जलवायु विचारः हिमाली क्षेत्रमा ‘क्यासकेडिङ’ प्रकोपको जोखिम कसरी कम गर्ने ? हालैका दिनहरूमा हिन्दुकुश हिमालय क्षेत्रमा घटेका दु:खद घटनाहरूले एउटा प्रकोपले अर्को प्रकोप सिर्जना गर्ने (क्यासकेडिङ प्रकोप) नयाँ र जटिल परिदृश्य उत्पन्न भएको र यसका विरुद्ध तयारी गर्न जरुरी भएको देखाएको छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। भारतको उत्तराखण्डमा सन् २०१३ मा मन्दाकिनी नदीमा आएको बाढीले ल्याएको विनाश । लामो समयसम्म परेको पानीका कारण पहिरो र बाढी आएको थियो भने ताल फुटेर नदीमा लेदो बगेको थियो । (तस्विर : फ्राङ्क बाइनेवाल्ड) सन्ताेष नेपाल, अरुण भक्त श्रेष्ठ, अमीना महर्जन अगस्ट 10, 2021April 10, 2022 यो वर्ष मनसुनको सुरुवातसँगै नेपाल र भारतका महाकाली र कोशी नदीतटका क्षेत्रमा बाढीको प्रकोप देखियो । कोशीको पश्चिमी जलाधार क्षेत्रमा भारी वर्षा र यससँग सम्बन्धित विभिन्न कारकहरूका कारण काठमाडाैँकाे उत्तरपूर्वमा पर्ने मेलम्ची-इन्द्रावती जलाधार क्षेत्रमा पहिले कहिल्यै नदेखिएको स्तरमा विनाश देखियो । हिन्दुकुश हिमालाय क्षेत्रको जमिन भिरालो छ भने भूबनोट कमजोर । त्यसमाथि यहाँ थोरै समयमा धेरै पानी पर्ने गरेको त छँदै छ, कहिले कति पानी पर्छ भनेर भन्न पनि सकिन्न । मनसुनको समयमा बाढी र पहिरोका घटना सामान्य भइसकेका छन् । हरेक वर्ष सयौँ मानिसहरूले आफ्नो ज्यान गुमाउँछन् र यसका साथै महत्त्वपूर्ण पूर्वाधार, बस्ती र खेतीमा समेत गहिरो क्षति पुग्ने गरेको छ । हाल आएर हामीले पहिले भन्दा धेरै ‘क्यासकेडिङ’ प्रकोपहरूको सामना गरिरहेको महसुस हुन्छ । यस्तो खालको प्रकोपहरूमा एउटा प्रकोपका कारण अर्को प्रकोपको जन्म हुने गर्दछ । यस्ता प्रकोपहरूसित जुध्न हामीले तुरुन्तै योजना बनाउनु जरुरी छ । मेलम्ची विपद् यो वर्षको जुन १३ देखि १५ सम्म मेलम्ची-इन्द्रावती जलाधार क्षेत्रमा लगातार मसिनो पानी परेको थियो । एकै पटक धेरै पानी धेरै नपरे पनि यस क्षेत्रमा आएको बाढी र त्यसले गराएको ठूलो क्षतिले स्थानीय तथा विशेषज्ञहरूलाई समेत चकित पारेको छ । जुन १५मा आएको बाढीअघि र पछि मेलम्ची क्षेत्रको स्थिति (तस्बिर : गुगल अर्थ र गुगल प्लानेट) बाढीले क्षति पुर्याएका धेरै संरचनाहरूमध्येको एक हो मेलम्ची खानेपानी परियोजनाको हेडवर्क्स । राष्ट्रिय गौरवको परियोजनाको दर्जा पाएको मेलम्ची परियोजनाले एउटा जलाधार क्षेत्रबाट अर्कोमा पानी स्थानान्तरण गर्ने र काठमाडौँका मानिसहरूलाई नियमित रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको थियो । बाढीले तल्लो तटमा रहेको मेलम्ची बजारमा पर्ने १७६ वटा घर र १७८ हेक्टर जमिनमा लगाइएको धान सखाप पारेको थियो । करिब ३० किमिको दुरीमा बाढीले १३ वटा झोलुङ्गे पुल, सातवटा पक्की पुल र सडकका विभिन्न खण्डहरू भत्काएको छ र थुप्रै गाउँहरू सडक संजालविहीन भएका छन् । बाढी सुरु भएको हेलम्बु क्षेत्रबाट ७० किमि तलसमेत माटो र बालुवा ठूलो मात्रामा थुप्रिएको छ । Recommended प्रारम्भिक अनुसन्धानका अनुसार, माथिल्लो तटमा पानी परेकाले मात्र नभई पहिरोका कारण बनेका अस्थायी बाँधहरूका कारण पनि लेदोसहित बाढी आएको थियो र त्याे बाढीले मेलम्ची बजारकाे थुप्रै भाग डुबाएको थियो । जमिन र भूउपग्रहबाट लिइएका तस्बिरहरूले घ्याङ र ब्रेमाथाङमा ठूला पहिरोहरू गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहिरोका कारण मेलम्ची नदी ४५ मिनेटका लागि ठप्प भएको थियो । पन्ध्र जुनको राति ७ बजे नदीमा पानीको बहाव ह्वात्तै बढेकाले यसै बेला बाँधमा भरिएको पानी बाँधबाट बाहिर आएको अनुमान गर्न सकिन्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक प्रतिवेदनले पनि मेलम्चीमा घटेको प्रकोपका एकभन्दा बढी कारक रहेको बताएको थियो । नदी बहने क्षेत्रका विभिन्न खण्डहरूमा भएका मानव गतिविधि, जलवायुसम्बन्धी कारक तथा प्रक्रियाहरूका कारण यो घटना घटेको हो । मेलम्ची जलाधार क्षेत्रमा जुलाई ३१मा (पहिलो पटक बाढी आएको करिब डेढ महिनापछि) फेरि बाढी आएको थियो । बाढीले त्याे क्षेत्रमा पूर्वाधारमा असर गरेको थियो र माटो थुपारेको थियो । निकै पहिले पहिरो गएको एउटा क्षेत्र र त्यसको पछाडि थुप्रिएको बालुवा विजाेक बनेको थियाे । निरन्तर भइरहेको भूक्षय र नदीले ल्याइराख्ने बालुवाका कारण त्याे क्षेत्रकाे भविष्य नै खतरामा परेकाे छ । त्यसैले स्थानीय नगरपालिकाले उच्च जोखिममा रहेका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह समेत गरेको छ । बाढी प्रकोपको बदलिँदो रूप विगतको दशकमा हिन्दुकुश हिमालय क्षेत्रमा आउने गरेका बाढीहरूको प्रकृतिमा परिवर्तन आएको छ । फेब्रुअरी २०२१मा भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा रोन्टी शिखरमुनि खसेको ढुङ्गा र बरफका कारण ठूलो बाढी आएको थियो र २०० जनाको निधन भएको थियो । जलविद्युत् परियोजनाहरूसहितका विभिन्न पूर्वाधारहरूमा ठूलो क्षति पुगेको थियो । सन् २०२१को फेब्रुअरीमा चमोलीमा आएको बाढीअघि र पछि तपोवन विष्णुगाड जलविद्युत् परियोजना । बाढीपछि बाँधमा पूर्ण रूपमा माटो भरिएको थियो । त्याे बाढी नेपालको पोखरामा सन् २०१२मा सेती नदीमा आएको बाढीसित मिल्दोजुल्दो छ । अन्नपूर्ण छैटौँको दक्षिणी भागबाट खसेको ठूलो ढुङ्गाका कारण अकस्मात् बाढी आएको थियो । त्यस्तै सन् २०१३मा भारतको उत्तराखण्डमा निरन्तर परेको पानीका कारण बाढी र पहिरोलगायतका घटनाहरू घटेका थिए । चोराबारी ताल फुट्दा त्यहाँबाट निस्केको पानी र माटोमा पुरिएर छ हजारभन्दा बढी मानिसको मृत्यु हुनुका साथै सडक, भवन र पूर्वाधार भत्किएका थिए । हिमाली क्षेत्रमा क्यासकेडिङ प्रकोपहरू यी सबै घटनाहरू ‘क्यासकेडिङ’ प्रकोपका उदाहरणहरू हुन् । यस्तो खालका घटनाहरू बढ्दो अवस्थामा छन् । यस्तो अवस्थामा एउटा प्रकोपले अर्को प्रकोपलाई मलजल गर्दछ र दुबै प्रकोपहरूको संयुक्त असर एउटा प्रकोपको तुलनामा निकै ठूलो हुन जान्छ । यी घटनाहरूले के देखाउँछन् भने हिमाली क्षेत्रमा हुने सानो घटनाले माथिल्लो तथा तल्लो तटमा समेत ठूलो क्षति पुर्याउन सक्दछन् । भुटान, भारत, नेपाल र पाकिस्तानजस्ता पर्वतीय देशहरूमा यस्ता क्यासकेडिङ प्रकोपहरू घट्ने सम्भावनाहरू उच्च रहन्छन् । माथिल्लो तटमा पहिरो, बाढी र हिमआँधी आउनाले वा हिमताल फुट्नाले तल्लो तटमा मानिसहरूको ज्यान जान सक्छ र जीविकोपार्जनका स्राेतहरूंमा असर पर्न सक्छ । नियमित रूपमा आउने बाढी हरेक वर्ष आइरहन्छन् तर यस्ता प्रकोपहरू धेरै वर्षमा आउने गरेका छन् । तर पर्वतीय क्षेत्रमा बन्ने पूर्वाधारहरू यस्ता जटिल चुनौतीहरू सामना गर्ने गरी डिजाइन गरिएका छैनन् । मेलम्ची बजारमा बाढीले पुर्याएको क्षति (तस्बिर : सन्तोष नेपाल, ईसिमोड) जटिल जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? मौसमको पूर्वानुमान र जलविज्ञानमा आधारित मोडलहरूका माध्यमबाट बाढी आउनु केही दिनअघि नै त्यसको पूर्वानुमान गर्न सकिन्छ । तर हिमाली क्षेत्रमा हुने क्यासकेडिङ प्रकोपका बारेमा पूर्वानुमान गर्ने कुनै पनि संरचना छैन । त्यसैले यस्ता प्रकोपहरू घट्नुअघि नै मानिसमा हुने सचेतना तथा उनीहरूले गर्ने पूर्वतयारी नै जोखिम घटाउने सबैभन्दा सहज र कार्यान्वयन गर्ने सकिने तरिका हो । मेलम्चीका मानिसहरूका अनुसार माथिल्लो तटका बासिन्दाहरूले उनीहरूलाई पहिरो आएको अनि प्राकृतिक रूपमा बाँध बनेको र त्याे फुट्न सक्ने कुरा बताएका कारण पूर्वाधारमा ठूलो क्षति पुगे पनि धेरै मानिसहरूको ज्यान बचेको थियो । यसले पूर्वसूचनाको महत्त्व झल्काएको छ र माथिल्लो तथा तल्लो तटका मानिसहरूबीच हुने औपचारिक तथा अनौपचारिक कुराकानीले विपद्को जोखिम घटाउन सक्ने देखिएको छ । पूर्वी नेपालबाट बहने रातु खोलाको माथिल्लो तटआसपास बस्ने नेपाली समुदायले तल्लो तटमा भारतको विहारमा बस्ने मानिसहरूलाई अनौपचारिक रूपमा पानीको बहाव बढेको जानकारी दिने गरेका छन् । क्यासकेडिङ प्रकोपहरूको हकमा पनि पूर्वसूचना दिने प्रणालीहरूको विकास गर्न जरुरी देखिन्छ । यस्ता पूर्वतयारी प्रणालीहरूको विकास गर्दा समुदायलाई केन्द्रमा राख्न जरुरी छ । यसो गर्नाले अन्तरदेशीय नदीका किनारमा बसेका समुदायसमेतमा जोखिम आँकलन गर्न सक्ने क्षमता बढेर जानेछ । हालैका दिनहरूमा घटेका क्यासकेडिङ प्रकोपहरूले जलवायु समानुकुलित विकास योजनाहरूको महत्त्व र यिनीहरूलाई छिटै कार्यान्वयन गर्नुपर्ने आवश्यकता उजागर गरेका छन् । पर्वतीय क्षेत्रमा पूर्वाधारको विकास गर्न जमिनको उपयोग गरिँदा मापदण्ड उल्लङ्घन वा बेवास्ता गरिएमा जोखिम बढेर जान्छ । मेलम्चीको सन्दर्भमा हामी के देख्न सक्छौँ भने क्षति पुगेका संरचनाहरू बाढी आउन सक्ने क्षेत्रमा बनेका थिए । मेलम्ची बजारमा थुप्रै भवनहरू नदीनजिकै बनाइएका थिए । त्यस्तै ग्रामीण सडकहरूको निर्माणले पहिरोको जोखिम बढेर गएको छ । समुदाय स्तरमा जोखिम घटाउन बिमा र जीविकोपार्जन विविधीकरण कार्यक्रमहरू आवश्यक छन् । हामीले पहाड र हिमालमा कुनै पनि विकासको गतिविधि गर्दा त्यहाँको जोखिमको विस्तृत अध्ययन गर्न जरुरी छ । विभिन्न अनुसन्धानहरूले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण क्यासकेडिङ प्रकोपहरूको आवृत्ति बढ्ने देखाएका छन् । पानी धेरै पर्नाले यस्ता प्रकोपहरूको असर बढ्ने देखिएको छ । क्यासकेडिङ प्रकृतिका प्रकोपहरू सापेक्ष रूपमा नयाँ भएता पनि संसारभर यिनको अध्ययन भइरहेको छ । यिनले ल्याउन सक्ने ठूलो स्तरको विनाशलाई मध्यनजर गर्दै यो विषयलाई गहिरोसित बुझ्न र यस्ता प्रकोपसँग जुध्न क्षेत्रीय सहकार्य आवश्यक छ । क्यासकेडिङ प्रकोपबारे अन्तरदेशीय सहकार्य जुन १८, २०२१ मा इन्द्रावती नदीको पूर्वमा रहेको तामाकोशी नदी तिब्बती क्षेत्रमा थुन्निएकाे थियो र यसका कारण नेपालमा बाढी आउने सम्भावना बढेको थियो । तर चिनियाँ अधिकारीहरूले नेपाली समक्षीहरूलाई यसबारे जानकारी दिए र अधिकारीहरूले तल्लो तटका मानिसहरूसमक्ष यो सूचना पुर्याए । त्यस्तै सम्भावित क्षतिलाई मध्यनजर गर्दै तामाकोशी जलविद्युत् योजनाको जलाशयमा पानीको तह केही मिटरले घटाइयो । चिनियाँ अधिकारीहरूले पछि पहिरो हटाए र नदीलाई आफ्नो समान्य गतिमा बग्न दिए । तर सन् २०१६मा भने त्यसो भएको थिएन । तिब्बतमा एउटा हिमताल फुट्दा भोटेकोशी जलविद्युत् आयोजनासँगै नेपालकाे भूभागमा ठूलो क्षति पुगेको थियो । तामाकोशीको जोखिम घटाउन नेपाली र चिनियाँ निकायहरूबीच भएको कुराकानीले क्यासकेडिङ प्रकोपसहितका अरू जोखिम घटाउन अन्तरदेशीय सहकार्यको महत्त्व झल्काएको छ । अन्त्यमा, हरेक मनसुनले हामीलाई विपद् व्यवस्थापनको पाठ सिकाउने गर्दछ । तर मनसुन सकिएर पानी पर्न रोकिएपछि हामीले सिकेका पाठहरू कार्यान्वयन गर्दैनौँ । त्यसैले अर्को मनसुनमा हामीले फेरि त्यस्तै प्रकोपको सामना गर्छौँ । हामीले आफ्ना अनुभवहरूबाट सिक्ने, समुदायमा समानुकूलन क्षमताको विकास गर्ने, अनि समग्रमा हाम्रो विकास योजना निर्माणमा विपद्बाट हुने जोखिमलाई प्राथमिकता दिने बेला आइसकेको छ । थप पढ्नुहोस् आलेख जलवायु प्रभाव तात्दै गरेको पृथ्वीमा बढ्न सक्छ डढेलो र बाढीको प्रकोप : आईपीसीसी आलेख चरम माैसम Monsoon brings Nepal’s mountain slopes crashing down आलेख जलविद्युत Another tragedy raises ire at hydro projects in Himachal Pradesh आलेख विपद् Are Bhutan’s monsoon landslides becoming more deadly? आलेख वनफडानी पुस्तक समीक्षा- बुद्धको पदचाप : एसियाको वातावरणीय इतिहास आलेख वन्यजन्तु नेपालको ‘सर्वोत्कृष्ट’ राष्ट्रिय निकुञ्जको संरक्षण सफलतापछाडिकाे तिताेमिठाे यथार्थ आलेख वन्यजन्तु वन्यजन्तुु व्यापार शुरु गर्ने नेपालको याेजना, चिनियाँ कम्पनीहरुकाे दाैडधुप आलेख काेइला बङ्गलादेशमा हिंसाद्वारा चिनियाँ कोइला प्लान्टको विरोध दबाउँदै राज्य शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय