अप्रिल २०२१ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग का प्रवक्ता हरिभद्र आचार्यसँग काठमाडौंस्थित उनको कार्यालयमा कुराकानी गर्न बसेलगत्तै उनलाई फोन आयो । मैले पनि फोन सुनोस् भनेर उनले आफ्नो मोबाइल स्पिकरमोडमा राखिदिए । “म वन्यजन्तुु पालन इजाजतपत्रका लागि आवेदन दिन चाहन्छु र कस्तूरी मृगलाई बीउजनावरका रुपमा लिन चाहन्छु । म विभागमा कहिले आऊँ र मैले पूरा गर्ने आवश्यकताहरू के हुन् ?” एक पुरूष आवाजले भन्यो ।
आचार्यले मुस्कुराउँदै मतर्फ हेरे र नम्र हुँदै जवाफ दिए, “हामीले वन्यजन्तु पालनको मापदण्ड अझै तय गर्न सकेका छैनौं । त्यो कहिलेसम्म तयार हुन्छ, म निश्चित रुपमा भन्न सक्दिनँ ।” त्यसपछि कल गर्नेले भन्यो, “दुई महिनामा हामीले इजाजतपत्रका लागि आवेदन दिन सक्नेछौं भनेर हामीलाई गत वर्ष भनिएको थियो ।” आचार्यले इजाजतपत्र दिन ढिलाइ हुनुमा कोभिड–१९ दोषी रहेको भने र कुराकानी सके ।
सन् २०२१ मा नेपाल नयाँ उद्यममा लाग्दै छ ः व्यावसायिक उद्देश्यका लागि वन्यजन्तु पालन । सन् १९७३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याएदेखि नै देशको नीति वन्यजन्तुलाई व्यावसायिक पालनमा निरुत्साहित गर्ने र वन्यजन्तुका अङ्गप्रत्यङ्गहरूको किनबेचमा कडा प्रतिबन्ध लगाउने दर्शनमा आधारित थियाे ।
तर अहिले नेपाल वन्यजन्तु व्यवसायीकरणको दोसाँधमा छ । केही उत्साहित छन् भने केही नेपालमा वन्यजन्तु संरक्षणको भविष्यलाई लिएर त्रसित छन् वा चिन्तित।
वन्यजन्तु पालन तथा व्यापारका लागि नयाँ कानुन
पहिलो फोनकलको पन्ध्र मिनेटपछि आचार्यको मोबाइल फेरि बज्यो । “हामी सर्प पालन इजाजतपत्रका लागि आवेदन दिने योजना बनाउँदै छौं, मापदण्डहरू केके हुन् ?” कल गर्ने व्यक्तिले सोध्यो । आचार्यले फेरि ढिलाइका लागि काेभिड महामारीलाई दोष दिए । “वन्यजन्तु पालनसम्बन्धी जानकारी खोज्ने व्यक्तिहरूबाट हरेक दिन करिब १०–१२ कल आउँछन्,” आचार्यले भने ।
कलहरू बारम्बार आउनुको पछाडि केहि कारण छन् । सन् २०१७ मा व्यावसायिक उद्देश्यका लागि वन्यजन्तुकाे पालन तथा व्यापार गर्न अनुमति दिने नयाँ प्रावधानका साथ नेपालको संसद्ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संशोधन पारित ग¥यो । वन्यजन्तु संरक्षण सम्वन्धि यस्तो व्यवस्था गरिएको भने देशको इतिहासमा पहिलो पटक थियाे । त्यसपछि वन तथा वातावरण मन्त्रालयले कानुन कार्यान्वयनमा ल्याउनका लागि काम गर्याे । दुई वर्षपछि सन् २०१९ मा मन्त्रालयले व्यावसायिक वन्यजन्तु पालनको इजाजतपत्रसम्बन्धी नियमावली सँगसँगै संशोधित ऐनअन्तर्गत पालनयोग्य वन्यजन्तुहरूको सूची प्रकाशित ग¥यो । सूचीमा थुप्रै लोपोन्मुख मृगका प्रजातिहरूसहित दश स्तनपायी प्राणी, बाह्र चरा र अजिङ्गरबाहेक सबै सरीसृपका नाम उल्लेख गरिएको छ ।
पालन गर्न जङ्गलबाट समातेर ल्याइएका बीउजनावरहरूप्राप्त गर्न आवश्यक मापदण्ड र प्रक्रियाहरू निर्धारण गर्ने काम अहिले भइरहेकाे छ जस्ले जनावरहरूको सङ्कलन, ढुवानी र बेचबिखन कसरी गर्ने सकिन्छ भन्ने कुरालाई समेट्नेछ । “यदि कोभिड–१९ नभएको भए हामीले यसलाई पहिले नै अन्तिम रुप दिने थियौं,” आचार्यले भने, “यो काम सकिएपछि मन्त्रालयले सूचीबद्ध गरेका जङ्गली जनावरहरू पालन गर्न चाहने जोसुकैले इजाजतपत्रका लागि आवेदन दिन सक्नेछन् र स्वीकृत भएपछि व्यवसाय शुरु गर्न बीउजनावरहरू पाउनेछन् ।”
बाँदरदेखि कस्तूरी मृगसम्म ः दुई दशकको कठिन यात्रा
नेपालको वन्यजन्तु पालनयात्राकाे लामै कथा रहेको छ । सन् २००३ मा वन तथा वातावरण मन्त्रालयले संरक्षण र अनुसन्धान उद्देश्यका लागि वन्यजन्तु प्रजनन गराउन सक्ने नीति पारित ग¥यो तर व्यापारका बारे केहि बाेलेन । सन् २००५ मा अमेरिकाका प्रयाेगशालाहरुमा अनुसन्धानमा प्रयोग गरिने बाँदरको एकप्रजाति रातो बाँदरको प्रजनन केन्द्र काठमाडौंमा स्थापना गरियो, जङ्गलमा समातिएका २ सय रातो बाँदरलाई बीउजनावरका रुपमा ल्याएर ललितपुरकाे ले ले मा राखियाे । अमेरिकी ल्याबहरूले त्यति बेला पर्याप्त सङ्ख्यामा बाँदरहरू लान सकिरहेका थिएनन् किनभने मुख्य आपूर्तिकर्ता रहेको भारतले सन् १९७८ मा तिनको निर्यातमा प्रतिबन्ध लगाएको थियो तर त्यसपछि नियन्त्रित निर्यात भइरहेकाे थियाे।
“यो मुख्यतया अमेरिकालाई बाँदर बेच्ने उद्देश्यका साथ सुरू गरिएको थियो । यस नीतिको संरक्षण वा अनुसन्धानसँग कुनै सरोकार थिएन,” नेपालमा वन्यजन्तु संरक्षणमा कार्यरत गैरसरकारी संस्था वाइल्ड लाइफ वाच ग्रुपका अध्यक्ष मङ्गलमान शाक्यले भने । त्यो बाँदर प्रजनन् केन्द्र बन्द गराउन नेपाल सरकारलाई दबाब दिनका लागि तुरून्तै विरोध समूहहरू देशभित्रै र बाहिर पनि गठन भए । व्यापक विराेध शुरु भयाे।
सन् २००९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा वन्यजन्तुहरूको बेचबिखन सम्भव बनाउने प्रावधानहरु नरहेकाे भन्दै कमीका प्राकृतिक स्राेतसाधन संसदीय समितिले बाँदरको निर्यातमा तुरून्त प्रतिबन्ध लगाउन सरकारलाई निर्देशन दियो । वन तथा वातावरण मन्त्रालयले प्रजनन केन्द्रसँग सम्झौता खारेज गर्ने र बन्धनमा रहेका बाँदरहरूलाई मुक्त गर्ने निर्णय ग¥यो । दुर्भाग्य, जङ्गलमा आफूलाई अनुकूलनन गराउन नसकेका कारण बहुसङ्ख्यक बाँदरको मृत्यु भयो ।
त्यसपछि नेपालमा वन्यजन्तु पालनकाे विषय लगभग एक दशकका लागि सेलायाे । सन् २०१७ मा भने वन्यजन्तुकाे व्यावसायिक पालनका लागि अनुमति दिने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधन पारित भएपछि यसको पुनः आगमन भयो । फेरि पनि पशुअधिकार र संरक्षण समूहहरूले वन्यजन्तु पालनविरूद्ध लड्ने वाचा गरे तर पहिलाजस्ताे व्यापकता देखिएन ।
“हामी अदालतमा यो कानुनविरूद्ध लड्न तयारी गर्दै छौं र कागजी प्रक्रियामा व्यस्त छौं । नेपाल गलत दिशामा गइरहेको छ र हामी देशमा सबै किसिमका वन्यजन्तु पालनमा प्रतिबन्ध लगाउन सङ्घर्ष गरिरहनेछौं,” जेन गुडल इन्स्टिच्युटकाे नेपाल कार्यालयमा कार्यरत पशुअिधकारकर्मी सृष्टि सिंह श्रेष्ठले भनिन् । उनले अनलाइनमा लिखित औपचारिक अनुरोध पोस्ट गरेकी छन् । त्यसमा करिब १० हजार जनाले हस्ताक्षर गरेका छन् । “पहिलो कुरा, व्यावसायिक उद्देश्यले कुनै जङ्गली जनावर पालन गर्नु अनैतिक हो । दोस्रो, यो कानुनले जनावरहरूलाई चिडियाखाना र अन्य प्रदर्शनहरूमा मनोरञ्जनका लागि पनि प्रयोग गर्न अनुमति दिन्छ । यो त मूर्खता हो र नेपालजस्ताे देशका लागि लाजमर्दाे कुरा पनि हाे ,” उनले थपिन् ।
परामर्शको अभाव र त्रुटिहरूले भरिएकाे दस्तावेज
पालन गर्न सकिने वन्यजन्तुहरूको नयाँ सूचीमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षणको सङ्घ (आइयुसिएन)ले जोखिममा परेका प्रजातिहरूको सूचीमा राखेको कस्तूरी मृग पनि छ । आइयुसिएनले गरेको मूल्याङ्कनले प्रजातिहरूका अङ्गप्रत्यङ्गहरूको व्यापारले तिनीहरूलाई खतरामा पारेको कुरामा जोड दिएको छ । कस्तूरी मृगको विना—भाले मृगमा पाइने सुगन्ध ग्रन्थी—परम्परागत चिनियाँ औषधि र अत्तर बनाउने प्रयोजनका लागि प्रयाेग गरिन्छ । वन्यजन्तुकाे पालन तथा व्यापारकाे कुरा गर्दा खास गरेर संचारमाध्यममा छापिएका लेखहरुमा कस्तूरी मृग पालनलाई उच्च मूल्य पर्ने विना बेचेर धेरै पैसा कमाउने अवसरका रुपमा चित्रण भइरहेकाे पाइन्छ।
आइयुसिएनले लोपोन्मुख प्रजातिमा राखेको लगुना र विलुप्त हुने जोखिममा भएको मानिने बाह्रसिँगे पनि सूचीमा परेका छन् ।
“यी प्रजातिहरू कसरी छानियाे भन्नेबारे कुनै स्पष्टता छैन । यो सरकारको हचुवाकाे निर्णय हो । यी प्रजातिहरूको छनोट गर्नुअघि कुनै सरोकारवालासँग परामर्श गरिएको थिएन, कुनै वैज्ञानिक अध्ययन पनि गरिएको छैन,” संरक्षण अनुसन्धान संस्था फ्रेन्ड्स अफ नेचर, नेपालका कार्यकारी निर्देशक राजु आचार्यले भने ।
सूचीका लागि चराहरूको चयनले थप प्रश्नहरू खडा गरेका छन्। “नेपाली भाषाको सूचीमा भएका बाह्र ओटा चराको नाममध्ये दुईले उही प्रजातिलाई जनाउँछन् तर तिनको पालनका लागि चाहिने इजाजतपत्र र बीउजनावरहरूका लागि तिर्नुपर्ने शुल्क भने फरकफरक छन् । वनकुखुरा र लुइँचे अंग्रेजीमा रेड जङ्गल फाउल भनिने प्रजातिका स्थानीय नाम हुन् तर नियमावलीकाे सूचिमा ती दुई प्रजातिका रुपमा सूचीकृत गरेको छ । यस्तो ठूलो निर्णय लिने बेलामा गरिएको यो हदको लापरबाही चिन्ताको विषय हो । यो हास्यास्पद छ,” चरा संरक्षणका लागि समर्पित गैरसरकारी संस्था पक्षी संरक्षण नेपालका सञ्चालक समिति सदस्य तथा चराविज्ञ विमल थापाले भने ।
पक्षीविद्हरूसँग कुनै परामर्श लिइएको थिएन र जङ्गल फाउललाई दुई प्रजातिमा सूचीकृत गर्नु गलत थियो भनेर वन्यजन्तु विभागका प्रवक्ता हरिभद्र आचार्य स्विकार्छन् । “औंल्याइदिनुभएकोमा धन्यवाद, हामी यसबारे विस्तृत छलफल गर्नेछौं र आवश्यक परिवर्तन गर्नेछौं,” उनले भने । अझ रमाइलाे कुरा त के छ भने याे सूचिमा लखान भन्ने नामकाे चरा पनि छ जुन नेपालमा कतै पाँइदैन वा विश्वमै यस्ताे नाम गरेकाे चरा छैन। याे नाम कसरी पर्याे भन्नेमा वन्यजन्तु विभागका अधिकारीहरु अनभिज्ञ छन्। मैले नेपालका चराहरु भन्ने किताब पल्टाँए जस्मा पहिलाे चराकाे नाम लरवान लेखिएकाे छ। स्नाे प्याट्रिज भनिने याे चरालाइ नेपालीमा लरवान भनिन्छ तर जस्ले याे सूचि बनायाे उस्ले ल र वा मिसाएर खा बनाएकाे हुनुपर्छ भन्ने अनुमान गरें। याे सुनाउँदा विभागका उपसचिव हरिभद्र आचार्य हाँसे र संभावनालाइ स्विकारे। “यसमा केहि गल्ति भएका छन् अव संसाेधन गर्दा याे हटाउने छाै,” उनले थपे।
नेपालीमा राजपत्रमा प्रकाशित सूची सामान्य भाषामा बाेलिने स्थानिय नामहरु प्रयाेग गरिएकाे छ जस्ले ठूलो समस्या खडा गर्न सक्छ । “सूचीमा परेवा, पिउरा वा तित्रा उल्लेख गरिएका छन् तर त्यस परिवारभित्र थुप्रै प्रजातिहरू छन् र तीमध्ये केही जोखिममा रहेका चराहरु पनि छन् । मलाई थाहा छैन, उनीहरूले यो नीति कसरी कार्यान्वयन गर्नेछन्,” थापाले थपे ।
त्यस्तै भ्यागुता, पाहा, कछुवा र अजिङ्गरबाहेक सबै सरीसृपहरूको एकै ठाउँमा सूचीकरण गर्नु भनेको यी वर्गहरूमा पर्ने जोखिममा परेका प्रजातिहरू पनि समेट्नु हाे, जसले वन्यजन्तुहरूलाई बीउजनावरहरूका रुपमा बन्धक बनाउन अनुमति दिन्छ । यसमा नेपाल र नजिकैको उत्तरी भारतमा पाइने नेपाली पा भ्यागुतो जस्ता प्रजातिहरू पनि समावेश छन् । तिनीहरू संसारमा अरु कहीँकतै भेटिँदैनन् ।
अर्को त्रुटि पनि छ। कछुवालाई उभयचर शीर्षकमा सूचीबद्ध गरिएको छ । “कछुवा सरीसृप हो, उभयचर होइन । देशको आधिकारिक कानुनी कागजातले पालनका सूचीमा राखिएका प्रजातिहरू कहाँ पर्छन् भनेर पहिचान समेत गर्न नसक्नु पूरै संरक्षण समुदायका लागि लाजको कुरा हो,” सरीसृप र उभयचर विज्ञ र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका सेवानिवृत्त प्राध्यापक करणबहादुर शाहले भने, “यी गल्तीहरूलाई रोक्न केवल विज्ञहरूलाई केही फोन कलहरू मात्रै गरे पनि पर्याप्त हुने थियो तर कुनै परामर्श गरिएन ।”
निराश सरकारी अधिकारी, विभाजित संरक्षणवादीहरु
वन्यजन्तु पालन उद्योग सुरू गर्न नेपाल एक कदम मात्र टाढा रहे तापनि सरकारभित्रै एकमत छैन। “व्यक्तिगत रूपमा म वन्यजन्तु पालनविरूद्ध छु र जे भइरहेको छ, त्यसबाट खुसी छैन,” वन्यजन्तु विभागका हरिभद्र आचार्यले भने, “मैले कुरा गरेका केहि अन्य वरिष्ठ अधिकारीहरूले पनि त्यस्तै धारणा राखेका थिए ।”
खुसी छैनन् भने उनी किन नीति लागू गर्न अगाडि बढिरहेका छन् भनेर मैले आचार्यलाई सोधें । उनको जवाफ सरल थियो, उनले भने, “सांसदहरू यसलाई अगाडि बढाउन उत्सुक छन् । हामी यसलाई रोकेर राख्न सक्दैनौं । किनकि यो हाम्रो वशको भन्दा परको कुरा हो ।”
वन्यजन्तु पालनका लागि समर्थन केवल राजनीतिज्ञहरूमा मात्र सीमित छैन । केही संरक्षणविद्हरू पनि भन्छन्, “वन्यजन्तु पालनमा नेपाल अगाडि बढ्नुपर्छ तर होसियारीपूर्वक ।”
“म वन्यजन्तु पालन समस्याका रूपमा देख्दिनँ । यदि राम्रोसँग र प्रभावकारी रुपमा अनुगमन गरियो भने यो संरक्षण र अर्थव्यवस्था दुवैका लागि राम्राे हुनेछ,” फ्रेन्ड्स अफ नेचर नेपालका राजु आचार्यले भने ।
“त्यो कसरी हुन सक्छ ?” मैले उनलाई सोधें । उनले भने, “व्यावसायिक पालनले समुदायलाई आर्थिक फाइदा हुन्छ र जंगलमा रहेका वन्यजन्तुको सङ्ख्या घट्नेक्रम कम हुनेछ किनकि यसले अन्ततः अनधिकृत सिकारलाई कम गर्न मद्दत पु¥याउँछ ।”
वन्यजन्तु पालनको पक्ष लिने संरक्षणकर्मीहरू वन्यजन्तु संरक्षणलाई मलजल गर्न स्थानीय समुदायलाई आर्थिक लाभ आवश्यक छ भन्ने तर्क गर्छन् । वन्यजन्तु पालनले आम्दानीको स्रोत प्रदान गर्न सक्छ । जसको अर्थ, उनीहरू जङ्गलका जनावरहरूको सिकारमा निर्भर हुनुपर्दैन भन्ने हुन्छ भन्ने उनिहरुकाे तर्क रहेकाे छ।
यो वन्यजन्तु पालनको पक्ष वा विरूद्ध भन्ने मुद्दा होइन । डब्लुडब्लुएफ नेपालका प्रमुख घनश्याम गुरूङले भने, “बुद्धिमानी भएर वन्य संरक्षणको मूल्यलाई कमजोर नगराइ कसरी आर्थिक लाभ लिन सकिन्छ भन्नेबारे हामीले सोच्नु आवश्यक छ । तर धेरै कुरा हामीले पालनका लागि रोज्ने प्रजातिको स्थिति कस्तो छ भन्नेमा निर्भर गर्छ ।”
तर व्यवहारमा व्यावसायिक पालनले वन्यजन्तुहरूको अवैध शिकार र पालनलाई अझ बढी प्रोत्साहन गर्न सक्छ भन्ने चिन्ता वन्यजन्तु विभागका हरिभद्र आचार्यलाई छ । यदि फार्म स्थापना गरेको कुनै व्यक्तिले जङ्गली जनावरहरूलाई मार्छ वा सिकारीहरूबाट किनेर यसको मासु वा अङ्गहरू बेच्छ, तब हामी कसरी त्यस उत्पादनको स्रोत पहिचान गर्न सक्छौं ? यस किसिमका मुद्दा सामना गर्न प्राविधिक रूपमा गाह्रो छ ।”
चीन र भियतनाम जस्ता वन्यजन्तु पालनको अभ्यास भइरहेका अन्य देशहरूमा त्यस्ता मुद्दा निरन्तर उठेका छन् । त्यहाँ पालकहरुले जङ्गली जनावरहरू समात्ने वा वनमा पक्रिएका जनावरलाई फार्ममा हुर्काइएको भनेर झुटाे बाेल्ने गरेकाे जस्ता विषयहरु पर्छन् ।
नेपालमा वन्यजन्तु पालन गर्न प्रभावकारी अनुगमन गर्न सकिन्छ भन्ने धारणालाई आचार्य आफै प्रश्न गर्छन् । “हामीसँग अहिले नै पर्याप्त कर्मचारी छैनन् । त्यसैले अहिलेको मानव संसाधनबाट अनुगमन लगभग असम्भव जस्तै छ,” उनले थपे ।
यद्यपि अरुले यसलाई वन्यजन्तु पालन नगर्नुपर्ने पर्याप्त कारणका रुपमा देख्दैनन् । “यदि हामीसँग नियमकानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्षमता छैन भने हामीले त्यसलाई बढाउनुपर्छ । कानुनी रूपमा सम्भाव्य गतिविधिहरू सञ्चालन गर्नै नदिनू राम्रो हो भन्ने मलाई लाग्दैन,” फ्रेन्ड्स अफ नेचर, नेपालका राजु आचार्यले भने ।
वन्यजन्तु पालनको तयारीले गति लिँदै गर्दा अन्य सरकारी विभागहरूले पनि आवश्यक तयारी गरिरहेका छन् । वन विभागले सन् २०१९ मा परिमार्जन गरेको वन ऐनले वन्यजन्तु पालनलाई प्रवद्र्धन गर्न सकिने एक प्रकारको ‘वन उद्यम’का रुपमा सूचीबद्ध गरेको छ । “तोकिएको मापदण्डको अधीनमा रहेर कुनै पनि व्यक्ति, निकाय, समूह वा समुदायले कृषि वन, जडीबुटी खेती र वन्यजन्तु पालन गर्न सक्छ,” ऐन भन्छ ।
“कल्पना गर्नुहोस्, यदि सबै सामुदायिक वन वा निजी वनमालिकहरूले आम्दानीको एक सम्भावित स्रोतका रूपमा वन्यजन्तुको पालन सुरू गरे भने तपाईं कहाँ निगरानी गर्न जानुहुन्छ ?” हरिभद्र आचार्यले थपे । नेपालमा २० हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू छन् । र देशभरि निजी वन क्षेत्रहरू पनि उल्लेख्य मात्रामा छन् ।
वन्यजन्तु पालनका पक्षधरहरूसँग यसको जवाफ छ, पूर्ण समाधान नभए पनि । “हामी बीउजनावरहरूको उपलब्धतामा आधारित कोटा प्रणाली स्थापना गर्न सक्छौं। हामीले निवेदन लिएर ढोकामा आउने सबैलाई अनुमति दिनुपर्छ भन्ने छैन,” संरक्षणमा काम गरिरहेकाे संस्था नेचुरल हिस्ट्री सोसाइटी नेपालका संस्थापक मुकेश चालिसेले भने ।
बीउजनावर ल्याउनेसम्बन्धी नियमनहरू अहिले पनि केन्द्रीय वन तथा वातावरण मन्त्रालयका अधिकारीहरूका टेबलमा छन् । तर प्रदेश सरकारले याे व्यवसायका लागि आफूलाई भने तयार पारिसकेका छन् । “हामीले मुस्ताङ जिल्लामा कस्तूरी मृग फार्म स्थापना गर्न एक परियोजनाका लागि डेढ कराेडजति बजेट विनियोजन गरेका छौं । स्थलगत अध्ययन गरिएको छ र अहिले यसलाई हामीले अन्तिम रुप दिँदै छौं,” गण्डकी प्रदेशको वन, पर्यावरण र भूसंरक्षण मन्त्रालयका सचिव महेश्वर ढकालले भने ।
के वन्यजन्तु पालनले जंगली जनावरकाे माग घटाउँछ ?
यदि पालन गर्न दिइयो भने यसले प्रजातिहरूको जङ्गली सङ्ख्यामा सिकारको दबाब कम गर्नेछ भन्ने वन्यजन्तु पालनका पक्षधरहरूले गर्ने मुख्य तर्क हो । “हामीले प्रशस्त सङ्ख्यामा भएका जनावरहरूको पालन गर्न दिनुपर्छ । उदाहरणका लागि, नेपालमा सबैभन्दा अवैध रूपमा सिकार गरिने प्रजाति कालिज हो र यो तुलनात्मक रुपमा प्रशस्त पाइन्छ । यदि यसलाई पालन गरियो भने यसले जङ्गली सङ्ख्यामा कम दबाब दिन्छ किनभने फार्मबाट मासुको माग पूरा हुनेछ,” फ्रेन्ड्स अफ, नेचर नेपालका राजु आचार्यले भने ।
तर वन्यजन्तु पालनले वास्तवमा वन्यजन्तुका मासु तथा अंगप्रत्यंगहरूको माग बढाउँछ कि घटाउँछ भन्ने मुद्दा विश्वव्यापी रूपमा विवादित छ । “बाघहरूको पालन गर्ने वा बाघ पालनले जङ्गली बाघको अंगप्रत्यंगहरूको माग घटाउने कुनै प्रमाण छैन,” बेलायतस्थित एक गैरसरकारी संस्था इन्भाइरनमेन्टल इन्भेस्टीगेसन एजेन्सीको बाघ र वन्यजन्तु अपराध अभियानकी प्रमुख डेब्बी ब्याङ्क्सले भनिन्। “फार्म गरिएको बाघका अंगप्रत्यंग आपूर्ति भए पनि धेरै उपभोक्ताहरूमाझ जङ्गली नै राम्रो हुन्छ भन्ने बुझाइ कायम नै रहेको पाइन्छ,” उनले थपे
सन् २०१८ मा भियतनाममा पूर्वी र दक्षिणपूर्व एसियामा परम्परागत औषधिमा प्रयोग गरिने भालुको पित्तको खपतबारे गरिएको एउटा अध्ययनले उपभोक्ताहरूले पालन गरिएको भालुको पित्त सेवन गर्न कम रूचि राख्छन् भन्ने देखाएको थियो । तिनीहरू जङ्गली भालुको पित्तलाई बढी पैसा तिर्न इच्छुक थिए । उक्त अध्ययनको निष्कर्ष छ, “भियतनाममा भएको भालुपालन पहिले जताततै पाइने र तुलनात्मक रूपमा प्रचुर मात्रामा भएका प्रजातिहरूमाथि दबाब कम गर्न वन्यजन्तु पालन असफल भएको एउटा उदाहरण हो ।”
सन् २०१६ मा वन्यजन्तु पालनमाथि लोरा टेनसेनले गरेको अध्ययनको तर्क के थियाे भने निश्चित सर्तहरु पालना गरेमात्रै वन्यजन्तु पालनले फाइदा गर्छ। “जस्ताे: पालन र जङ्गली मध्ये कुनैलाई पनि उपभोक्ताहरूले प्राथमिकता दिँदैनन्, फार्महरूले जङ्गलबाट जनावरहरू सञ्चितिका लागि ल्याउँदैनन्, फार्महरूले गैरकानुनी वन्यजन्तुका अंगप्रत्यंगलाई वैध बनाउने काममा संलघ्न हुँदैनन् लगायतका पाँच सर्तहरू पूरा गरे मात्र वन्यजन्तु पालनले वन्यजन्तुहरूलाई फाइदा गर्छ ” टेनसेनकाे अध्ययनले भन्छ। “वन्यजन्तु पालनमा भेटिने प्रायः प्रजातिहरूका हकमा यी मापदण्डहरू वास्तवमा पूरा हुँदैनन् । र संरक्षणका लागि हामीले जे चाहेका हुन्छौं, त्यसको ठीक उल्टो असर व्यावसायिक प्रजननले पार्ने सम्भावना रहेको हुन्छ,” तेन्सेनको निष्कर्ष छ ।
“सिकारका लागि पहिलेदेखिको मुख्य केन्द्र र गैरकानुनी वन्यजन्तुका अङ्गप्रत्यङ्गहरूको अवैध पालनको स्थापित मार्ग समेत रहेकाे नेपालले पर्याप्त तयारी नगरी यो नयाँ व्यवसायमा लाग्यो भने ठूलो समस्याको सामना गर्नुपर्छ,” गैरसरकारी संस्था ग्रिनहुड नेपालका संस्थापक तथा वन्यजन्तुविज्ञ कुमार पौडेलले भने । “वैधानिक रूपमा पालन गर्दा तपाईंले कडा नियमको पालना गर्नुपर्नेहुन्छ। त्यसले फार्म मालिकहरूले व्यवसायको एक हिस्सालाई वैधानिक देखाउन सक्छन् र साथै सञ्चालन गर्न सजिलो हुने अवैध पालनको विकल्प पनि रोज्न सक्छन्। याे सजिलाे विषय छैन,” पौडेलले थपे ।
सामुदायले लाभ पाउलान्?
धेरै संरक्षणवादीहरूले तर्क गरिएजस्ताे ग्रामीण समुदायले आर्थिक फाइदा उठाउन सक्छन् भन्ने कुरामा विश्वास गर्दैनन्। “अहिलेको नीतिले गरिब र सीमान्तकृतलाई फाइदा पुग्ने सम्भावना कम छ । यो उनीहरूका लागि बनाइएको छ, जोसँग लगानी गर्न पर्याप्त पैसा छ र जसले यसलाई व्यापारिक उद्यमका रूपमा अगाडि बढाउन सक्छन्,” पौडेलले भने ।
सरकारी कागजातमा उल्लेख गरिएको लागत सम्भवतः धेरै नेपालीहरूको पहुँचबाहिर हुनेछ । सन् २०१९ मा सरकारले प्रकाशित गरेको नियमावलीअनुसार कस्तूरी मृग पालनको इजाजतपत्रका लागि करिब एक लाख रुपियाँ र सरकारबाट किनिएको प्रत्येक बीउजनावरका लागि ७० हजार रुपियाँ खर्च लाग्नेछ । सम्भावित वन्यजन्तु किसानले बीउजनावर ल्याउनका लागि सरकारी अधिकारीहरूले गर्नुपर्ने यात्रा तथा बीउजनावरको ढुवानीलगायतका सबै खर्च व्यहोर्नुपर्छ । याे सामान्य किसानकाे क्षमता बाहिरकाे कुरा हाे वा गरिव किसानकाे। विश्व बैंकका अनुसार २०१९ मा नेपालको प्रतिव्यक्ति आय १ हजार ७० अमेरिकी डलर थियो। यस्ताे अवस्थामा यसबाट विपन्न तथा सिमान्तकृित समुदायले लाभ लिने संभावना न्यून देखिन्छ।
वन्यजन्तु विभागका आचार्य पनि समुदायहरू कसरी लाभान्वित हुन्छन् भन्ने कुरामा प्रस्ट छैनन् । “हाम्रो योजना केही चुनिएका कम्पनीलाई कृषि इजाजतपत्र प्रदान गर्ने हो,” उनले भने । यदि त्यस्तो हो भने यस नीतिले गरिब र सीमान्तकृत समुदायको जीवन र जीविकोपार्जन सुधार्ने सम्भावना कसरी रहन्छ? “म केही हदसम्म सहमत छु । तर यसले समुदायहरूका लागि रोजगारी सिर्जना गर्न सक्छ र पछि व्यवसाय राम्रो हुँदै जाँदा उनीहरूले स्थापित फार्मबाट बीउजनावर लिन सक्नेछन् र आफ्नै व्यवसाय सुरू गर्न सक्नेछन्,” आचार्यले थपे ।
चिनियाँ परम्परागतऔषधि कम्पनीहरुकाे दाैडधुप
सन् २०१७ मा संसद्ले वन्यजन्तु पालनसम्बन्धी कानुन पारित गरेदेखि परम्परागत चिनियाँ औषधि कम्पनीहरूले नेपालमा स्थापित संरक्षण सङ्गठनहरूसँग साझेदारी गर्ने प्रयास गरिरहेका छन् भने सरकारसंग पनि छलफल गरेकाे देखिन्छ।
आचार्यका अनुसार कम्तीमा एउटा चिनियाँ कम्पनीले नेपालको परम्परागत चिनियाँ औषधि कारखाना स्थापना गर्न नेपालको उद्योग विभागमा आवेदन दिएकाे छ । “उद्योग विभागले उनीहरूको प्रस्ताव समीक्षाका लागि हामीकहाँ पठाएको छ किनकि यसमा त्यस्ता औषधि उत्पादन गर्न कस्तूरी मृगको विना र सर्पको विष प्रयोग गरिने उल्लेख छ,” उनले भने ।
दुई प्रमुख चिनियाँ परम्परागत औषधि कम्पनी ‘बेइजिङ टोङ रेन टाङ’ र ‘बेइजिङ सेङ सी सिनवेन’ कम्पनी लिमिटेडले नेपालमा वन्यजन्तु पालनमा संलग्न हुन कोसिस गरिरहेछन् । बेइजिङ टोङ रेन टाङ र बेइजिङ सेङ सी सिनवेन कम्पनी लिमिटेडले वन्यजन्तु पालनमा काम गर्ने रूचि देखाउँदै नेपालका प्रधानमन्त्रीलाई पठाएको पत्र द थर्ड पोलले हेरेकाे थियो तर स्राेतले बाहिर ल्याउने अनुमति नदिएकाले त्यसबारे विस्तृतरुपमा उल्लेख गर्न असमर्थ छाै। यसैगरि ति कम्पनीहरुले गण्डकी प्रदेश सरकारसंग पनि कस्तुरी मृगकाे पालन गर्नेबारे छलफल गरेका थिए।
पश्चिमी नेपालको मनाङ जिल्लामा निर्माणाधीन आफ्नो कस्तूरी मृग पालन केन्द्रमा लगानी गर्ने उद्देश्यले बेइजिङ सेङ सी सिनवेनले आफूलाई सम्पर्क गरेको राष्ट्रिय प्रकृति संरक्षण काेषका अधिकारीहरुले ले द थर्ड पोललाई बताए । “त्यो निजी कम्पनी भएकाले हामीले उनीहरूलाई आफू चीनको एक मान्यताप्राप्त एजेन्सी हो भनेर नेपालको चिनियाँ दूतावासबाट चिठी लिएर आउन भनेका थियौं । तर उनीहरू कागजात लिएर आएका छैनन्,” संस्थाका कार्यकारी अधिकृत सिद्धार्थ बज्राचार्यले भने ।
सन् १९५८ देखि सुरू भएको कस्तूरी मृगको पालन गर्ने चलन चीनमा राम्रोसँग स्थापित छ । सन् २०१७ मा प्रकाशित एक समाचारका अनुसार चीनमा २० हजारभन्दा बढी कस्तूरी मृग पालिएकाछन् । तर विनाका लागि उनीहरूको सिकार र बासस्थानमा भएका ह्रासका कारण तिनीहरूको जङ्गली सङ्ख्या घटिरहेका छन् । नेपालमा चीनमा लैंजाँदै गरिएकाे अवस्थामा कस्तूरी विना बारम्बार समातिइरहन्छन् । “यदि खेतीपाती र पालन खोलियो भने पालन गरिएको कस्तूरीको विना वैधानिक रूपमा प्राप्त गरिएको हो वा जङ्गलबाट अवैध रुपमा प्राप्त गरिएको भनेर कसरी थाहा पाउने ? याे नीतिले अवैध व्यापारलाइ सजिलो बनाउनेछ,” ग्रिनहुड नेपालका वन्यजन्तुविज्ञ कुमार पौडेलले भने ।
चिनियाँ कम्पनी र सरकारी एजेन्सीहरूले नेपालमा वन्यजन्तु पालन विशेष गरी कस्तूरी मृग पालनमा देखाएको रूचि नयाँ भने होइन । सन् २००९मा मनाङ जिल्लामा कस्तूरी मृग फार्म स्थापना गर्न चीनको सम्भावित सहयोगबारे छलफल गर्न नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय प्रकृती संरक्षण काेषबीच बैठक भएकाे पनि थियो ।तर त्यसमा खासै कुनै उपलव्धि भने भएन। त्यसै वर्ष नेपालले बाँदर निर्यात गर्न नसकिने निर्णय गरेपछि वन्यजन्तु पालन विषय नै सेलाएकाे थियाे।
तर २०१७ मा कानुन संशोधन भएपछि निजी चिनियाँ परम्परागत औषधि कम्पनीहरूले नेपालका संस्थाहरुसँग सम्पर्क बढाउन थाले । “मनांगकाे कस्तुरी मृग पालन हाम्रो नमुना परियोजना हो । हामी चिनियाँको प्राविधिक सहयोग प्राप्त गर्न चाहन्छौं, हाम्रा मानिसलाई उनीहरूबाट तालिम दिन चाहन्छौं । यदि उनीहरू सहमत भए भने उनीहरूसँग साझेदारी गरी विना उत्पादन र चीनमा निर्यात गर्न हामीले बृहत् रुपमा कस्तूरी मृग पालन गर्न सक्छौं,” बज्राचार्यले भने ।
चाइनीज एकादमी अफ साइन्सेसमा पढेका कस्तूरी मृग विशेषज्ञ पारसविक्रम सिंह भन्छन्, “चिनियाँ कम्पनीहरूले लगानी गरिहाल्नेभन्दा पनि नेपालको अवस्थाको मूल्याङ्कन गरिरहेका छन् । मलाई लाग्दैन कि वन्यजन्तु पालनमा तुरून्तै लगानी गर्न चिनियाँहरु इच्छुक छन् । तर कम्तीमा पनि अहिले उनीहरू हामीलाई फार्मिङ कम्पनी स्थापना गर्न सहयोग पु¥याउन र त्यहाँ उत्पादित वन्यजन्तु पैदावर किन्न चाहन्छन् ।”
“वन्यजन्तु पालनमा प्रत्यक्ष विदेशी लगानी गर्न चाहन्छौं कि चाहँदैनौं भन्ने नीतिमा हामी स्पष्ट हुनु आवश्यक छ,” सिंहले थपे, “यदि हामी लगानी चाहन्छौं भने हामीले आफ्नो निर्णय प्रक्रियालाई द्रुत बनाउनुपर्नेछ र लगानी गर्न चाहनेसँग स्पष्ट कुराकानी गर्नुपर्छ । जबसम्म हामी त्यो गर्दैनौं, मलाई लाग्दैन कोही यहाँ लगानी गर्न आउनेछन् ।”
तर वन्यजन्तुकाे पालन र व्यापार केहि चिनियाँ कम्मनीकाे मात्रै रुचिकाे विषय हाेइन। सन् २०१९ मा नेपाल र चीनले दुई देशहरूबीच सहकार्य बढाउन ए लिस्ट अफ इन्स्ट्रुमेन्ट्समा …सूचिमा हस्ताक्षर गरे । तीमध्ये एउटा बुँदा पारम्परिक चिनियाँ औषधिमा सहकार्य स्थापित गराउने थियोे । “सामान्यतया परम्परागत चिनियाँ औषधिमा वन्यजन्तुका धेरै प्रकारका अङ्गप्रत्यङ्गहरू र पैदावारहरू प्रयोग गरिन्छन् । त्यसैले अन्ततः यो वन्यजन्तु पालनले दुई देशबीचको परिकल्पना गरिएको सहकार्यलाई पोषण गर्छ,” कुमार पौडेलले भने ।
वन्यजन्तुकाे पालन निकट भविष्यमै
२०२० को सुरूमा नेपालले वन्यजन्तु पालनको अनुमतिका लागि मापदण्डलाई अन्तिम रुप दिइरहँदा कोभिड–१९ महामारी फैलन थाल्यो । डब्लुएचओसँग आबद्ध विशेषज्ञहरूले भाइरसको सम्भावित स्रोतका रुपमा दक्षिणी चीनको वन्यजन्तु पालनलाई औंल्याए । वन्यजन्तु पालनले रोगको जोखिम बढाउने चिन्ताले चीनलगायत विश्वभरिबाट वन्यजन्तु उपभोगलाई प्रतिबन्धित गर्नुपर्ने भन्दै आवाजहरू उठे।
फेब्रुअरी २०२० मा चीन सरकारले खाद्य उपभोगका लागि वन्यजन्तु पालनमा अचानक प्रतिबन्ध लगायो । परम्परागत औषधि, भुवा र अन्य उपयोगका लागि पालन गर्न छुट दिइयो, माछादेखि कछुवा र सलामन्डरसम्मका जलीय प्रजातिहरूको पालन भने वैध नै राखियाे । तर जेहोस्, कोभिड महामारीले ठूलो प्रभाव पा¥यो । त्यसपछिका महिनाहरुमा सरकारले १२ हजारभन्दा बढी वन्यजन्तुसम्बन्धी व्यवसायहरू बन्द गरेकाे छ।
नेपालको वन्यजन्तु पालनको बाटो सार्वजनिक स्वास्थ्य जोखिमका कारण मासुजन्य प्रयाेजनका लागि जङ्गली जनावरहरूको पालन बन्द गर्ने छिमेकीले लिएको बाटोभन्दा फरक भएकाे छ। चीनकाे कदमले नेपाललाइ कस्ताे असर पार्ला भन्ने मुख्य प्रश्न रहेपनि अहिले नेपालकाे आन्तरिक खपत नै प्रमुख उदेश्य हुनुपर्ने केहिकाे तर्क रहेकाे छ। “हाम्रो मुख्य ध्यान मासुमा आधारित वन्यजन्तु उत्पादनहरूमा हो, अन्य उत्पादनहरूमा होइन । त्यसैले हामीकहाँ मासुमा आधारित उत्पादन उपभोग गर्ने घरेलु बजार नै पर्याप्त छ । यसलाई पालन गरिएका वन्यजन्तुका अन्य पैदावार बेच्नसँग भन्दा खाद्य सुरक्षासँग जोड्नुपर्छ,” गण्डकी प्रदेशको वन, पर्यावरण र भूसंरक्षण मन्त्रालयका सचिव महेश्वर ढकालले भने ।
तर महामारीका कारण भएको ढिलाइ र विश्वव्यापी जनमत नै बद्लिनुकाे मतलब वन्यजन्तु पालनको बाटोबाट नेपाल सरकार पछि हट्छ भन्ने देखिदैन। “याे व्यवसायमा हाम फालिहाल्न यो उचित समय त पक्कै होइन किनकि संसारै यसको विरूद्धमा छ । यद्यपि अहिले रोकिए तापनि यो ढिलो वा चाँडो हुनेवाला नै छ । सवाल कहिले भन्ने मात्र हो,” वन्यजन्तु विभागका हरिभद्र आचार्यले भने ।
(चित्रण ः काबिनी अमिन)