र जलवायु परिवर्तनले आगामी दशकहरुमा विश्वमा के कस्तो असर पार्नसक्छ भन्नेबारे व्याख्या गर्नु यसको उद्देश्य हो ।
आईपीसीसीमा हाल १९५ सदस्यराष्ट्रहरू आबद्ध छन् भने यसले संसारभरका वैज्ञानिकहरूलाई एक ठाउँमा ल्याउने काम गर्छ । उनीहरुले आईपीसीसीमा स्वयंसेवीरुपमा योगदान गर्छन् । आईपीसीसी आफैँले मूल (अरिजिनल) अनुसन्धान गर्दैन । बरु सयौँ वैज्ञानिकहरूले गरेका अनुसन्धान सामग्रीहरुलाई केलाएर तिनलाई बृहत् मूल्यांकन प्रतिवेदनको रूप दिन्छन् । जलवायु परिवर्तनलाई केले हाँकिरहेको हुन्छ, यसबाट स्थलगतरुपमा कस्तो परिणाम देखिनसक्छ, र न्यूनीकरण तथा अनुकूलनले कसरी अत्यन्त नराम्रो परिणामबाट मानिसहरुलाई बचाउनसक्छ भन्ने प्रश्नहरुलाई यी प्रतिवेदनले केलाउँछन् ।
पछिल्लो आईपीसीसी रिपोर्टले के भन्छ ?
आईपीसीसीको पछिल्लो रिपोर्टले आईपीसीसीका तीनवटा कार्यगत समूहको छैठौँ मूल्यांकन चक्रलाई प्रतिनिधित्व गरेको छ । एआर६ भनिने छैठौँ मूल्यांकन प्रतिवेदनले अहिलेको सबैभन्दा अत्याधुनिक जलवायु अनुसन्धान र मोडेलहरूलाई अध्ययन गरेको छ । सबै कार्यगत समूहले संकलन गरेको यो रिपोर्ट तीन चरणमा सार्वजनिक हुन्छ । पहिलो कार्यगत समूहको अंश अगस्ट २०२१ मा प्रकाशित भइसकेको छ । यसको मिश्रित रिपोर्ट अक्टुबर २०२२ मा प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
२८ फेब्रुअरी २०२२ मा सार्वजनिक हुने एआर६ को दोस्रो अध्यायले समुदायहरूका लागि अनुकूलनका विकल्पहरू र जलवायु परिवर्तनका कारण प्रभावित ‘इकोसिस्टम’बारे प्रकाश पार्नेछ । भूस्थल (टेरेस्टेरियल), स्वच्छपानी (फ्रेसवाटर), समुद्री र तटीय पारिस्थितिक प्रणालीहरू, सहरहरू, भौतिक पूर्वाधार, विश्वव्यापी स्वास्थ्य र जीविकोपार्जनलगायतका बृहत् क्षेत्र तथा प्रणालीलाई यसले समेटेको छ । यस रिपोर्टको दोस्रो खण्डले क्षेत्रीय तथा उपक्षेत्रीय जलवायुमा पर्ने जोखिमहरू र अनुकूलनका अवसरहरूबारे अध्ययन गर्नेछ । अन्तिम खण्डले विकास रणनीतिहरूको पहिचान गर्नेछ जसमा अनुकूलन तथा न्यूनीकरणको पक्षलाई समेटिएको छ भने वित्तीय तथा अन्तर्राष्ट्रिय सहयोगको पाटो पनि केलाइनेछ ।
मार्चमा, आईपीसीसीले तेस्रो कार्यगत समूहले तयार पारेको एआर६ को तेस्रो रिपोर्ट सार्वजनिक गर्नेछ, जसमा उत्सर्जनका विश्वव्यापी प्रवृत्ति र तिनलाई नियन्त्रण गर्ने सम्भावित उपायहरूबारे चर्चा गरिनेछ ।
आईपीसीसी कार्यगत समूहहरू के हुन् ?
आईपीसीसीमा तीनवटा कार्यगत समूह हुन्छन्, जसले जलवायु विज्ञान र जलवायु परिवर्तनको प्रतिक्रियासम्बन्धी विभिन्न पक्षहरुमा केन्द्रित रहेर काम गर्छन् । पहिलो समूहले जलवायु परिवर्तनको भौतिक विज्ञानको अध्ययन गर्छ, दोस्रो समूहले जलवायु परिवर्तनको असर र अनुकूलनको पक्षलाई केलाउँछ भने तेस्रो समूह जलवायु परिवर्तनको न्यूनीकरणमा केन्द्रित रहन्छ । तीनै समूहले आआफ्ना छुट्टाछुट्टै प्रतिवेदन तयार पार्छन् । पछि ती प्रतिवेदनलाई एकीकृत गरी एउटा मिश्रित प्रतिवेदन बनाइन्छ ।
के आईपीसीसीले सरकारले के गर्नसक्छ वा के सक्दैन भनी निर्णय गर्छ ?
आईपीसीसीले आफ्नो अध्ययन निष्कर्षहरूप्रति सरकारले कस्तो कदम चाल्ने भन्ने सम्बन्धमा आफैँले केही भन्दैन । उसका मूल्यांकनहरू ‘नीतिसँग सम्बन्धित’ हुन्छन् तर ‘नीतिमा सुझावमूलक’ हुँदैनन् । त्यसको अर्थ न्यूनीकरण र अनुकूलनसम्बन्धी निश्चित पहलकदमीबाट आउने सम्भावित नतिजाबारे नीतिनिर्माताहरूलाई जानकारी गराउँछन् तर उनीहरूलाई यो गर वा नगर भनेर भन्दैनन् ।
के हुन् आईपीसीसीका विभिन्न परिदृश्य ?
आईपीसीसीका प्रतिवेदनहरुले एउटै मात्र सम्भावित मार्गचित्र प्रस्तुत गर्दैनन् । बरु, उनीहरुले प्रतिनिधिमूलकरुपमा सम्भावित भावी परिदृश्यहरुको व्याख्या गर्छन्, जसमा मुख्यतः मानवीय गतिविधिहरु र अन्य विभिन्न कारणले गर्दा जलवायु परिवर्तनका असरमा फरक परेको देखिन्छ ।
यी अनुमानित परिदृश्यहरूले कुनै खास सम्भावित नतिजाको भविष्यवाणी गर्दैनन् । बरु, उनीहरूले वातावरणीय मोडेलहरूको प्रयोग गरेर वातावरणमा हरितगृह ग्यास केन्द्रित हुँदा जस्तै कुनै निश्चित अवस्थामा परिवर्तन भयो भने त्यसले अल्पकालीन वा दीर्घकालीन रूपमा कस्तो वातावरणीय वा सामाजिक असर पार्नसक्छ भन्ने व्याख्या गर्छन् ।
आईपीसीसी परिदृश्यहरू कति प्रकारका छन् ? समयक्रममा ती कसरी परिवर्तन भएका छन् ?
आईपीसीसीले सन् २०१४ को आफ्नो पाँचौँ मूल्यांकन प्रतिवेदन (एआर५) मा उसको सबैभन्दा चर्चित परिदृश्य रिप्रेजेन्टेटिभ कन्सन्ट्रेसन पाथवेज (आरसीपी) को सुरुवात गर्यो । यी चारवटा आरसीपीले वायुमण्डलमा रहने हरितगृह ग्यासको विभिन्न प्रकारको केन्द्रीकरणका परिदृश्यहरूलाई देखाउँछन् । यी आईपीसीसी परिदृश्यहरु विश्वव्यापी अर्थतन्त्र र मानवीय गतिविधिमा आएका परिवर्तनलाई झल्किने गरी समयक्रमसँगै विकास हुँदै आएका छन्, जसले वायुमण्डलमा प्रवाह गरिने हरितगृह ग्यासको मात्रा र प्रकार तय गर्छन् ।
आईपीसीसी परिदृश्यहरूमा विभिन्न प्रकारका परिस्थितिलाई समेटिएको हुन्छ । एक काल्पनिक भविष्य (जसलाई आरसीपी २.६ भनिन्छ) जहाँ न्यूनीकरणका आक्रामक रणनीतिहरु कार्यान्वयन गरी विश्व तापक्रम (ग्लोबल वार्मिङ)लाई सन् २१०० सम्ममा पूर्वऔद्योगिक तहभन्दा माथि २ डिग्री सेल्सियसभित्रै कायम गरिएको हुन्छ । त्यो अवस्थादेखि हरितगृह उत्सर्जन बेरोकतोक निरन्तर बढेर ३.३ डिग्री सेल्सियस र ५.४ सेल्सियससम्म पुगेको चरम अवस्थाको आकलन गरिएको हुन्छ । माथि बताइएको पछिल्लो परिस्थितिलाई आरसीपी८.५ भनिन्छ । वैज्ञानिकहरूको चेतावनीअनुसार त्यस्तो परिस्थितिमा ग्यास उत्सर्जन सामान्य अवस्थामा जस्तो रहँदैन । आरसीपी८.५ ले यस्तो भविष्य देखाउँछ जहाँ मानिसहरू फोसिल (जीवाश्म) इन्धनको प्रयोगलाई घटाउनुको साटो अहिलेभन्दा पनि झन् बढी प्रयोग गरिरहेका हुनेछन् ।
सन् २१०० सम्ममा बढ्दो तापक्रम र अन्य वातावरणीय परिणामहरुबाट हुनसक्ने प्रभावबारे योजना तय गर्न यी परिदृश्यहरूबाट वैज्ञानिकहरुलाई सहयोग पुग्छ ।
त्यसैगरी आईपीसीसीका वैज्ञानिकहरुले समानान्तररुपमा अन्य पाँच पूरक परिदृश्यहरूमा पनि काम गरिरहेका छन्, जसलाई सेयर्ड सोसियोइकोनोमिक पाथवेज (एसएसपी) भनिन्छ । यसलाई छैठौँ आईपीसीसी मूल्यांकन प्रतिवेदनमा प्रस्तुत गरिनेछ । आईपीसीसी अहिले यसमै काम गरिरहेको छ । आरसीपीले ग्रिनहाउस ग्यास र तापक्रममा फेरबदल गर्ने अन्य भौतिक तथा रासायनिक परिवर्तनहरुलाई हेर्छ भने एसएसपीले पाँचवटा विभिन्न आर्थिक, सामाजिक र राजनीतिक भाष्यको विकास गर्छन् । पहिलोपटक असमानता, राष्ट्रवादको उदय, शिक्षामा लगानी र जलवायु परिवर्तनमा भावी कदमलाई प्रभावित गर्ने कारकहरूको विस्तृत एवं सशक्त मूल्यांकन गर्नका लागि प्रविधिको विकासजस्ता पक्षलाई पनि समेटिएको छ ।
जलवायुबारे प्रक्षेपण र पूर्वानुमानमा के फरक छ ?
मौसम विज्ञानमा वर्तमान तथ्यांकका आधारमा आउने केही महिना वा वर्षमा मौसम तथा जलवायुजन्य अवस्थाहरू कसरी परिवर्तन हुन्छन् भनी अल्पकालीन आकलन (फोरकास्ट) गर्नुलाई पूर्वानुमान (प्रेडिक्सन) भनिन्छ । विभिन्न वेदर स्टेसन, राडार र स्याटेलाइट (भूउपग्रह)बाट प्राप्त तथ्यांकलाई वैज्ञानिकहरूले कम्प्युटर प्रविधिको सहयोगबाट विश्लेषण गर्छन् ।
जलवायु प्रक्षेपण (प्रोजेक्सन) ले कुनै निश्चित वातावरणीय परिवर्तन हुन्छ कि हुँदैन भनेर हामीलाई भन्दैन तर फोर्सिङ (दबाब) भनिने निश्चित प्रकारको आगमन (इनपुट) हुँदा त्यसलाई जलवायुले कसरी प्रतिक्रिया जनाउँछ भनी कम्प्युटर मोडेलबाट देखाइन्छ । उदाहरणका लागि मानिसले वातावरणमा निश्चित मात्रामा हरितगृह ग्यास उत्पादन गर्दा समुद्री सतहमा कति तापक्रम वृद्धि हुन्छ भनी त्यसबाट आकलन गर्न सकिन्छ । संक्षेपमा भन्दा, उनीहरुले भावी मानवीय गतिविधिको असर प्रक्षेपण गर्छन् न कि अहिलेसम्म भएका मानवीय गतिविधिको असरको पूर्वानुमान ।
पछिल्लो आईपीसीसी रिपोर्टले के भन्छ ?
आईपीसीसीको पछिल्लो रिपोर्टले आईपीसीसीका तीनवटा कार्यगत् समूहको छैठौं मूल्यांकन चक्रलाई प्रतिनिधित्व गरेको छ । एआर६ भनिने छैठौं मूल्यांकन प्रतिवेदनले अहिलेको सबैभन्दा अत्याधुनिक जलवायु अनुसन्धान र मोडेलहरुलाई अध्ययन गरेको छ । सबै कार्यगत् समूहले संकलन गरेको यो रिपोर्ट तीन चरणमा सार्वजनिक हुन्छ । पहिलो कार्यगत् समूहको अंश अगस्त २०२१ मा प्रकाशित भइसकेको छ । यसको मिश्रित रिपोर्ट अक्टुबर २०२२ मा प्रकाशित गर्ने कार्यक्रम रहेको छ ।
२८ फेब्रुअरी २०२२ मा सार्वजनिक हुने एआर६ को दोस्रो अध्यायले समुदायहरुका लागि अनुकूलनका विकल्पहरु र जलवायु परिवर्तनका कारण प्रभावित ‘इकोसिस्टम’ बारे प्रकाश पार्नेछ । भूस्थल (टेरेस्टेरियल), स्वच्छपानी (फ्रेसवाटर), समुद्री र तटीय इकोसिस्टमहरु, शहरहरु, भौतिक पूर्वाधार, विश्वव्यापी स्वास्थ्य र जीविकोपार्जन लगायतका वृहत क्षेत्र तथा प्रणालीलाई यसले समेटेको छ । यस रिपोर्टको दोस्रो खण्डले क्षेत्रीय तथा उपक्षेत्रीय जलवायुमा पर्ने जोखिमहरु र अनुकूलनका अवसरहरुबारे अध्ययन गर्नेछ । अन्तिम खण्डले विकास रणनीतिहरुको पहिचान गर्नेछ जसमा अनुकूलन तथा न्यूनीकरणको पक्षलाई समेटिएको छ भने वित्तीय तथा अन्तर्राष्ट्रिय सहयोगको पाटो पनि केलाइने छ ।
मार्चमा, आईपिसीससीले तेस्रो कार्यगत् समूहले तयार पारेको एआर६ को तेस्रो रिपोर्ट सार्वजनिक गर्नेछ, जसमा उत्सर्जनका विश्वव्यापी ट्रेन्डहरु र तिनलाई नियन्त्रण गर्ने सम्भावित उपायहरुबारे चर्चा गरिनेछ ।