जलवायु व्याख्याः हिमाली क्षेत्रमा बाढीको समस्यामाथि वन डढेलोले थपेको जटिलता दक्षिण एसियाका पहाडी क्षेत्रमा बढ्दाे वनडढेलोले जंगलको माटो बिगार्नुका साथै खतरनाक बाढी निम्त्याउने गरेको छ नेपाली नेपाली हिन्दी বাংলা English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। डढेलो लाग्नुअघि र पछिको दुई प्रकारको माटो । जसमध्ये एउटामा स्वस्थ जमिनले कसरी पानी सोस्न सक्छ र अर्कोमा आगोले डढाएपछि माटो कति कडा बन्छ भन्ने देखिन्छ । (इलस्ट्रेसनः न्युट्रन टी / द थर्ड पोल) करण आनन्द ज्यानवरी 17, 2023January 25, 2023 हिमाली क्षेत्रमा जलवायु परिवर्तनका सबैभन्दा स्पष्ट देखिने दुईवटा लक्षण वन डढेलो र बाढी हुन् । यी दुई विषय तपाईंले सोचेभन्दा बढी आपसमा जोडिएका छन् । गत २० वर्षमा हिमाली क्षेत्रमा बाढीका घटना बढ्नुको एउटा प्रमुख कारण ठूला वन डढेलो हुन् भन्ने विज्ञहरूको ठहर छ । यस्काे सम्बन्ध, यसलाई विज्ञहरूले किन ‘खतरनाक दुश्चक्र’ भन्छन्, र यसका सम्भावित समाधान के हुनसक्छन् भन्नेबारे हामीले व्याख्या गरेका छौँ । हिमाली भेगमा वन डढेलो ग्लोबल फरेस्ट फायरको तथ्यांकअनुसार सन् २००१ देखि २०२१ सम्म हिमालय शृंखलामा ३५ हजार हेक्टरभन्दा बढी रुखले ढाकेको क्षेत्र डढेलोले ध्वस्त बनायो । (यो तथ्यांकमा भारत र पाकिस्तानका हिमाली क्षेत्रमा र नेपाल र भुटानमा फैलिएका डढेलोलाई समेटिएको छ ।) यी तथ्यांक केलाउँदा अघिल्लो दशकको तुलनामा सन् २०११ देखि २०२० सम्म १.४ प्रतिशत बढी जंगलमा आगलागी भएको देखिन्छ । त्यसभन्दाअघिल्लो दशकमा ७२ लाख हेक्टर जंगल जलेकोमा यस अवधिमा भने ७३ लाख हेक्टर जंगल डढेलोले नष्ट पारेको थियो । यस सम्बन्धमा विस्तृत तथ्यांक प्राप्त गर्न त कठिन छ तर हिमालय क्षेत्रमा पछिल्ला केही वर्षयता वन डढेलो निकै बढेकाे संकेत भने पर्याप्तमात्रामा पाइन्छन् । नोभेम्बर २०२० देखि मार्च २०२१ बीचको डढेलोको समय सन् २०१२ यता नेपालले भोगेको सबैभन्दा डरलाग्दो अवधिको रहेकाे अधिकारीहरूको ठहर छ । त्यसैगरी, पाकिस्तानको उत्तरी क्षेत्रमा गत वर्ष जुन संख्यामा डढेलो लाग्यो त्यति धेरै डढेलोको घटना भएको पहिले कहिल्यै नसुनिएको त्यहाँका अधिकारीको भनाइ छ । डिसेम्बर २०२१ देखि मे २०२२ सम्म जारी गरिएका फायर एलर्ट (आगजनी सूचना) । हिमालय क्षेत्रमा प्रायः नोभेम्बरदेखि जुन महिनासम्मलाई आगलागीको मौसमको रुपमा लिइन्छ र मार्च र अप्रिल महिनालाई उच्च जोखिमको समय मानिन्छ । (स्रोतः ग्लोबल फरेस्ट वाच) “संसारभरकै अवस्था हेर्दा के देखिन्छ भने जलवायु परिवर्तनका कारण झन्–झन् गर्मी र अझ बढी सुख्खा हुँदै जाँदा डढेलोको जोखिम बढ्ने देखिन्छ,” ग्लोबल फरेस्ट वाचका अनुसन्धान विश्लेषक जेम्स म्याक्कार्थीले भने, “पश्चिम हिमालय शृंखलाको उच्च भूभागमा पनि डढेलाेका घटना बढ्दै गएको हुँदा त्यस क्षेत्रमा डढेलो अझ व्यापकरुपमा फैलिन सक्छ । केही तथ्यांकले त अहिले नै त्यसतर्फ संकेत गरिसकेका छन् ।” जलवायु परिवर्तन र वन प्रशासनको संयोजनमा वन डढेलोको संख्या निर्भर रहने विज्ञहरूको भनाइ छ । बदलिँदो वर्षाको स्वरुप यसको सबैभन्दा ठूलो कारण हो भन्ने गंगा नदी र हिमालय क्षेत्रको संरक्षणमा क्रियाशील गंगा आह्वान आन्दोलनका संयोजक हेमन्त ध्यानीको बुझाइ छ । “हिउँदमा पर्ने पानी निकै कम भएको छ,” ध्यानीले भने, “माटो सुख्खा बनिरहेको छ । पहिले डढेलो लाग्दा जहाँ एक हेक्टरसम्म फैलिन्थ्यो, त्यहाँ अहिले ५ देखि १० हेक्टर टाढासम्म फैलिने गरेको छ किनभने माटोमा आजकल शीत वा चिसोपन नै छैन, जसले आगोलाई फैलिनबाट रोक्थ्यो ।” पहिले डढेलो लाग्दा जहाँ एक हेक्टरसम्म फैलिन्थ्यो, त्यहाँ अहिले ५ देखि १० हेक्टर टाढासम्म फैलिने गरेको छहेमन्त ध्यानी, गंगा आह्वान आन्दोलन हिमालय क्षेत्रमा किसानलाई प्रविधि उपलब्ध गराउने भारतीय गैरसरकारी संस्था (एनजीओ) हिमालयन इनभायरनमेन्टल स्टडिज एन्ड कन्जरभेसन अर्गनाइजेसनका संस्थापक अनिल प्रकाश जोशीले चरम गर्मीका कारण पनि डढेलोका घटना बढेको बताए । चरम गर्मीमा कुनै ठाउँ बढी तातो र सुख्खा बन्ने हुँदा डढेलो लाग्ने सम्भावना बढ्ने मात्र नभई रुखका पात पनि धेरै झर्ने र त्यसका कारण आगो झनै व्यापकरुपमा फैलिने जोशीले बताए । Recommended उत्तराखण्डको देहरादूनस्थित पिपल्स साइन्स इन्स्टिच्युटका संस्थापक निर्देशक रवि चोपरा याे समस्या सिर्जना गर्नमा कमजोर वन प्रशासन बढी दोषी रहेको बताउँछन् । वन पञ्चायत प्रणाली कमजोर भएसँगै स्थानीय समुदायहरूलाई वनबाट पाखा लगाइएको उनको भनाइ छ । भारतमा बीसौँ शताब्दीको सुरुदेखि नै यी गाउँ परिषद्ले आआफ्ना गाउँवरपर रहेका वनका मामिला आफैँले सम्हाल्ने गर्थे । वनजन्य स्रोतमाथि स्थानीयकै नियन्त्रण हुन्थ्यो । तर विगत १०० वर्षमा कैयौँ नयाँ कानुनी प्रावधान थपियो । नयाँ कानुनले पुरानो प्रणालीलाई कमजोर बनायो र त्यसबारे निर्णय गर्ने अधिकार वन विभागका अधिकारलाई सुम्प्यो । “आजकल, वनमा डढेलो लाग्दा गाउँलेहरू आगो नियन्त्रण गर्ने काम सरकारको हो भनेर बस्छन्… उनीहरूले वनप्रति कुनै अपनत्व नै महशुस गर्दैनन् । पहिले पहिले वनमा डढेलो लाग्नासाथ गाउँलेहरू हातहातमा बाल्टीमा पानी बोकेर आगो निभाउन दौडेको देखिन्थ्यो, त्यस्तो दृश्य अहिले देख्न गाह्राे छ ,” चोपराले भने । झन् बढ्दै र विनाशकारी बन्दै बाढीका घटना भारतीय हिमालय खण्डमा सन् १९६८ यता १७ वटा ठूला बाढी आएका छन् । अन्तर्राष्ट्रिय विपदबारे अध्ययन गर्ने एम–डाटका अनुसार तीमध्ये १३ वटा घटना सन् २००० यता नै भएका हुन् । सन् २००० यतामात्रै भारतीय हिमालय क्षेत्रमा गएका बाढीमा परी २ हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रदेश पटक–पटक बाढीको चपेटामा पर्ने गरेको छ । गत वर्ष, पाकिस्तानले यस दशककै सबैभन्दा विनाशकारी बाढी सामना गर्दा खैबर पख्तुन्ख्वामा १८५ जनाको ज्यान गएकाे थियाे । त्यस प्रदेशमा बाढीकै कारण सन् २०२१ मा २० जना र २०२० मा ४६ जनाले ज्यान गुमाएका थिए । हिमालय क्षेत्रमा बाढी आउने क्रम बढ्नु र बाढी अझ बढी विनाशकारी हुनुमा दुई प्रमुख कारण– जलवायु परिवर्तन र विकास परियोजनाका गलत योजना रहेको विज्ञहरूको भनाइ छ । भारतीय हिमाली क्षेत्रमा समग्रमा हिउँदे वर्षा कम भइरहेको तर अचानक आउने भयानक वर्षाका घटना भने बढिरहेको वाइल्डलाइफ ट्रस्ट अफ इन्डियाका प्रमुख समिर कुमार सिन्हाले बताए । “पहिले पूरा एक महिनामा जति पानी पर्थ्यो, त्यति मात्रा अहिले १० दिनमै पर्ने गरेको छ,” सिन्हा भन्छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी दिल्लीमा रहेको हाइड्रोसेन्स ल्याबले संकलन गरी थर्ड पोललाई उपलब्ध गराएको तथ्यांकअनुसार सन् २००१ देखि २०१६ सम्म भारतीय हिमालय क्षेत्रमा १७ पटक चरम वर्षा भएको थियो र त्यसका कारण ७ हजार मानिसको मृत्यु भएको थियो । तर, सन् १९७० देखि २००० सम्म तीन दशकको बीचमा १३ पटक त्यस्तो वर्षा भएको र त्यस क्रममा ९०१ जनाले ज्यान गुमाएका थिए । थर्ड पोलसँग कुराकानी गरेका अन्य विज्ञले हिमालय क्षेत्रमा बाढीका घटना बढ्नु र थप विनाशकारी बन्नुको पछाडि वन डढेलो पनि कारक रहेको बताए । डढेलो र बाढीलाई माटोले कसरी जोड्छ ? स्वच्छ जंगलको भुइँ वनस्पति र पातपतिंगरले ढाकिएको हुन्छ । जनावर र किराफट्याङ्ग्रा त्यसमाथि ओहोरदोहोर गरेर बाटो बनाउँदा त्यसको माथिल्लो पत्रबाट भित्र हावा छिर्छ र त्यसले हावा तथा पानी सोस्छ । “अचानक पानी ओइरिँदा वा ठूलो वर्षा हुँदा पनि त्यहाँ थुप्रिएका वस्तुले पानीलाई सोस्छ,” सिन्हा भन्छन्, “वर्षाको पानी पहाडबाट खस्नुको साटो जमिनभित्रै सोसिन्छ ।” ठूलो वर्षा वा हावाहुरी आउँदा पनि रुखका जरा र त्यहाँ थुप्रिएका जैविक वस्तुले माटोलाई अड्याएर राख्छन् । डढेलो लाग्नुअघि र पछिको दुई प्रकारको माटो । जसमध्ये एउटामा स्वस्थ जमिनले कसरी पानी सोस्न सक्छ र अर्कोमा आगोले डढाएपछि माटो कति कडा बन्छ भन्ने देखिन्छ । (इलस्ट्रेसनः न्युट्रन टी / द थर्ड पोल) यस्ता सबै जैविक वस्तु ठूला डढेलाहरुमा नष्ट हुन्छन् । “वन डढेलो लागेपछि जमिनको माथिल्लो तहमा रहेको जैविक गुणले भरिपूर्ण मलिलो सतह नष्ट हुन्छ, त्यस्तो सतह बन्नका लागि २०० देखि ३०० वर्षसम्म लाग्छ,” चोपराले बताए । माटोलाई हावापानी केही छिर्नै नसक्ने गरी जाम बनाउनु डढेलोले पार्ने सबैभन्दा ठूलो असर हो । ठूला डढेलोले जमिनको माथिल्लो तह नै डढाउँछ, “जसले गर्दा माटोको स्वरुप नै फेरिन्छ र पानी चुहिने छिद्र नै बन्द हुन्छ,” सिन्हाले अर्थ्याए । “जलेको जमिनमा माटोका कणहरू निकै कसिलो गरी टाँसिन्छन् जसले गर्दा माथिल्लो सतहबाट पानी तर्किन्छ । जमिनभित्र छिर्न नपाएपछि पानीले बाढीको रुप लिने तथा भूक्षय हुने गर्छ ।” यसरी डढेलो लागेपछिको जमिनले पहिलेजस्तो पानी सोस्न सक्दैन । जमिनको माथिल्लो तह बन्नका लागि सामान्यतया २०० देखि ३०० वर्षसम्म समय लाग्छरवि चोपरा, पिपल्स साइन्स इन्स्टिच्युट डढेलोका क्रममा किरालगायतका प्राणी मारिन्छन्, जसले गर्दा सतहको प्रक्रिया तत्काल पूर्ववत् अवस्थामा फर्किन पनि सक्दैन । त्यस्तो पानीको तीव्र वहावले जमिनको माथिल्लो सतहलाई क्षति पुर्याउँछ । “डढेलो लागेपछि जमिनमा वनस्पति पनि नहुने हुँदा माटो अड्याउने कुरा पनि हुँदैन जसले गर्दा ठूलो वर्षा हुँदा भूक्षय बढ्छ,” सिन्हाले बताए । यसरी अधिक पानी र त्यसले बगाएको गेग्र्यानका कारण नदीको भुइँतह पनि माथि उठ्छ र पानी नदीबाट अन्यत्र पस्नथाल्छ । “त्यसपछि नदीकिनारमा भूक्षय र वरपरका क्षेत्रमा डुबान हुने नै भयो,” उनले भने । जति धेरै डढेलो लाग्छ र भीषण वर्षा हुन्छ, उति माटोमा सुधार हुनुको साटो थप क्षति हुने क्रम जारी रहन्छ यो दुश्चक्र रोक्न के गर्न सकिन्छ ? अगस्त २०२२ मा भारतीय अनुसन्धानकर्ताको एक समूहले वन डढेलोबारे दून घोषणापत्र (दून डिक्लेरेसन अन फरेस्ट फायर्स) प्रकाशित गरेका छन् । यसले तीनवटा मुख्य सुझाव दिएको छ १. वन डढेलो रोक्न तयारी र प्रतिकार्यमा सुधार गर्ने (उदाहरणका लागि, वन डढेलोसम्बन्धी कार्ययोजनामा सबै सरोकारवालाको जिम्मेवारी प्रस्ट पार्ने, वन विभागलाई आवश्यक कोषको व्यवस्था गर्ने, वनरक्षक र अग्रपंक्तिमा खटिने अन्य कर्मचारीलाई चाहिने उपकरण प्रदान गर्ने र वन डढेलो न्यूनीकरणका लागि खट्न दृढ संकल्पित युवा समूहहरू गठन गर्ने), २. भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) मातहत वन डढेलो रोक्नका लागि एक छुट्टै निकाय गठन गर्ने जसले आगो नियन्त्रणमा प्रभावकारी आधुनिक प्रविधिको प्रयोग गरी वनरक्षकहरूसँग सहकार्य गर्छ । ३. नीति निर्माणमा सहयोगका लागि डढेलो लाग्नुका कारण र त्यसका असरबारे थप अध्ययन गर्ने । Recommended यो समस्या समाधानका लागि अन्य व्यावहारिक उपायहरू पनि सहयोगी हुनसक्छन् । स्थानीय समुदायलाई सशक्तीकरण गर्ने गरी स्थानीय तहमा गरिने सामाजिक अभियान नै डढेलो र बाढीको दुश्चक्रलाई तोड्नका लागि सबैभन्दा उत्कृष्ट उपाय हुने हेमन्त ध्यानीको ठहर छ । पुराना पञ्चायत प्रणालीलाई ब्युँताएमा त्यसबाट गाउँलेमा पनि जिम्मेवारीबोध र अपनत्वको भावना विकास हुने र डढेलोका घटना हुँदा जंगल जोगाउन सहयोग पुग्ने उनले बताए । सल्लोका पात जम्मा गर्ने बायोग्यास प्लान्ट स्थापना पनि यो समस्या समाधानको अर्को एक उपाय हुनसक्ने ध्यानीको भनाइ छ । “हिमाली क्षेत्रमा डढेलोलाई व्यापकरुपमा फैलाउने मुख्य कारक सल्लोका पात हुन्,” ध्यानीले भने, “गाउँलेलाई ती संकलन गर्न लगाउनुपर्छ र सरकारले प्रतिकिलो ५–६ रुपैयाँ दिएर किन्नुपर्छ । यस कदमले डढेलो नियन्त्रणमात्र नगरी स्थानीयवासीलाई रोजगारी पनि दिन्छ ।” भुटानी वन वैज्ञानिक फुन्ट्सो न्यामग्येल हिमालय क्षेत्रमा डढेलो फैलिनबाट रोक्नका लागि घना वनलाई पातलो बनाउनुपर्ने धारणाको वकालत गर्छन् । भुटानको झण्डै ८४ प्रतिशत भूभाग वनजंगलले ढाकिएको बताउँदै उनी भन्छन्, “यस्ता जंगलमा रुखको घनत्व धेरै भएकाले विनाशकारी डढेलोको उच्च जोखिम हुन्छ ।” भुटानी पत्रिका कुइन्सेलमा न्यामग्येल लेख्छन्, “जंगललाई पातलो बनाउने र स–सानो मात्रामा नियन्त्रित डढेलाे लगाउने काम गरेर ठुुला डढेलाेकाे जोखिम कम गर्न सकिन्छ ।” अनुसन्धानकर्ताहरु वनमा गाईवस्तु चराउन पनि प्रोत्साहित गर्नुपर्ने बताउँछन् । जनावर ओहोरदोहोर गर्दा बन्ने बाटोले आगो फैलिने गति रोक्ने उनीहरूको भनाइ छ । साउथ एसिया नेटवर्क अन ड्याम्स रिभर्स एन्ड पिपलका संयोजक हिमांशु थक्करले बाढी आउने क्रम र त्यसको विनाशकारी रूपलाई कम गर्न हिमालय क्षेत्रमा बनाइने पूर्वाधार विकासका परियोजनामा परिवर्तन ल्याउनुपर्ने बताए । पहाडी क्षेत्रमा सडक, सुरुङ, जलविद्युत् तथा अन्य परियोजना बनाउँदा भूक्षय हुने र त्यसका कारण पहाडी क्षेत्रमै ढुंगामाटोलगायतका वस्तु अलपत्र छाड्दा त्यसले समस्या निम्त्याउने उनको भनाइ छ । डढेलो र बाढीको समस्यालाई बृहतरुपमै समाधान गर्नका लागि संरचनागत र माथिदेखि तलको अवधारणाका आधारमा सुधार गर्नुपर्ने उनको धारणा छ । ति सुधारका कदम चाल्दा सरकारी स्तरमा र वन प्रशासन जसरी सञ्चालित छ त्यसमा आधारभूतरुपमै परिवर्तन गर्नुपर्नेमा उनको जोड छ । न्याटली टेलरद्वारा अतिरिक्त रिपोर्टिङ तथा अनुसन्धान गरिएको । थप पढ्नुहोस् आलेख चरम माैसम Long-term impacts of ‘terrible’ fire season in Pakistan’s mountains आलेख चरम माैसम Climate scientists explain Pakistan’s ‘unprecedented’ floods आलेख पानी अभाव Best of 2022 on The Third Pole: Water in a climate-changed region एक्सप्लेनर जलवायु न्युनिकरण Explainer: The disappearing glaciers of the Himalayas आलेख संकटापन्न प्रजाती अर्नाको संख्या ब्युँताउने महत्त्वाकांक्षी प्रयासमा नेपालको असफलता आलेख अभियना चिपकाे आन्दोलनको ५० वर्षः आफ्नै जीवनकालमा भोगेको परिवर्तनबारे उत्तराखण्डका गाउँलेको वर्णन आलेख वार्ता कोप २७ को एकमात्र सफलता हानि–नोक्सानी क्षतिपूर्ति कोष आलेख वनफडानी ‘समय र पैसाको बर्बादी’: नेपालमा वातावरण मूल्यांकन किन यति निष्प्रभावी भइरहेका छन्? शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय