जलवायु तात्दै गरेको पृथ्वीमा बढ्न सक्छ डढेलो र बाढीको प्रकोप : आईपीसीसी जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समितिले दियो निराशापूर्ण चेतावनी । विज्ञ भन्छन्, ‘अझै पनि केही गर्न सकिन्छ ।’ नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। भारतको पश्चिम बङ्गालको तटीय क्षेत्रमा रहेको धामखली गाउँमा मे २८, २०२१ मा आएको बाढी । आईपीसीसीको प्रतिवेदनले जलवायु परिवर्तनका कारण अबका दिनहरूमा यस्ता बाढीहरूको तीव्रता र आवृति बढ्दै जाने बताएको छ । जोयदिप गुप्ता अगस्ट 9, 2021April 10, 2022 हालैका दिनहरूमा संसारभर आएका तातो हावाका लहर, बाढी, हुरीबतास र घटेका डढेलोका घटनाहरूको सङ्ख्या र उग्रता बढ्नुको कारण मानव सिर्जित जलवायु परिवर्तन हो । र, हामीले कार्बनडाइअक्साइड उत्सर्जन घटाएनौं भने स्थिति अझै खराब हुँदै जानेछ भनेर जलवायु परिवर्तनसम्बन्धि अन्तरसरकारी समिति (आईपीसीसी) ले आफ्नो महत्वपूर्ण प्रतिवेदनमा उल्लेख गरेको छ । छैसठ्ठी देशका वैज्ञानिकहरू तथा संयुक्त राष्ट्र संघका सबै सदस्यहरूले अनुमोदन गरेका प्रतिवेदनले यस्तो निराश पार्ने चेतावनी दिएको हो । अगस्ट ९ मा सार्वजनिक गरिएको नीति निर्माताहरूका लागि तयार पारिएको सारांशमा आईपीसीसी कार्य समिति १ भन्छ, हामीले विचार गरेका सबै परिदृश्यहरूमा पृथ्वीको अाैसत तापक्रम कम्तीमा पनि यो शताब्दीको आधा सम्म बढ्ने नै देखिन्छ । आगामी दसकहरूमा कार्बनडाइअक्साइड र अरू हरित गृह ग्यासहरूको उत्सर्जनमा गहिरो कटौती नगरिएमा हामीले तय गरेका १.५ डीग्री सेल्सियस र २ डीग्री सेल्सियस को तापक्रम वृद्धिको सीमा एक्काइसौं शताब्दी मै नाघिने छ । अहिले नै पृथ्वीको तापक्रम औद्योगिकरण पू्र्वको अवस्था भन्दा १.०७ डीसे बढी भइसकेको छ र यसका असरहरू सबैले देख्न सक्ने गरी बाहिर आइसकेका छन् । हालैको दरमा हरितगृह ग्याँस उत्सर्जन भइरहने हो भने शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम तीन डीग्री सेल्सियस बढ्ने प्रक्षेपण वैज्ञानिकहरूले गरेका छन् । सन् २०१५ को पेरिस सम्झौतामा हस्ताक्षर गर्दा सरकारहरूले सके तापक्रम वृद्धिलाइ सके १.५ डीग्री सेल्सियस नसके २ डीग्री सेल्सियसमा सीमित गर्ने प्रतिबद्धता जनाएका थिए । तर हाल संसारभर भइरहेको उत्सर्जनको मात्रा ती प्रतिबद्धताहरूसित मेल खाँदैनन् । पृथ्वी तीन डीग्री सेल्सियसले तातो भए के हुन्छ ? नयाँ प्रतिवेदनमा वैज्ञानिकहरू भन्छन्, जति-जति पृथ्वी तात्दै जान्छ, जलवायु प्रणालीमा आउने परिवर्तनहरू ठूला हुँदै जानेछन् । कुनै कुनै क्षेत्रहरूमा चरम गर्मी, समुद्रमा तातो हावाको लहर, भारी वर्षा, कृषि तथा पारिस्थितिक खडेरी जस्ता घटनाहरू पहिलेभन्दा धेरै पटक र अधिक तीव्रताकासाथ हुनेछन् भने उष्ण क्षेत्रमा झन् तीव्र गतिका चक्रवातहरू देखा पर्नेछन् । उत्तरी ध्रुवमा हिउँ घट्दै जानेछ भने बरफ र पर्माफ्रस्ट पातलिँदै जानेछन् । मनसुनमा निर्भर दक्षिण, दक्षिणपश्चिमी तथा पूर्वी एसियाका लागि जलवायु परिवर्तन एउटा ठूलो चिन्ताको विषय हो । प्रतिवेदन भन्छ, निरन्तर जारी विश्व उष्णिकरणका कारण मनसुन प्रणाली सहितको पृथ्वीको जलचक्र अझ तीव्र रुपमा तलमाथि हुने प्रक्षेपण गरिएकाे छ । साथै कुनै बेला निकै भारी वर्षा हुने त कुनै बेला खडेरी पर्ने हुन सक्ने पनि देखिएको छ । भारतको भूविज्ञान मन्त्रालयले तयार पारेको मनसुनमा आएको परिवर्तनसम्बन्धि रिपोर्टका केही कुराहरू प्रतिवेदनमा परेको भारतीय उष्णदेशीय मौसम विज्ञान संस्थानका वैज्ञानिक तथा प्रतिवेदनका एक लेखक स्वप्न पनिकलले पत्रकारहरूको एक समूहलाई भने । आईपीसीसीको प्रतिवेदनका अनुसार दीर्घकालमा विश्व स्तरमा (अफ्रिकाको सुदूरपूर्व साहेल क्षेत्र बाहेक, विशेष गरी दक्षिण, दक्षिण पूर्वी तथा पूर्वी एसिया र पश्चिम अफ्रिकामा) मनसुन वर्षाको मात्रा बढेर जाने प्रक्षेपण गरिएको छ । उत्तरी र दक्षिणी अमेरिका तथा पश्चिमी अफ्रिकामा मनसुन ढिलो गरी सुरु हुने र पश्चिम अफ्रिकामा ढिलो गरी सकिने प्रक्षेपण गरिएको छ । स्राेत: आईपीसीसी निकास अझै सम्भव छ आईपीसीसी प्रतिवेदन भन्छ, मानव सिर्जित विश्व उष्णिकरणलाई सीमित राख्न वायुमण्डलमा सञ्चित कार्बनडाइअक्साइडको मात्रालाई घटाउनु, शून्य खुद उत्सर्जन हासिल गर्नु र अरू हरितगृह ग्यासहरूको उत्सर्जनमा कटौती गर्नु जरुरी छ । हरित गृह ग्याँस उत्सर्जन कति हुँदा पृथ्वीमा कस्तो असर पर्छ भन्नेबारे वैज्ञानिकहरूले पाँच परिदृश्यहरूको मोडल तयार पारेका छन् । वैज्ञानिकहरूले तयार पारेका यस्ता हरेक परिदृश्य (निकै न्यून उत्सर्जन हुने अनुमान गर्दा पनि) ले यो शताब्दीमा पृथ्वीको तापक्रम १-१.९ डीग्री सेल्सियस वा १-२.६ डीग्री सेल्सियसले बढ्ने देखाउँछ । उनीहरूका अनुसार यतिसम्मको तापक्रम वृद्धि भएमा यसका असरहरूसित जुध्न संसारले अनुकुलन गर्न सक्दछ । कम उत्सर्जन हुने परिदृश्यहरूका बारे आईपीसीसी भन्छ, अस्थायी रुपमा १.५ डीग्री सेल्सियस भन्दा ०.१ डीग्री सेल्सियस माथि गएपनि २१औं शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धि दर १.५ डीग्री सेल्सियसमा फर्कनेछ । मध्यम खालको उत्सर्जन हुने परिदृश्यमा भने पृथ्वीको तापक्रम २-४.५ डीग्री सेल्सियस सम्मले बढ्ने देखिएको छ । आइपीसीसीले भन्दै आए अनुसार, हालैको स्तरमा कार्बनडाइअक्साइड उत्सर्जन रहिरहने हो भने शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम ३ डीग्री सेल्सियसले बढ्नेछ । हालैको स्तरमा कार्बनडाइअक्साइड उत्सर्जन रहिरहने हो भने शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम ३ डीग्री सेल्सियसले बढ्नेछ । कार्बन उत्सर्जन उच्च मात्रामा बढ्ने परिदृश्यमा भने पृथ्वीको तापक्रम ३-७ डीग्री सेल्सियस वा ५-८.५ डीग्री सेल्सियसमा सम्मले बढ्ने देखिन्छ । यस्तो परिदृश्यमा जलवायु परिवर्तनले निम्त्याएका र नियन्त्रण नै गर्न नसकिने असरहरू २० वर्षभित्र देखा पर्न थाल्नेछन् । स्राेत: आईपीसीसीले तयार पारेको उच्च उत्सर्जन परिदृश्य । निवेदनका अनुसार हरेक पटक ०.५डीग्री सेल्सियसले तापक्रम वृद्धि हुँदा स्पष्ट रुपमा यसका असरहरू देखिनेछन् । कतै तातो हावाको लहर चल्दा चरम गर्मी हुनेछ भने कतै भारी वर्षा त कतै खडेरी । हरेक शताब्दीमा एक पटक बढ्ने समुद्री सतह अब कम्तीमा आधाभन्दा बढी क्षेत्रमा वार्षिक रुपमा हुने प्रक्षेपण गरिएको छ । सहरहरूले मानव सिर्जित उष्णिकरणलाई अझै मलजल गरिरहेका छन् । सहरीकरणले चरम गर्मीका असरहरूलाई अझ गम्भिर बनाउनेछ । तटिय सहरहरूमा समुद्र सतह बढ्नु, हुरिबतासका घटनाहरू धेरै हुने र भारी वर्षा कारण बाढी आउने सम्भावना बढेर जानेछ । अक्सफोर्ड विश्वविद्यालयको पर्यावरण परिवर्तन विभागका निर्देशक फ्राइडरिके ओटोले पत्रकारहरूको एक समूहलाई भने, अझै पनि विश्व उष्णिकरणलाई १.५ डीग्री सेल्सियसले मा सीमित राख्न सम्भव छ । सन् २०४० सम्ममा संसारले खुद शून्य कार्बन उत्सर्जन हासिल गरेमा यसो गर्ने दुईतिहाई सम्भावना बाँकी रहन्छ । खुद शून्य २०५० मा हासिल भएमा यस्तो सम्भावना एक-तिहाई रहन्छ । फर्कन नमिल्ने बाटोमा अघि बढ्दै पृथ्वीको वायुमण्डलमा अहिलेजति कार्बनडाइअक्साइड विगतका २० लाख वर्षहरूमा कहिल्यै थिएन । यसका कारण संसारभर पूर्ति गर्न नसकिने क्षति हुँदैछ – हिम नदीहरू माथि सर्दैछन्, समुद्रको सतहमा वृद्धि भइरहेको छ, समुद्रको पानीमा नुन र अम्लको मात्रा बढ्दो छ र समुद्रको सतहमा अक्सिजनको मात्रामा कमी आइसकेको छ । जमिनमा तातो हावाका लहर र अचानक हुने भारी वर्षाको तीव्रता र आवृती बढेको छ भने सन् १९८०को दशकदेखी समुद्रमा आउने तातो हावाको लहरमा आवृती दोब्बर भएको छ । हिन्दुकुश हिमालयमा पर्ने असरपछिल्लो आईपीसीसी प्रतिवेदनले विशिष्ट पारिस्थितिक प्रणालीहरूमा जलवायु परिवर्तन को प्रभाव का बारे मूल्याङ्कन समेत गरेको छ। हिन्दुकुश हिमालय बारे, रिपोर्ट भन्छ:• २१औं शताब्दीको सुरुदेखि सतही हिउँको मात्रा घट्दै गएको छ, र सन् १९७० को दशकदेखि हिमनदीहरु पातलिँदै पछाडि सरेका छन् र द्रुत गतिमा लोप भएका छन् । यद्यपि काराकोरम हिमालमा हिमनदीहरु थोरै मात्रामा भए पनि बढेको छ वा तिनीहरू लगभग सन्तुलित अवस्थामा छन् ।• २१ औं शताब्दीको दौरान हिउँले ढाकिएको क्षेत्र र हिउँको मात्रा घट्नेछ, हिउँको रेखा माथि सर्नेछ र उच्च हरितगृह ग्यास उत्सर्जन परिदृश्यहरू चरितार्थ भएमा हिमनदीहरूको पिण्ड ठूलो मात्रामा घट्ने सम्भावना छ।• बढ्दो तापमान र वर्षाले हिमतालहरू फुट्न सक्छन् र बाढी र पहिरो जान सक्छ । दक्षिण, पूर्वी र पश्चिमी अफ्रिका माथि रहेको वायु प्रदूषणको बादलले पछिल्लो शताब्दीमा मनसुन वर्षामा आएको वृद्धिका कारण हुनसक्ने तापक्रम वृद्धिलाई केही हदसम्म रोकेको थियो । तर यस क्षेत्रका देशहरूले प्रदूषणको मात्रा घटाउँदै गर्दा (उनीहरूले स्वास्थ्यका दृष्टिकोणले समेत यसो गर्न जरुरी छ) क्लाउडबर्सट (अचानक हुने भारी वर्षा) को सम्स्या विकराल बन्ने चेतावनी प्रतिवेदनले दिएको छ । अहिले नै यो क्षेत्रमा शक्तिशाली चक्रवातहरू देखिन थालिसकेका छन् । हावा धेरै चल्ने स्थितिमा दुई वा दुई भन्दा बढी चरम मौसमी घटनाहरू (जस्तै तातो हावाको लहर, खडेरी र डढेलो) एकैसाथ घट्न सक्ने आईपीसीसीले जनाएको छ । एसियामा प्रभावआईपीसीसीले पहिलो पटक जलवायु परिवर्तनको प्रभावको क्षेत्रीय मूल्याङ्कन गरेको छ। एसियाका बारे रिपोर्ट उच्च विश्वासका साथ भन्छ:साझा क्षेत्रीय परिवर्तनहरू• सन् १८५०-१९०० बीचको अवधिको तुलनामा औसत तापक्रम बढेको छ । अत्यधिक गर्मी बढेको छ भने चिसो घटेको छ । यी प्रवृत्तिहरू आउँदा दशकहरूमा जारी रहनेछन् ।• एसियाभर वर्षामा वृद्धि हुनेछ ।• पृथ्वी सतहमा बहने हावाको औसत गति घटेको छ।• हिमनदीहरु घट्दै गएका छन् र पर्माफ्रोस्ट पग्लदै छन् । हिउँ पर्ने अवधि, हिमनदीको पिण्ड र पर्माफ्रोस्ट क्षेत्र २१औं शताब्दीको मध्यमा अझ घट्नेछ । • एसियाभर समुद्री सतह संसारभरको औसत भन्दा छिटो दरले बढेको छ । क्षेत्रीय तहमा समुद्री सतह बढ्ने क्रम जारी रहनेछ।एसियाली मनसुन● २० औं शताब्दीको दोस्रो भागमा दक्षिण र दक्षिणपूर्व एसीयाली मनसुन कमजोर भएको छ । २०औं शताब्दीको मध्यदेखि नै दक्षिण र दक्षिणपूर्व एशियाली मनसुन वर्षामा देखिएको कमीको प्रमुख कारण मानव निर्मित एरोसोलहरू हुन् ।● हरितगृह ग्यास र एरोसोलहरुका कार उत्तरमा कम र दक्षिणमा बढी पानी पार्ने गरी पूर्वी एसियाली मनसुनमा परिवर्तन आएको छ ।तिब्बती पठार● हिन्दुकुश हिमालय क्षेत्रका धेरैजसो ठाउँमा हिउँको मात्रा २१औं शताब्दीको सुरूवात देखि नै कम हुँदै आएको छ, र हिमनदीहरू पछाडि सरेका छन् । तिनीहरूले सन् १९७० को दशकपछि निकै पिण्ड गुमाएका छन्। ● काराकोरम क्षेत्रका हिमनदीहरू सन्तुलित स्थितिमा छन् वा तिनीहरूको पिण्ड थोरै बढेको छ । २१औं शताब्दीको दौरान हिन्दुकुश हिमालयका धेरै भागमा हिउँले ढाकिएको क्षेत्र र हिउँको मात्रा दुवै घट्नेछन् र हिम रेखामाथि सर्नेछन् ।● एक्काइसौं शताब्दीमा पूरै तिब्बती पठार र हिमालयमा हुने वर्षाको मात्रामा वृद्धि हुने अनुमान गरिएको छ । दक्षिण एसिया● २१ औं शताब्दीको दौरान तातो हावाको लहर र आद्रता धेरै हुने गर्मीको तीव्रता र आवृति बढ्नेछ । (वैज्ञानिकहरूले मध्यम विश्वासका साथ यसो भनेका छन् )● वार्षिक रुपमा पर्ने र मनसुनमा पर्ने पानीको मात्रा बढेर जानेछ र एक वर्षको तुलनामा अर्को वर्ष पर्ने पानीको मात्रा फरक हुनेछ ।दक्षिण पूर्वी एसिया● भविष्य हुने उष्णकिरण विश्व औसतभन्दा कम हुनेछ।● जलवायु परिवर्तन र स्थानीय मानवीय क्रियाकलापको मिश्रित प्रभावका कारण मेकङ डेल्टामा बाढीको सम्भावना उच्च देखिन्छ ।● यस क्षेत्रमा चक्रवातहरूको समग्र संख्या मा कुनै महत्वपूर्ण दीर्घकालीन प्रवृत्ति देखिएको छैन । तर, यहाँ आएका थोरै चक्रवातहरूले ठूला प्रभावहरू पारेका छन् ।पूर्वी एसिया• भारी वर्षाको तीव्रता र आवृतिमा वृद्धि भएको छ । केही पहाडी क्षेत्रहरुमा लगातार भारी वर्षा भएका कारण पहिरो जाने सम्भावना देखिन्छ । नीतिगत प्रश्नहरू आईपीसीसीका अध्यक्ष दक्षिण कोरियाका होइसुङ लीले प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा भने, ‘हामीले छाेटो समयमा ठूलो स्तरमा हरितगृह ग्याँसहरूको उत्सर्जन घटाएनौँ भने विश्व तापक्रम वृद्धि दरलाई १.५ मात्र नभएर २ डीसेमासमेत सीमित गर्ने काम हाम्रो क्षमताभन्दा पर पुग्नेछ ।’ कार्यसमिति १ की सहअध्यक्ष चीनकी पानमोआ झाईले भने, ‘जलवायुलाई स्थायित्व दिन हरितगृह उत्सर्जनलाई छिटो घटाउनु र खुद शून्य उत्सर्जन हासिल गर्नु जरुरी छ । हरितगृह ग्यासहरू तथा मिथेन जस्ता वायु प्रदूषकहरूको मात्रालाई घटाउन सके मात्र पनि स्वास्थ्य र जलवायुका लागि फाइदाजनक हुने थियो ।’ प्रतिवेदनले नोभेम्बर महिनामा संयुक्त अधिराज्यको ग्लास्गो सहरमा आयोजना हुने तय गरिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको शिखर सम्मेलनमा हुने छलफललाई असर पार्ने देखिन्छ । शिखर सम्मेलनका अध्यक्ष आलोक शर्माले भने, सबै देश, सरकार, व्यापारीहरूर र समाजलाई हाम्रो सन्देश सरल छ । आउने दशक महत्वपूर्ण छ, विज्ञानले भनेको मानौं र १.५ डीसे को लक्षलाई भेट्टाउन आ-आफ्नो दायित्व पूरा गरौं । हामी एकजुट भएर यसो गर्न सक्छौं । शताब्दीको अन्त्यसम्ममा खुद शून्य उत्सर्जन हासिल गर्न हामीले २०३० का लागि महत्त्वाकाङ्क्षी उत्सर्जन न्यूनीकरण लक्ष्यहरू तय गर्नुपर्छ । त्यस्तै कोइलाबाट बिजुली उत्पादन गर्ने कामलाई अन्त्य गरौं, बिजुली गाडीहरूलाई छिटोछिटो बजारमा ल्याऔँ, वन फडानीविरुद्ध कदम चालौं र मिथेन उत्सर्जन घटाऔं । स्राेत : आईपीसीसी सोलार अलायन्सका महानिर्देशक अजय माथुर भन्छन्, ‘संसारभर हुने कुल उत्सर्जनको ७३ प्रतिशत उर्जा क्षेत्र (पावर, ताप र पारवहन) बाट आउँदछ । यसै कारण हामीले आफ्नो बढ्दो उर्जाको मागलाई पूरा गर्दा कार्बन डाइअक्साइड उत्सर्जन नथपी गर्नु परेको छ । सौर्य उर्जाले सबै देशहरूका लागि एउटा सहज समाधान प्रदान गर्छ ।’ ढाकामा रहेको जलवायु परिवर्तन तथा विकास केन्द्रका निर्देशक सलिम हकले भने, जी २० देशहरूले आफ्नो काम गराईमा परिवर्तन ल्याउन जरूरी छ र शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धिलाई १.५ डीसे सीमित गर्नका लागि गरेका प्रतिबद्धताहरूसँग मिल्ने नीतिहरू निर्माण गर्नुपर्छ । अल्पविकसित राष्ट्रहरूको समूहका अध्यक्ष भुटानका सोनाम पी वाङ्दीले भने, कोप २६ (राष्ट्र संघीय जलवायु सम्मेलन) सम्ममा विकसित देशहरूले दशकौं अघि जलवायु परिवर्तनको मारमा परेका देशहरूलाई दिने भनेको १०० अर्ब डलर दिनुपर्छ र उनीहरूको आवश्यकता अनुसार यो रकम बढाउँदै जानुपर्छ । वर्ल्ड रिसोर्सेस इन्स्टिच्युटकी जलवायु परिवर्तनसम्बन्धी निर्देशक उल्का केलकरले भनिन्, ‘प्रतिवेदनमा उल्लेख गरिएका भविष्यवाणी साँच्चिकै चरितार्थ भएमा मानिसहरू तातो हावाको लहर चेलको बेला काम गर्न बाध्य हुनेछन् । त्यस्तै जाडो महिनामा लगाइने बालीलाई रातमा तापक्रम नघट्दा असर पर्नेछ । मनसुनमा आउने बदलावका कारण गर्मी याममा लगाइने बालीमा असर पर्नेछ । बाढी र हुरीबतासका कारण बिजुलीको आपूर्तिमा असर पर्नेछ र खानेपानी र अस्पतालमा प्रयोग हुने अक्सिजनको आपूर्तिसमेत प्रभावित हुनेछ । भारतीय उष्णदेशीय मौसम विज्ञान संस्थानका वरिष्ठ वैज्ञानिक रोक्सी म्याथ्यु कोल भन्छिन्, ‘हामीले तुरुन्तै यी अनुमानित परिवर्तनहरूका आधारमा जोखिमको नक्सा तयार पार्न आवश्यक छ, तर भारतमा हामीले देखिआएका परिवर्तनहरूमा आधारित भएर देशव्यापी जोखिम मूल्याङ्कन गरेका छैनौं । हामीले हाम्रा सहरहरूलाई पुन:डिजाइन गर्न आवश्यक हुन सक्छ। कुनै पनि प्रकारको विकास गर्दा यी जोखिमहरुको मूल्याङ्कनको आधारमा योजना बनाइनु पर्छ–चाहे यो एक्सप्रेसवे होस्, सार्वजनिक पूर्वाधार होस् वा खेत वा घर नै । थप पढ्नुहोस् आलेख वार्ता As COP26 draws closer, climate negotiations are still stuck on finance एक्सप्लेनर जलवायु न्युनिकरण Explainer: The disappearing glaciers of the Himalayas आलेख जलवायु प्रभाव Bone-dry Afghanistan stares at future famines आलेख जलविद्युत Vietnam struggles to find solutions for extreme dry seasons in Mekong delta आलेख वनफडानी पुस्तक समीक्षा- बुद्धको पदचाप : एसियाको वातावरणीय इतिहास आलेख वन्यजन्तु नेपालको ‘सर्वोत्कृष्ट’ राष्ट्रिय निकुञ्जको संरक्षण सफलतापछाडिकाे तिताेमिठाे यथार्थ आलेख वन्यजन्तु वन्यजन्तुु व्यापार शुरु गर्ने नेपालको याेजना, चिनियाँ कम्पनीहरुकाे दाैडधुप आलेख काेइला बङ्गलादेशमा हिंसाद्वारा चिनियाँ कोइला प्लान्टको विरोध दबाउँदै राज्य शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय