जलवायु मेलम्ची बाढीबाट विस्थापितकाे ६ महिनापछि पनि बेहाल वातावरणीय संकट बढ्दै गइरहेका बेला विपदमा राहत समेत दिन नसक्नुले व्यवस्थापकीय कमजोरीलाई थप उजागर गरेको छ नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। सिन्धुपाल्चोकमा हिलोमा आधा पुरिएको घरबाट झिकेर आफ्ना सामान ओसार्दै एक व्यक्ति । मेलम्ची नदी किनारका बस्तीमा गत जुनमा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । (तस्बिर : दिपेन श्रेष्ठ⁄एलामी) रमेश भुसाल डिसेम्बर 7, 2021April 10, 2022 “फोटो नखिचौँ है,” दीपबहादुर ज्योतिले टाढैबाट चिच्याए । राजधानी काठमाडौंदेखि करिब ४० किलोमिटर उत्तरपूर्वमा मेलम्ची नदीको दायाँ किनारमा अवस्थित गनिसे गाउँका बासिन्दा हुन् ज्योति । गएको वर्षामा दुई पटकसम्म आएको विनाशकारी बाढीले ध्वस्त बनाएका गाउँमध्ये एक थियो, नदीकिनारको यो गाउँ पनि । सो बाढीमा परी २५ जनाको ज्यान गयो भने ठूलो भौतिक क्षति भएको थियो । यो नदीको किनारमा पर्ने अन्य कैयौँ बस्तीमा जस्तै गनिसेमा पनि सर्वत्र बालुवा र ठूला–ठूला ढुंगाका थुप्राबाहेक अरु केही देख्नै मुश्किल पर्छ । “हाम्रा कथा–व्यथा सबैलाई सुनाएर अर्थै छैन, सरकारले कुनै साथ सहयोग नदिएपछि हामीले यो कष्ट सहिरहनुपर्ने स्थिति छ ।”दीपबहादुर ज्योति, स्थानीय मैले क्यामरा बन्द गरेँ र केही कदम पर रहेको टिनले बनाएको ज्योतिको सानो टहराअघि पुगेर उभिएँ । केही टेबल, रक्सीले भरिएको एउटा काठको र्याक, केही प्याकेट बिस्कुट र अरु केही आवश्यक सामान राखेर उनले आफ्नो एउटा सानो खाजा घर सञ्चालन गरेका छन् । “तपाईंहरूलाई चिच्याएँ, माफ गर्नुहोला है, तर मलाई वाक्कै लागेर हो,” उनले भने, “हाम्रो जिन्दगी दयनीय भएको छ, र हाम्रा कथा–व्यथा सबैलाई सुनाएर अर्थै छैन, सरकारले कुनै साथ सहयोग नदिएपछि हामीले यो कष्ट सहिरहनुपर्ने स्थिति छ ।” केही समयपछि मात्रै उनी आफ्नो अनुभवबारे बोल्न तयार भए । बाढीपछि गनिसेमा दीपबहादुर ज्योतिले बनाएको टहरो । सो गाउँमा डुबानपछि व्यवसाय पुनः सुरु गर्ने उनी एक्ला हुन् । (तस्बिर : रमेश भुसाल) उजाडिएका जिन्दगी ज्योतिले कतार वा कुवेत काम गर्न जाने योजना बनाएका थिए । पहिले पनि कुवेतमै एक दशक काम गरेर गनिसेमा एउटा सानो व्यवसाय गर्न चाहिने पर्याप्त पैसाको व्यवस्था गरी फर्केका थिए उनी । तर उनको भाग्यमा अर्कै रहेछ । “जुन कम्पनीमा काम गरेको थिएँ त्यहाँका सबै कागजपत्र बाढीका बेला गुमाएँ, पहिले काम गरेको प्रमाणका रुपमा ती कागजपत्र देखाउन पाएको भए उनीहरूले मलाई फेरि बोलाउँथे,” उनले आफ्नो समस्या सुनाए, “अब त मैले आफ्नो जिन्दगी फेरि शून्यबाटै सुरु गर्नुपर्ने भयो ।” सरकारी तथ्यांकअनुसार बाढीले गनिसे गाउँ रहेको हेलम्बु गाउँपालिकामा मात्र ३ सय १७ घर ध्वस्त पार्यो । मेलम्ची नदीमै तल्लो तटमा पर्ने मेलम्ची नगरपालिकामा १ सय ७० भन्दा बढी घरहरू बाढीले भत्कायो । Recommended नोभेम्बर महिनामा म त्यो गाउँ पुग्दा ज्योतिमात्र एक्ला व्यक्ति भेटिए जसले बाढीपछि सानोतिनो भए पनि आफ्नो व्यवसायलाई पुनः सुरुवात गरेका थिए । उनले नयाँ तरिका अपनाएका छन् । उनले १ लाख रुपैयाँ जति लगानी गरेर एउटा यस्तो टहरो बनाएका छन्, जसलाई वर्षायाम भन्दा पहिलै नै अन्यत्र सार्न मिल्छ । “यहाँ पैसा लगानी गरेको देखेर मानिसहरू त मलाई पागल भयो भन्दै छन्, तर के गर्ने मैले त जसरी पनि ऋण तिर्नैपर्यो र तीन बालबालिकालाई पनि पाल्नुपर्यो ।” फलामका पाइपलाई बोल्टले कसेर बनाइएको सो टहरालाई ठूलो बाढी आउन लाग्यो भने खोलेर सुरक्षित ठाउँमा लैजान सकिन्छ । बाढीपछि सरकारी निकायको नगन्य सहयोग गनिसेबाट केही किलोमिटर उत्तरतर्फ पर्ने हेलम्बु गाउँपालिकाको केन्द्र किउल पुग्दा दिलबहादुर नेपाली हतार–हतारसँग हिँडिरहेका देखिए । उनी नदीकिनारबाट बालुवा ओसार्ने हताराेमा थिए । बजारका अरु घरजस्तै उनको घर पनि बाढीले बगाएकाे थियाे। अहिले उनी निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । “पाँच महिना भइसक्यो बाढी आएको तर सरकारबाट राहतका नाममा एक पैसा देखेको पनि छैन,” उनले गुनासो पोखे, “म दैनिक रुपमा प्रशासन कार्यालय जान्छु तर मैले कुनै जवाफ पाएको छैन । म दलित भएका कारण उनीहरूले कुनै वास्ता नगरेको पनि हुनसक्छ ।” नेपालीले भने, “त्रिपालमुनि बस्दा निकै चिसो हुन्छ । नयाँ घर बनाउनु त परको कुरा, यो हिउँदको जाडोमा कसरी बाँच्ने भन्ने नै थाहा छैन ।” बाढीले बगाउनुअघि आफ्नो घर कहाँनेर थियो भनी देखाउँदै दिलबहादुर नेपाली । (तस्बिर : रमेश भुसाल) केही समय लागे पनि सबै विस्थापित परिवारलाई राहत दिइने सम्बन्धित अधिकारीहरूको भनाइ छ । “पहिलो चरणमा, क्षतिपूर्तिका लागि ८२ घरपरिवार स्वीकृत भएका छन्, उनीहरूले अब छिट्टै पैसा पाउँछन् भने बाँकी २ सय ३५ परिवार स्वीकृति पाउने प्रक्रियामा छन्,” हेलम्बु गाउँपालिकाका प्रमुख विष्णुहरि तिमल्सेनाले भने । सीमित साधनस्रोतबाट सम्भव भएसम्म जति सकिन्छ व्यवस्था गरिएको तिमल्सेनाको भनाइ छ । “तर हामीसँग नदी नियन्त्रण गर्न र प्रभावित मानिसहरूलाई पुनस्र्थापना गर्नका लागि एउटा बृहत् योजना आवश्यक छ,” उनले भने । केन्द्रीय सरकारको सहयोगविना स्थानीय निकायबाट त्यो काम हुन नसक्ने उनको भनाइ छ । जलाधार क्षेत्रमा हुने बाढी जोखिमसम्बन्धी वैज्ञानिक तथ्यांकविना कसरी अघि बढ्ने भन्नेबारे हामीलाई केही थाहा हुँदैन ।भगवती नेपाल, उपमेयर, मेलम्ची नगरपालिका राष्ट्रिय निकायका अधिकारीहरूले भने विद्यमान तदर्थवादी व्यवस्थालाई परिवर्तन गरी विपद् बीमाको ढाँचा अवलम्बन गर्ने सोच बनाइरहेका छन् । “गत एक वर्षमा मात्रै हामीले ५ हजार १ सय जनालाई राहत भुक्तानी गर्यौँ,” राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव विपिन आचार्यले बताए, “यस्तै गरिरहने हो भने विपद्पीडितलाई हामी कहिलेसम्म राहत प्रदान गर्न सक्छौँ होला?” अधिकारीहरूका अनुसार उनीहरूले विश्व बैंक र विभिन्न मुलुकमा यस्ता बीमा योजना लागू गरेका अन्य अन्तर्राष्ट्रिय निकायहरूसँग त्यसबारे छलफल गरिरहेका छन् । तर, उनीहरू कुनै सहमतिमा पुगिसकेका भने छैनन् । वैज्ञानिक पाटोमै पछाडि Recommended करिब ३३० वर्ग किलोमिटर क्षेत्रफल रहेको तुलनात्मकरुपमा सानो जलाधारमा असार १, २०७८ का दिन के कारणले गर्दा त्यस्तो भयानक बाढी आयो भन्ने कुरा अझै प्रष्ट भएको छैन । तर विभिन्न घटनाक्रमहरूको शृंखलाको यो एउटा परिणाम हो भन्नेमा वैज्ञानिकहरू सहमत छन् । नदीको किनार भत्किनुका साथै उपल्लो तटमा पहिरो जाँदा ३ हजार ५ सय मिटरको उचाइमा नदी केही बेर थुनियो । यसरी बनेको प्राकृतिक बाँध केहीबेरमा फुट्यो । प्राधिकरण र खानी तथा भूगर्भ विभागले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा ९ करोड घनमिटर थिग्रो माटो (सेडिमेन्ट) सो विपद्का बेला स्थानान्तरण भएको उल्लेख छ । सो बाढीका कारण, थप १ करोड १० लाख घनमिटर क्षेत्र अस्थिर भएको छ र आउने वर्षामा ठूलो पानी पर्दा त्यो भत्किन सक्ने संभावना धेरै रहेकाे विभागका वरिष्ठ भूगर्भविद् शिवकुमार बास्कोटाको ठहर छ । “तल्लो तटमा रहेका समुदायलाई यो एउटा ठूलो खतरा हो,” अध्ययन टोलीका सदस्य समेत रहेका बास्कोटाले भने । मेलम्ची बजारदेखि केही किलोमिटर उत्तरतर्फ रहेको न्वारखोलास्थित बाढीले क्षति गरेको एउटा घर जुन अहिले मेलम्ची नदीको बीचमा परेको छ । (तस्बिर : रमेश भुसाल) कुनै बेला होटेल सञ्चालनमा रहेको यो एउटा घरको वरपरबाट अहिले मेलम्ची नदी बग्ने गरेको छ । (तस्बिर : रमेश भुसाल) स्थानीय प्रशासकीय निकायहरूले सम्भावित जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रका मानिसलाई पुनर्वास गर्ने योजना बनाउनका लागि एउटा अझ बृहत् अध्ययन गर्नुपर्ने माग गरिरहेका छन् । कैयौँ सरकारी तथा गैरसरकारी निकायले त्यहाँ अध्ययन गरिरहेको बताएका छन् तर अहिलेसम्म उनीहरूले त्यहाँको समग्र जलाधार क्षेत्रलाई समेटेर बृहत् अध्ययन भने गर्नसकेका छैनन् । त्यसो गरेमा त्यहाँका समुदायलाई सहयोग पुग्थ्यो । “बाढीले क्षति पुर्याएका ठाउँहरूमा घर बनाउन हुन्छ कि हुँदैन भनी मानिसहरूले हामीलाई सोधिरहेका छन्, तर हामीसँग त्यसको कुनै उत्तर छैन,” मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले बताइन्, “भविष्यमा पनि बाढीले क्षति पुर्याउन सक्छ भनी हामीले कति क्षेत्र खाली राख्ने ? यस प्रकारको वैज्ञानिक तथ्यांक नभएसम्म कसरी अघि बढ्ने भन्नेबारे हामीलाई केही थाहा हुँदैन ।” भावी बाढीको प्रारूप अध्ययन मेलम्ची नगरपालिकाका अधिकारीहरूले विज्ञहरूको एउटा टोली खटाएर बुझाइको सो अन्तरलाई मेटाउने प्रयास गरेका छन् । तर समस्या कुनै एउटा खास ठाउँको मात्र होइन । त्यसैले सम्पूर्ण इन्द्रावती नदी तट समेटेर एउटा समग्र र दीर्घकालीन अध्ययन गर्नुपर्छ जसमा मेलम्ची नदी एउटा अंशको रुपमा समेटिन्छ तर त्यसाे हुन भने सकेकाे छैन । पहाडबाट ४० किलोमिटर तल्लोतटसम्म गेग्य्रान बोकेर आउने बाढीको गतिविधि (डाइनामिक्स) बुझ्न “हामीले एउटा बाढीको मोडेलिङ (प्रारूप) तयार गर्नुपर्छ र भविष्यमा कुन–कुन क्षेत्रमा क्षति पुग्नसक्छ भनी पत्ता लगाएर मात्र समुदायलाई केही भन्नुपर्छ,” त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका इन्जिनियरिङ भूगर्भविद् वसन्तराज अधिकारीको निष्कर्ष छ । उनका अनुसार बाढीसम्बन्धी परम्परागत ढाँचाहरू केवल पानीको मात्रामा आधारित छन् । ठूलो मात्रामा गेग्य्रान बोकेर आउने बाढीको हकमा यो ढाँचाले काम गर्दैन । मेलम्ची बाढीले पनि त्यसैगरी गेग्य्रान ल्याएको थियो । “हामीले आफ्नो मोडेल (प्रारूप) बनाउँदा गेग्य्रानको पक्ष पनि थप्नैपर्छ र त्यस्तो बाढीले कस्तो गतिविधि गर्दो रहेछ भनेर हेर्नुपर्छ, त्यसपछि मात्र पुनर्निर्माणका लागि कुन ठाउँ सुरक्षित छ भनी थाहा हुन्छ,” उनले भने । अधिकारीका अनुसार उनको टोली (सरकारी अध्ययनकर्ताबाहेक) ले यसमा काम गरिरहेको छ तर त्यो काम सकिन समय लाग्छ । आगामी मनसुनको डर अघिल्लो वर्षामा आएको बाढीले सातवटा माेटर गुड्ने पुल र १३ वटा झोलुंगे पुल बगायो । गनिसेदेखि २ किलोमिटर दक्षिणस्थित चनौटेमा रहेको एउटा ठूलो पुलमात्र नेपाली सेनाले पुनर्निर्माण गर्दै छ । अरु कहिले बनाउने हो भन्ने कुनै समयतालिका तोकिएको छैन । अर्को मनसुनबारे अहिलेदेखि नै चिन्तामा रहेका कैयौँ मानिसमध्ये स्वास्थ्यकर्मी पनि हुन् । “वर्षाका बेला धेरै गाउँहरू सम्पर्कविच्छेद हुनेछन् भन्ने लगभग पक्का हो, त्यसैले हामीले जिल्ला स्वास्थ्य कार्यालयलाई वर्षा सुरु हुनुअघि नै अत्यावश्यक औषधिको व्यवस्था गरेर गाउँ–गाउँमा पठाउन भनेका छौँ,” बाढीले क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले भने, “तर त्यसो गरिन्छ कि गरिँदैन भन्ने अहिले थाहा छैन ।” बाढीका कारण विस्थापित भएका गनिसे गाउँका बासिन्दाले शिविरनजिकै गरेको खेती भित्र्याउँदै । (तस्बिर : रमेश भुसाल) राजधानी काठमाडौंस्थित अधिकारीहरूले सडक निर्माणलाई प्राथमिकता दिइने बताएका छन् तर त्यस्ता सरकारी प्रतिबद्धता स्थलगत तहमा कार्यान्वयन नहुने स्थानीयस्तरमा क्रियाशील व्यक्तिहरूको भनाइ छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका आचार्यका अनुसार प्राधिकरणले सडक विभागलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग बैठकहरू गरिरहेको छ तर त्यहाँ जुन स्तरको विपद् आइपरेको छ त्यसका कारण आगामी वर्षातभन्दा पहिले नै सुरक्षाका उपायहरू तयार भइसक्छ भन्नेमा उनी आफू विश्वस्त छैनन् । साथ सहयोगको पर्खाइमा रहेका कैयौँ मानिस दैनिक गुजाराकै लागि संघर्षरत छन् जसले गर्दा उनीहरूले आगामी दिनबारे योजना बनाउने समय नै पाउँदैनन् । कठ्याङ्ग्रिँदो जाडोले उनीहरूको जीवन झनै कष्टप्रद बनाएको छ । “मलाई थाहा छ, अब हाम्रो (गनिसे गाउँका मानिसको) जीवन पहिलेजस्तो कहिल्यै हुनेछैन । अहिले त म भोकमरी र जाडोले हाम्रो ज्यान नजाओस् भन्ने कामना गरिरहेको छु,” परिवारसहित त्रिपालमा बसिरहेका ज्योतिले भने, “मैले त अर्को मनसुनसम्मको कुरा पनि सोचेको छैन । अर्को वर्षापछि फेरि यहाँ आउनु अनि तपाईंले थाहा पाउनुहुन्छ म जिउँदो रहन्छु कि रहन्न ।” थप पढ्नुहोस् आलेख जलवायु अनुकूलन जलवायु परिवर्तनसँग अनुकूलन गर्न सोचेभन्दा निकै बढि खर्च हुनेछ आलेख नदीवेसीन उर्लँदो नदी, काकाकुल जनताः कोशी बेसिन भाग २ आलेख जलवायु प्रभाव तात्दै गरेको पृथ्वीमा बढ्न सक्छ डढेलो र बाढीको प्रकोप : आईपीसीसी आलेख विपद् पृथ्वी 'टिपिङ पोइन्ट' तर्फ उन्मुख रहेको वैज्ञानिकहरूको चेतावनी आलेख वन्यजन्तु एसियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ हुनसक्छ आलेख हिमताल सगरमाथा क्षेत्रका हिमनदीहरूमा न्यानो हुँदै गरेको हिउँदको अर्थ आलेख वन्यजन्तु हिमचितुवा : एकीकृत तथ्यांक नहुँदा संरक्षणमा जटिलता आलेख वायु प्रदूषण कोप–२६ मा रस्साकस्सी, दक्षिण एसियामा विषाक्त वायु शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय