संसारका कैयौँ मानिसले जीवनमा एकपटक ८,८४९ मिटर अग्लो सर्वोच्च शिखरमा पाइला राख्ने सपना साँचेका हुन्छन् । ५,३६४ मिटर उचाइमा अवस्थित सगरमाथा आधारशिविरसम्म पुग्ने मौका पनि धेरै कमले मात्र पाउँछन् । आरोही कामिरिता शेर्पाका लागि भने सगरमाथा आरोहण एउटा नियमित कामजस्तै हो । विगत दुई दशकभन्दा बढी समयदेखि उनले वर्षमा कहिले दुई पटक त कहिले तीन पटकसम्म सगरमाथा चढेका छन् ।
सगरमाथा क्षेत्रमै रहेको शेर्पा गाउँ थामेमा जन्मेका कामिरिताले १२ वर्षको उमेरदेखि नै ट्रेकिङ कम्पनीका लागि भरियाका रुपमा काम गर्न थालेका थिए । सन् १९९४ मा २४ वर्षको उमेरमा कामिरिताले पहिलोपटक सगरमाथा शिखर चुमेका थिए । हाल ५२ वर्षका उनले यसै वर्ष सगरमाथाको २६औँ पटक आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।
नेपाल सरकारले सगरमाथा आधारशिविरलाई केही तल सार्न लागेको चर्चा भइरहेको छ । आधारशिविर भएको ठाउँमा हिउँ पग्लिने दर बढेकाे लगायतका जलवायु परिवर्तनजन्य जोखिम बढिरहेको र आरोहीहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको भनी आधारशिविर सार्न लागिएको बताइएको छ । तर कामिरिता भने सो योजनालाई त्यहाँको वस्तुगत तथ्यले पुष्टि नगर्ने बताउँछन् ।
सगरमाथा आधारशिविर सार्ने सरकारको योजनाबारे तपाईंको धारणा के छ ?
आधारशिविर सार्नुपर्ने कुनै जायज कारण छैन । जलवायु परिवर्तनले के आधारशिविरलाई मात्र असर गरेको छ र ? (सगरमाथा आराेहण गर्ने मार्गमा रहेका) अन्य शिविरको स्थिति के छ त ? ति शिविरलाई कहाँ सार्ने ? जलवायु परिवर्तनले यदि आधारशिविरलाई प्रभावित गरेको छ भने के तीव्ररुपमा हिउँ पग्लिँदा अरु शिविरमा पनि जोखिम बढेको छैन त ?
आधारशिविर सार्ने हो भने त्यहाँ सबैकुरा अस्तव्यस्त हुन्छ । लामो अनुभव र व्यावहारिक पक्षलाई हेरेर र अहिलेको स्थानलाई एउटा उचित स्थानको रुपमा ठहर्याएर त्यहाँ राखिएको हो । आधारशिविरलाई यदि अहिलेको ठाउँबाट केही तल मानिलिऊँ गोरखशेप (करिब ५,१५० मिटर) मा सारियो भने त्यो ठाउँ अहिलेको आधारशिविर पुग्नुअघि केहीबेर रोकिने अर्को एउटा ठाउँ मात्र बन्नेछ किनभने नयाँ आधारशिविरबाट पहिलो क्याम्प (६,१५० मिटर) सम्म हिँडेर एकदिनमा पुग्न लगभग असम्भव नै हुनेछ । बीचमा बस्नका लागि अहिलेको आधारशिविरबाहेक अरु उचित ठाउँ छैन । त्यसैले त्यो अर्को एउटा शिविर थपिने मात्र हो । वैकल्पिक शिविर बन्नसक्दैन ।
तर सरकारी पक्षले त अहिलेको ठाउँ निकै जोखिमपूर्ण बन्दै छ, त्यसैले आरोही र आरोहण टोलीलाइ सुरक्षित गर्नका लागि सार्न लागेको भनिरहेको छ ?
आधारशिविर असुरक्षित वा कम सुरक्षित भएको छ भन्ने मलाई त पटक्कै लाग्दैन । शिखरतर्फ जानुअघि तयारीका क्रममा बस्नका लागि सबैभन्दा सुरक्षित विन्दु नै त्यही हो र त्यसवरपर त्योभन्दा उपयुक्त अरु कुनै पनि ठाउँ छैन । यदि तपाईं त्यसभन्दा अलिकति तल झर्नुहुन्छ भने त्यो ठाउँ झनै खतरनाक छ । अहिलेको आधारशिविर खुम्बु हिमनदीको तल पर्छ, त्यहाँबाट अलिकति तलतिर जाँदा पुमोरी हिमालको फेदीतिर पुगिन्छ । त्यही ठाउँमा २०७२ सालको भूकम्पका बेला हिमपहिरो जाँदा कैयौं आरोही र शेर्पाहरूको ज्यान गएको थियो ।
त्यसभन्दा अझै तल तीन किलोमिटर दक्षिणतर्फ जाँदा गोरखशेपतर्फ (जहाँ एउटा समथर ठाउँ छ) पुगिन्छ । त्यहाँ कसरी पानी आपूर्ति गर्ने ? त्यहाँ नजिकै पानीको स्रोत नै भेटिँदैन । यदि हिउँ पगालेर पिउने हाे भने पनि हिउँ पाइने ठाँउमा पुग्नका पनि एक घण्टा हिँड्नुपर्छ । अहिलेको आधारशिविरमा हिमनदीबाट पग्लेको पानी पाइन्छ । त्यस्तो पानी पाइएन भने पनि हिउँका ढिक्का (आइस) फुटाएर अनि पगालेर पानी पिउन सकिन्छ । नियमित पानी आपूर्ति हुने व्यवस्था छैन भने हिमनदीहरू भएको ठाउँभन्दा तलतर्फ शिविर राखेर आरोहण सञ्चालन गर्नु लगभग असम्भव नै हुन्छ । आरोही, भरिया र सहयोगी स्टाफलगायत गरी १५ सयभन्दा बढी मानिसलाई दुई महिनाभन्दा बढी समय त्यहाँ राखेर खुवाउनका लागि प्रत्येक दिन ठूलो मात्रामा पानी चाहिन्छ ।
पहिलो शिविरदेखि चौथोसम्मको सगरमाथा आरोहण मार्ग खुम्बु हिमनदीमा पर्छ । विश्व तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) का कारण तीव्ररुपमा हिउँ पग्लिँदा हिमनदीहरू सुक्दै तथा खुम्चिँदै गएको अध्ययनहरूले देखाएका छन् । यसबाट आरोहणमा कस्तो प्रभाव परेको छ ?
तीव्ररुपमा हिउँ पग्लिँदै गएपछि हिमालमा चट्टानहरू सतहमा देखिन्छन् । हिउँले छोपिएको सतहमा हिँड्नभन्दा त्यस्ता चट्टानमा हिँड्न बढी कठिन हुन्छ । हिउँ पग्लेपछि चट्टानहरू खसेर मानिसलाई आराेहीहरुलाइ घाइते बनाउने वा ज्यानै जाने सम्भावना पनि बढ्छ । गत दुई दशकको अवधिमा धेरै चट्टानहरू देखिन थालेको र आरोहणमा चढ्नुपर्ने चट्टानको लम्बाइ नै वृद्धि भएको मैले देख्दै आएको छु । मैले सगरमाथा आरोहण गर्न थाल्ने बेला तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो । अहिले त्यहाँ ७० मिटरभन्दा बढी चट्टान छ ।
त्यसैगरी, ७,३०० मिटर उचाइमा एउटा ठाउँ छ जसलाई जेनेभा स्पर भनिन्छ (भ्यात्त बसेको चट्टान) । त्यहाँ पनि अहिले धेरै चट्टान बाहिर सतहमै निस्केको छ । शिखरतर्फ उक्लनुअघि आरोहीले केहीबेर आराम गर्ने बाल्कोनी भन्ने ठाउँ र चौथो शिविरको बीचमा एउटा त्रिकोणात्मक ठाउँ छ । त्यहाँनेर १०० मिटरजति चट्टान चढ्नुपर्थ्यो, अहिले करिब १३० मिटर छ । शिखरनजिकै रहेको हिलारी स्टेप पनि निकै चट्टानयुक्त छ । अहिले त्यहाँको चट्टानको लम्बाइ पनि बढेको छ ।
तपाईं सगरमाथा चढ्न लागेदेखि अहिलेसम्म अरु के–केमा परिवर्तन देखिरहनुभएको छ ?
निकै धेरै । सगरमाथामा हिउँको मात्रा सन् १९९४ मा म पहिलोपटक चढ्ने बेलाभन्दा अहिले कम छ । हिउँ पग्लिने क्रम निकै तीव्रदरमा बढिरहेको छ र यो क्रम माथि–माथि सरिरहेको छ । त्योभन्दा ठूलो समस्या के भने वर्षा र हिमपात हुने समयमा अनियमितता देखिएको छ । सन् १९९४ मा र त्यसपछि केही वर्ष अप्रिल महिनाको अन्तिमताका आरोहण सुरु गर्दा आधारशिविरमै पग्लिएको पानी पिउनु सामान्य थिएन । हामीले हिउँका ढिक्का फोरेर अनि पगालेर पिउँथ्यौँ । अहिले त आधारशिविरमा मात्र होइन, दोस्रो शिविरमा पनि पग्लिएकै पानी पाइन्छ । यसै वर्ष अप्रिलमा पनि हामीले दोस्रो शिविरमा पानी भेट्यौँ । अहिले त मलाई दोस्रो शिविर नै नयाँ आधारशिविर जस्तो लाग्छ ।
आधारशिविर सार्ने प्रस्ताव ठीक होइन भने सगरमाथा आरोहणलाई सुरक्षित र आकर्षक बनाउन सरकारले केचाहिँ गर्नुपर्छ भन्ने लाग्छ तपाईंलाई ?
आधारशिविर सार्ने निर्णय गरियो भने त धेरै आरोही चीनतर्फ सर्नेछन् । नेपालतर्फबाट सगरमाथा चढ्न अहिले नै बढी महंगो र चुनौतीपूर्ण छ । चीनको तिब्बततर्फबाट आरोहणका लागि निकै धेरै सुविधा छन् । त्यसैले दक्षिणतर्फबाटभन्दा उत्तरतर्फबाट सगरमाथा आरोहण बढी सहज छ । चीनले आधारशिविरसम्मै बिजुली र सडक पुर्याएको छ । ६,५०० मिटरसम्म याकमै जानसकिन्छ । (लामो मार्ग बनाएर) आरोहीको अवधिलाई अनावश्यक लम्ब्याउँदै जाने हो भने सगरमाथा चढ्न चाहनेहरू नेपालतर्फ नै किन आउँछन् र ?
समाचारका शीर्षक बन्ने कुराहरू गरेर मात्र समस्याको वास्तविक समाधान हुँदैन ।
आधारशिविर सार्नुको साटो सरकारले त्यही पैसाले शिविरसम्म बिजुली उपलब्ध गराउनसक्छ ता कि अहिले खाना पकाउन प्रयोग भइरहेको ग्यासको मात्रा घटाउन सकियोस् ! (आरोही र उनीहरूसँगका टोलीले प्रयोग गर्ने ग्यास सिलिन्डर खुम्बु क्षेत्रमा हिउँ पग्लनुको एउटा कारकको रुपमा देखिएको छ ।) काठमाडौंदेखि यात्रा सुरु गरी आरोहण सम्पन्न गरेर फर्किँदा करिब साढे दुई महिना लाग्छ । त्यसमध्ये अधिकांश समय आधारशिविरमै बस्नुपर्छ । बिजुली उपलब्ध गराउन सके ग्यासको प्रयोग कम गर्न सकिन्छ ।
दोस्रो, सरकारले त्यो पैसा सबै आरोही टोलीलाई फोल्डिङ ट्वाइलेट उपलब्ध गराउनका लागि लगानी गर्नसक्छ । त्यो प्रयोग गरेबापत सरकारले पैसा पनि लिनसक्छ । त्यसो भएमा हामीले हरेकपटक त्यस्ता ट्वाइलेट बोकेर जानुपर्दैन । त्यसैगरी सरकारले भरपर्दो मौसमसम्बन्धी जानकारी दिन र (आरोहीले छाड्ने फोहोर) सरसफाइमा थप प्राथमिकताका साथ लगानी गर्नसक्छ ।
सगरमाथा आरोहण मार्गमा स्थायी शौचालय छैनन् । त्यहाँ क्रियाशील सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक गैरसरकारी संस्थाले यसको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
अहिले आरोहण सञ्चालक कम्पनीहरूले निला प्लास्टिकका ड्रमहरू शौचालय पालमुनि राखेर प्रयोग गर्ने गर्छन् । मलमूत्रले भरिएपछि भरियाले तिनलाई बोकेर तलतिर कतै डम्पिङ साइटमा लगेर फ्याँक्छन् ।
समाचारका शीर्षक बन्ने कुराहरू गरेर मात्र समस्याको वास्तविक समाधान हुँदैन । सुरक्षित आरोहण गर्ने वातावरणको सिर्जना गर्न र हिमालको संरक्षण गर्नका लागि धेरै राम्रा कामहरू गर्न सकिन्छ तर आधारशिविर सार्नेजस्तो सजिलो उपाय अपनाउनु भनेको समयको बर्बादी मात्रै हो ।
कार्बन उत्सर्जनका कारण हिमालमा हिउँ पग्लिने क्रम तीव्ररुपमा बढिरहँदा पनि कार्बन उत्सर्जन कम गर्न निकै कम सक्रियता देखाइरहेको विश्वसमुदायलाई तपाईंको के सुझाव छ ?
हिमाल शेर्पा वा नेपालीका मात्र होइनन् । (हिउँ पग्लिँदै जाँदा) यसबाट शेर्पामात्र प्रभावित हुने होइन वा नेपालले पर्यटनबाट आउने राजस्व गुमाउने मात्र पनि होइन । यो त अर्बौँ मानिसको पानीको स्रोत हो । यो विश्वकै सम्पदा हो । यो मासियो भने हामी पनि रहँदैनौँ । सेता हिमाल कायम राख्नका लागि कारखाना, जहाज र गाडीबाट हुने कार्बन उत्सर्जन कम गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो भन्ने मलाई लाग्छ ।
कुनै दिन पिउने पानी नभएका कारण हामी मर्ने दिन आउँछ भनी दलाई लामाले भनेको म सम्झिन्छु । त्यस्तो समय छिट्टै आउँछ कि जस्तो लाग्न थालिसक्यो । यसबारे गम्भीररुपमा सोच्न र तत्काल समाधानका लागि पहलकदमी लिन म विश्व समुदायसँग आग्रह गर्दछु । म एक जना आरोहीले त हिमालको अवस्था कस्तो छ भनी आममानिसलाई जानकारी गराउनेबाहेक धेरै के नै गर्न सक्छु र !
म के मात्र भन्न चाहन्छु भने हिमालबाट हिउँ हराउँदै छ । अनुभवमा आधारित यो मेरो जानकारी हो । यसबारे के निर्णय लिने त्यो यहाँहरूमै भर पर्छ ।