६ माघ २०७९ का दिन चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको किनारमा दुई गैँडा मृत अवस्थामा फेला परे । निकुञ्जका अधिकारीले पोस्टमार्टम गर्दा १४–वर्षे पोथी गैँडा र चार–वर्षे भाले गैँडा विद्युतीय करेन्ट लागेर मरेको पाइयो । पौथी गैँडाको खाग गायब पारिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गणेशप्रसाद तिवारीका अनुसार सो घटनालाई चोरी शिकारीको रुपमा लिँदै त्यसलाई छानबिनको दायरामा ल्याइएको छ । शिकारीहरूले नजिकैको मन्दिरमा बिजुलीको तार जोडेर गैँडा नियमितरुपमा ओहोरदोहोर गर्ने बाटोमा करेन्टको धरापमा पारेको हुनसक्ने उनले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले थर्ड पोललाई दिएको विवरणअनुसार ती दुई गैँडासहित चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपरको मध्यवर्ती क्षेत्रमा यस आर्थिक वर्ष २०२२–२०२३ मा हालसम्म १४ गैँडा मृत फेला परिसकेका छन् । यस वर्षको हालसम्मको यो संख्या गत वर्षको तुलनामा कम हो तर पछिल्लो दशकमा चितवनमा मारिएका गैँडाहरूको समग्र संख्या भने बढ्दो छ ।
बढ्दो मानव गतिविधिकै कारण गैँडामाथि जोखिम बढेको विज्ञहरूको भनाइ छ । भौतिक पूर्वाधार विकासको असर, मिचाहा प्रजातिको फैलावट र सबैभन्दा चिन्ताको विषय त पुनः सलबलाएको चोरीशिकार नै हो भन्ने उनीहरूको ठहर छ ।
गैँडा चोरीशिकारमा पुनःबढोत्तरी
नेपालको पछिल्लो गैँडा गणनाअनुसार नेपालमा एकसिङे गैँडाको संख्या गत दुई दशकमा क्रमशः बढिरहेको छ । विश्वभर जोखिमपूर्ण अवस्थामा रहेको यो प्रजाति नेपालका समथर क्षेत्र र उत्तरपुर्वी भारतमा मात्र पाइन्छ । सन् २०२१ मा गरिएको गणनामा नेपालभर ७५२ वटा एकसिङे गैँडा रहेको निर्क्यौल गरिएको थियो भने त्यसअघि सन् २००५ मा ४०९ मात्र थिए । त्यसमध्ये ९० प्रतिशतभन्दा बढी गैँडा चितवन राष्ट्रिय निकुञ्जमा छन् भने बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा सानो–सानो संख्यामा रहेका छन् ।
चितवनमा गैँडाको संख्या हेर्दा त्यहाँको विगत उतारचढावपूर्ण देखिन्छ । व्यापक वनफँडानीका कारण त्यहाँ हजारौँमा रहेका गैँडाको संख्या सन् १९६० को अन्त्यताका झण्डै १०० को हाराहारीमा झर्नपुग्यो । राष्ट्रिय निकुञ्जको स्थापना र केही प्रभावकारी संरक्षण पहलकदमी लिएपछि सो संख्या पुनः बढ्याे । तर सन् २००० को सुरुताका चोरीशिकार व्यापक बढ्याे । नेपालमा सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरता पनि त्यति नै बेला उत्कर्षमा पुगेको थियो । सन् २००० देखि २००४ को बीचमै ९४ गैँडाको चोरीशिकार भएको थियो ।
सन् २००६ यता सुरु गरिएका संरक्षण पहलकदमीबाट भने चितवनमा गैँडाको संख्या पुनः क्रमशः बढिरहेको छ । अप्रिल २०१७ मा एउटा गैँडा मारिएको थियो, जुन सन् २०१४ देखि २०१९ को बीचमा भएको गैँडा शिकारको एक मात्र घटना हो । यस अवधिलाई संरक्षणमा एउटा उल्लेख्य सफलताको रुपमा लिइन्छ ।
तर, कोभिड महामारीको मौका पारेर सन् २०२० मा चोरीशिकार फेरि सलबलायो । सन् २०२० मा चारवटा गैँडा मारिए भने २०२१ मा दुईवटा । ती सबै घटनामा गैँडाका खाग झिकेर गायब पारिएको थियो । “लकडाउनका बेला मानिस सहरबाट गाउँ आए । बेरोजगार भएर घरमा बसेका उनीहरूलाई शिकारीले पैसामा लोभ्याएर गैँडा मार्न प्रयोग गरेका हुनसक्छन्,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट गणेश पन्तले बताए ।
प्रवक्ता गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा राष्ट्रिय निकुञ्जले चितवनमा गैँडा शिकारमा संलग्न रहेको आशंकामा तीनवटा मुद्दा दर्ता गर्याे भने गैँडासम्बन्धी मुद्दामा १३ जना पक्राउ परे ।
गैँडाको खागको व्यापारमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको भए पनि चीन र भियतनाममा यसको अझै पनि उल्लेख्यरुपमा माग हुने गरेको छ किनभने त्यहाँ परम्परागत औषधिको रुपमा र सामाजिक प्रतिष्ठाको प्रतीकको रुपमा यसको प्रयोग गर्ने गरिन्छ ।
मिचाहा प्रजाति
चोरीशिकारबाहेक मानव गतिविधि पनि कैयौँ गैँडाको मृत्युको अप्रत्यक्ष कारण बनिरहेको बताइन्छ । आर्थिक वर्ष सन् २०२१–२२ मा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको दलदले हिलोमा फसेर १० गैँडा मरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विस्तृतरुपमा संकलन गरी थर्ड पोललाई उपलब्ध गराएको विवरणका अनुसार सन् २०१७ देखि २०२२ को बीचमा डुबेर वा दलदलमा फसेर गैँडाको मृत्यु हुनेक्रम निरन्तर बढेको देखिन्छ ।
यसरी मृत्यु हुने क्रम बढ्नुमा मिचाहा प्रजातिका वनस्पतिको व्यापक विस्तारका कारण पनि हुनसक्ने पन्तको भनाइ छ । मानिसहरूले त्यस्तो वनस्पतिलाई त्यस क्षेत्रमा एकपटक लगाएपछि त्यस्तो वनस्पति व्यापक विस्तार भई निकुञ्ज क्षेत्रका खाडल तथा दलदले ठाउँहरू सबै ढाक्छ । “निकुञ्ज क्षेत्रमा चर्न डुलिरहेका बेला गैँडाहरू त्यस्ता वनस्पतिको झाङमा अड्किन्छन् भने कहिलेकाहीँ ढाकिएको दलदलमा फसेर निस्कनै सक्दैनन्,” पन्तले भने ।
माइकेनिया मिकारान्था भनिने लहरे वनमारा प्रजातिको वनस्पति चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडाका लागि एउटा गम्भीर खतरा बनेको छ । सन् २०२१ मा गैँडा गणना गर्ने क्रममा सो वन्यजन्तुको वासस्थानको ३५ प्रतिशत क्षेत्र त्यस मिचाहा वनस्पतिले ढाकेको पाइएको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र (एनटीएनसी–बीसीसी) का प्रमुख बाबुराम लामिछानेका अनुसार अन्य मिचाहा वनस्पतिका प्रजाति जस्तै पार्थेनियम हिस्टेरोफोरस (कनिके झार), लन्ताना कमारा (वन फाँडा ), कोर्मोल्याना ओडोराटा (सेताे वनमारा ) ले गैँडा र घाँसेमैदानमा निर्भर रहने अन्य वन्यजन्तुका लागि नयाँ खतराका रुपमा थपिएका छन् । यस्ता वनस्पति थप फैलिनबाट रोक्ने उपाय अपनाउन अनिवार्य भइसकेको उनको भनाइ छ ।
गैँडामा निर्माणकार्यको असर
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको मृत्यु किन बढिरहेको छ भनी छानबिन गर्नका लागि जुलाई २०२२ मा वन तथा वातावरण मन्त्रालयले पाँच सदस्यीय समिति गठन गर्यो । सो समितिले १८ सेप्टेम्बर २०२२ मा सरकारलाई अध्ययन प्रतिवेदन बुझायो तर त्यो सार्वजनिक भने गरिएन । सो प्रतिवेदनले चितवन राष्ट्रिय निकुञ्जभित्र र त्यसवरपर भएका निर्माणकार्यलाई विगत पाँच वर्षमा भएका ६ गैँडाको मृत्युको कारणको रुपमा जोडेको छ ।
त्यस्तै घटना सबैभन्दा पछिल्लो पटक २५ जनवरी २०२२ मा भएको थियो । त्यस दिन, सडकको छेउमा खनेको खाल्डोमा परी ११ वर्षे एक भाले गैँडा मरेको थियो । सो गैँडा भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज नजिकैको एउटा सडक विस्तार गर्नका लागि खनिएको खाल्डोमा परेको थियो । त्यसपछि अप्रिल २०२२ मा नेपाल सरकारले पूर्वाधार निर्माणका काम गर्दा वन्यजन्तु संरक्षणमैत्री उपाय अपनाउनुपर्ने भनी एक निर्देशिका जारी गर्यो । तर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन बाँकी नै रहेको विभागका अधिकारीहरुकाे भनाइ छ ।
विभागका महानिर्देशक महेश्वर ढकाल थर्ड पोलसँग भन्छन्ः “हामीले यो नीति भर्खर लागू गरेका छौँ, त्यसैले यसको पूर्ण कार्यान्वयनका लागि केही समय लाग्नसक्छ, तर हामी (यसप्रति) अत्यन्त गम्भीर छौँ, त्यसैले हामीले (यसको कार्यान्वयन अवस्थाको) निरन्तर अनुगमन गरिरहेका छौँ ।”
जुलाई २०२२ मा गठन गरिएको समितिको प्रतिवेदनले माथिबाट बगेर चितवन राष्ट्रिय निकुञ्जमा आउने नारायणी, राप्ती र रिऊ नदीको माथिल्लो तटमा भइरहेका निर्माणकार्यले गर्दा ती नदीको वहावको दिशा नै परिवर्तन गर्नसक्ने र त्यसले निकुञ्जका गैँडालाई प्रभाव पर्ने समस्या औँल्याएको छ । सिँचाइ आयोजनाका लागि राप्ती नदीमा तटबन्ध बनाउँदा यसको प्राकृतिक वहावलाई साँघुर्याएको छ भने गैँडाका लागि वासस्थान बन्ने गरेको बाढी फैलिने क्षेत्र खुम्चिएको छ । नदीको माथिल्लो भागका कैयौँ ठाउँमा बालुवा दोहन बढेको छ । “यस्ता गतिविधिले गर्दा गैँडाको ओहोरदोहोर सीमित भएको छ भने ती वन्यजन्तु साँघुरिएको वासस्थानमा धेरै संख्यामा बस्न बाध्य छन्, जसका कारण भाले गैँडाहरूबीच आक्रमण तथा द्वन्द्वका घटना बढेका छन्,” प्रतिवेदनमा उल्लेख छ ।
विभागको छानबिन प्रतिवेदनका अनुसार सन् २०१७ यता गैँडाहरू आपसमा लड्दा ३६ गैँडा मारिएका छन् ।
केही गैँडाको मृत्यु अपेक्षित
हालै भएका सबै गैँडा मृत्युका कारण आत्तिनु नपर्ने गैँडाविज्ञ शान्तराज ज्ञवालीको भनाइ छ । “चितवन राष्ट्रिय निकुञ्जमा अहिले गैँडाको संख्या प्रशस्त छ, त्यसैले गैँडाहरूको प्राकृतिक मृत्युका कारण धेरै चिन्तित हुनु आवश्यक छैन । कुनै रोग फैलिएर मृत्यु भएको भए त्योचाहिँ ठूलो चिन्ताको विषय हुन्थ्यो,” उनले भने । चितवनमा अहिले गैँडाको संख्या जति छ, त्यसअनुसार हेर्दा खाल्डामा खसेर, दलदलमा फसेर केही गैँडाको मृत्यु हुनुलाई सामान्यरुपमा लिनुपर्ने उनको तर्क छ ।
हामी आत्तिहाल्नुपर्दैन तर सचेत हुनुपर्छ र सम्भव भएसम्म गस्ती बढाउनुपर्छ,”शान्तराज ज्ञवाली, गैंडा विज्ञ
तर होसियारीचाहिँ अपनाउनैपर्नेमा ज्ञवालीको जोड छ । मानवसिर्जित गतिविधिका कारण नै गैँडा संरक्षणमाथि निरन्तर खतरा उत्पन्न भइरहने हुँदा हाल यो पक्ष केही कम भएको भए पनि सशक्त सुरक्षा नहुने हो भने कुनै पनि बेला मानवसिर्जित खतरा ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ । “हामी आत्तिने होइन तर सचेत हुनुपर्छ र सम्भव भएसम्म गस्ती बढाउनुपर्छ,” ज्ञवालीले भने ।
सिफारिस अनुसार काम भएन
जुलाई २०२२ मा गठन गरिएको समिति चितवनमा गैँडा मृत्युको कारण खोज्नकै लागि भनी नेपाल सरकारले गठन गरेको तेस्रो समिति हो । तर विभागका हालका महानिर्देशक महेश्वर ढकालका अनुसार ती समितिहरूले दिएका कैयौँ सिफारिस कार्यान्वयन नै गरिएको छैन ।
चितवनमा गैँडाको मृत्युबारे छानबिन गर्न गठन गरिएका समिति
१) ११ मार्च २०२० मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा
२)८ अक्टुबर २०२० मा विभागका तत्कालीन महानिर्देश्क प्रेम कँडेलको नेतृत्वमा
३ )१८ जुलाई २०२२ मा विभागका तत्कालीन महानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा
उदाहरणका लागि, सन् २०२० को सुरुमै गठन गरिएको समितिले चोरीशिकारविरुद्धको गस्ती गर्ने क्रममा सुरक्षा पोस्टहरूमा दुईवटा हात्ती पनि परिचालन गर्न सुझाव दिएको थियो । तर सोही वर्ष केही समयपछि गठन गरिएको अर्को समितिको अध्ययनमा सो कुरा कार्यान्वयन नगरिएको पाइयो । दोस्रो समितिले पनि राष्ट्रिय निकुञ्जले गैंडालाई आवश्यक पर्ने चरण क्षेत्र उपयुक्तरुपमा व्यवस्था गर्न नसकेको कुरा औँल्यायो । निकुञ्जभित्रै चरणको व्यवस्था गरेर गैंडा आहारको खोजीमा निकुञ्जबाहिर निस्कनपर्ने अवस्थाकाे अन्त्य गर्नुपर्नेमा सो समितिको जोड थियो ।
मार्च २०२० मा गठन गरिएको समितिले नियमितरुपमा गस्ती गर्नुपर्ने, मिचाहा वनस्पतिका प्रजाति मास्नुपर्ने, संयुक्त परिचालन इकाइको कार्यान्वयन गर्ने, चरण र दलदले क्षेत्रमा सुधार गर्ने, विषादीको प्रयोग कम गर्न निकुञ्जका कर्मचारी र किसानहरूबीच समन्वय गर्न र गैँडाहरूको स्थानान्तरण गर्नुपर्ने जस्ता सुझावहरू दिएको थियो । तर जुलाई २०२० मा बनेको समितिले यी सुझाव कार्यान्वयन हुन नसकेको पक्षलाई नै बढी उजागर गरेको छ ।
महानिर्देशक ढकालले भने स्रोत साधनका कमीका कारण ती सुझाव कार्यान्वयन हुन नसकेको जिकिर गरे । बजेट नभएकै कारण विभागले आईडी (गैँडाको पहिचान)मा आधारित गैँडा अनुगमन कार्य गर्ने वा एउटा फरेन्सिक प्रयोगशाला स्थापना गर्ने काम पनि कार्यान्वयन गर्न नसकिएको बताए । निकुञ्जका अधिकारीहरूका तर्फबाट एउटा वार्षिक कार्यतालिका आउन नसक्नुलाई पनि उनले छानबिन समितिहरूका सुझाव कार्यान्वयन नहुनुको एउटा कारणको रुपमा प्रस्तुत गरे ।
फेब्रुअरी २०२३ मा चितवन राष्ट्रिय निकुञ्जले तेस्रो एसियन राइनो रेन्ज कन्ट्रिज नामक कार्यक्रम आयोजना ग¥यो । भुटान, भारत, इन्डोनेसिया, मलेसिया र नेपालका प्रतिनिधिमण्डल सहभागी रहेको सो भेलाले एसियाली गैँडा संरक्षणका लागि चितवन घोषणापत्र, २०२३ जारी ग¥यो । भेलाले चितवनमा गैँडाको संरक्षणबारे पनि विभिन्न प्रतिबद्धता व्यक्त गरेको थियो । जस्तै गस्तीकार्यलाई सशक्त बनाउने, वासस्थान व्यवस्थापनमा सुधार गर्ने, मिचाहा प्रजातिलाई नियन्त्रण गर्ने, र गैँडा वासस्थानमा पर्ने असर न्यूनीकरण गर्न विकास परियोजना निर्माण गर्दा वन्यजन्तुमैत्री उपाय अपनाउनेलगायतका प्रतिबद्धता भेलाले गरेको थियो ।