विचार: लकडाउनले पनि रोक्न सकेन हिमाली क्षेत्रमा यार्सागुम्बा टिप्नेलाई सन् २०२० मा कोभिड नियन्त्रणका लागि सरकारले लकडाउन लगाए पनि राम्रो कमाइ हुने यार्सागुम्बा टिप्न जानबाट गाउँलेलाई रोक्न सकेन । यार्सागुम्बा टिप्ने कामलाई दिगो र व्यवस्थित गर्नका लागि एउटा छुट्टै नियमनकारी व्यवस्था गर्नुपर्छ भन्ने सो असफल नीतिले पनि प्रस्ट पार्छ । नेपाली नेपाली English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। यार्सा एकप्रकारको परजीवी ढुसी हो । यसले हिमाली क्षेत्रका झुसिलकिराका लार्भालाई पहिले संक्रमित गर्छ र क्रमशः मार्छ । परम्परागत औषधिका लागि यसको अधिक संकलन र जलवायु परिवर्तनका कारण यसको अस्तित्व नै संकटमा पर्दै छ । (तस्बिर: रोसिनो / फ्लिक्र, सीसी बीवाई–एनसी–एसए २.०) (Image: Rosino / Flickr, CC BY-NC-SA 2.0) सन्तोष पौडेल मार्च 23, 2023March 28, 2023 हरेक वर्ष जेठ महिनाको सुरुवातबाट जब हिमालमा हिउँ पग्लिन थाल्छ, तब नेपालका उत्तरी जिल्लाहरूमा बसोबास गर्ने दशौँ हजार गाउँले हिमाली खर्कतिर जान्छन् । त्यहाँ पुगेर उनीहरू हिमालका पाखामा निकै कष्टपूर्णरुपमा घिस्रिँदै माटो खोस्रेर ढुसी परेकाजस्ता साना–साना टुक्रा जम्मा गर्छन् । यी वस्तु कुनै महत्त्वपूर्ण बिरुवा होइनन्, बरु बहुमूल्य ढुसी हुन् जसलाई स्थानीयरुपमा यार्सागुम्बा भनिन्छ, जसको अर्थ ‘वर्षे घाँस, हिउँदे किरा’ हो । झुसिलकिराको ढुसी (क्याटरपिलर फंगस) पनि भनिने यो ओफिओकोर्डिसेप्स सिनेन्सिस एक प्रकारको परजीवी ढुसी हो । यसले झुसिलकिरालाई जमिनमुनि संक्रमित बनाउँछ । केही महिनामा यसले सो झुसिलकिरालाई नै अशक्त बनाएर खान्छ र विस्तारै बढ्दै बढ्दै झुसिलकिराको टाउकोबाट बाहिर निस्किन्छ र टुसाएजसरी जमिनबाहिर देखापर्छ । परम्परागत औषधिमा प्रयोग हुने हुँदा विगत २० वर्षमा यसको माग आकाशिएको छ, जसले गर्दा भाउ पनि अत्यन्तै महंगो हुने नै भयो । यार्साको जीवनचक्र र प्रयोग शरद् ऋतुमा ढुसीजन्य बीजाणुबाट झुसिलकिरा संक्रमित हुन्छ । हिउँदभरिमा त्यो ढुसी फैलिँदै जान्छ र झुसिलकिरालाई नै मार्छ । वसन्त ऋतुमा सो ढुसीले झुसिलकिराको टाउको फुटाएर बाहिर निस्किन्छ र माटोको सतहमा देखापर्छ । अनि, त्यसको दुई–तीन महिनाभित्र यसलाई संकलन गर्न सकिन्छ । यसरी आकार लिएको यार्साको स्वरूप केही नबिगारी जस्ताको तस्तै निकाल्नुपर्छ किनभने त्यसमा लाग्ने सामान्य क्षतिले पनि मूल्य स्वाट्टै घटाउँछ । माटोमाथि देखिएको भागलाई समाएर टिप्नुको साटो संकलनकर्ताले खाल्डो खनेर झिक्छन् । तर उनीहरूले प्रायः त्यस्ता खाल्डोहरू नपुरी त्यत्तिकै छाडेर फर्किन्छन्, जसले गर्दा हिमाली क्षेत्रको संवेनशील वासस्थान खलबलिन पुग्छ । यसरी संकलन गरिएको यार्सा परम्परागत तिब्बती तथा चिनियाँ औषधिमा प्रयोग गरिन्छ । त्यहाँका मानिसहरू यसबाट शरीरमा शक्ति, स्फूर्ति बढ्ने लगायतको उपचार हुने विश्वास गर्छन् । नेपालमा पाइने यार्साको कोरिया, ताइवान, हङकङ, म्यान्मार, थाइल्यान्ड र जापानलगायतका मुलुकबाट उच्च माग हुने गर्छ । हिमाली क्षेत्र तथा तिब्बती पठारबाहिर यार्सालाई ‘हिमालयन भियाग्रा’ र ‘हिमालयन गोल्ड’को रुपमा पनि चिनिन्छ । नेपालका कैयौँ हिमाली गाउँका परिवारका लागि यो मूल्यवान् ढुसी आम्दानीको मुख्य स्रोत बनेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने ती साना किसानहरूको आयआर्जनका अन्य स्रोत निकै सीमित छन् । केही जिल्लामा किसानले उत्पादन गर्ने अन्नले आफ्नै परिवारलाई वर्षको पाँच महिना खान पनि पुग्दैन । त्यसैले जीविकोपार्जनका लागि उनीहरू यार्सा संकलन र बिक्रीमा निर्भर छन् । यस विषयमा अनुसन्धान गर्ने क्रममा (जसलाई प्रकाशन गर्न बाँकी नै छ) मैले बझाङलगायतका नेपालका उत्तरपश्चिमी जिल्लामा त्यहाँका घरपरिवारको करिब ८७ प्रतिशत आम्दानी यार्सा बिक्रीमा निर्भर रहेको पाएँ । आयआर्जनको अन्य विकल्प पनि नभएको र यसबाट राम्रो कमाइ हुने भएकोले जतिसक्दो धेरै यार्सा जम्मा गर्न परिवारका सबै जना जुटेको पाइन्छ । मध्यवैशाखदेखि मध्यसाउनसम्म यो क्रम जारी रहन्छ । मे २०२१ मा पश्चिमी नेपालको बझाङ जिल्लास्थित सुर्मा गाउँपालिकाको एउटा खर्क । स्थानीय गाउँलेहरू यहाँ शिविर बनाएर बस्छन् र यसभन्दा अझ माथि गएर यार्सा संकलन गर्छन् । (तस्बिर / सञ्जय बिष्ट) तिब्बत, भुटान र भारतका उच्च भूभागमा अवस्थित यार्सा पाइने खर्कहरूमा पनि त्यहाँका समुदायको जीविकोपार्जनका लागि यार्सा संकलनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर उच्च माग र अत्यधिक संकलनका कारण यार्साको उपलब्धता घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले पनि यसलाई जोखिममा रहेको प्रजातिमा सूचीकृत गरेको छ । यसको अभाव जति बढ्छ, उति माग पनि बढ्दै जान्छ र यो दुश्चक्रले त्यस प्रजातिलाई थप संकटमा पार्छ । यार्सा बिक्रीबाट प्राप्त हुने मूल्यको अत्यन्त सानो अंशमात्र पाउँछन् संकलनकर्ताले यार्सा प्रतिकिलो ४० हजारदेखि ५० हजार अमेरिकी डलरसम्म मूल्यमा बिक्री हुन्छ । सन् २०१२ मा त बेइजिङमा यसको मूल्य १ लाख १० हजार अमेरिकी डलरसम्म पुगेको थियो । सन् २०२२ मा नेपाली टाइम्समा प्रकाशित समाचारका अनुसार यार्सा संकलनकर्तालाई प्रतिटुक्रा (एक ग्रामको पनि एक अंश तौल भएको) ३०० देखि ३५० रुपैयाँ प्रदान गरिएको थियो तर यदि यार्साको आकार ठूलो र सुनजस्तै पहेँलो भएमा १ हजार रुपैयाँसम्म दिइएको थियो । सन् १९८० को दशकको अन्त्यसम्म पनि यार्साको कुनै मूल्य पर्दैनथ्यो । त्यसैले हिमाली भेगका मानिसले त्यसलाई उनीहरूको गाउँमा सहजै नपाइने चुरोट, चाउचाउजस्ता उपभोग्य वस्तुसँग साट्ने गर्थे । सन् २००१ सम्ममा संकलनकर्ताले प्रतिगोटा २० देखि २५ रुपैयाँसम्म पाउनथाले । सन् २०११ सम्ममा यसको भाउ २०० देखि ६०० पुग्यो भने पछि २३ सय प्रतिशतसम्म मूल्य बढ्यो । बायाँ: मे २०२१ मा बझाङमा टिपिएको ताजा यार्सा । यसको रङअनुसार यो उच्च मूल्यमा बिक्री हुने देखिन्छ । (तस्बिर: सुमन रावल) लकडाउनको प्रतिबन्धले पनि रोक्न सकेन यार्सा संकलनलाई सन् २०२० मा कोभिड नियन्त्रणका लागि लकडाउन लागू भएका बेला यार्सा संकलनकर्ता परिवारहरू आफ्नै घरमा बस्न बाध्य भए । डोल्पा, मुस्ताङ, मुगु र बझाङलगायतका नेपालका सबै हिमाली जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले त्यस वर्षका लागि यार्सा संकलनमा बन्देज लगायो । नेपालको उत्तरी क्षेत्रमा पर्ने २६ जिल्लामा यार्सा पाइन्छ भने १३ जिल्लामा व्यावसायिकरुपमै संकलन गरिन्छ । त्यसमध्ये पनि यार्साको कुल व्यावसायिक कारोबारको ९५ प्रतिशत बझाङ, दार्चुला, डोल्पा, जुम्ला र मनाङमा मात्र हुन्छ । सन् २०२० को प्रतिबन्धले कस्तो प्रभाव पार्यो भनी जान्नका लागि मैले सन् २०२१ मा बझाङमा एक अध्ययन गरेँ । खाद्यान्न संकट भोग्ने गरेको यस जिल्लाका १०० जना मानिससँग मैले अन्तर्वार्ता गरेँ । अन्तर्वार्ता गरेकामध्ये ७२ प्रतिशतले जिल्ला प्रशासनले प्रतिबन्ध लगाए पनि आफूहरूले यार्सा संकलन गरेको बताए । परिवार पाल्नुपर्ने आवश्यकताले बाध्य भएर आफूहरूले त्यसो गरेको उनीहरूको भनाइ थियो । “बाँच्नका लागि यार्सागुम्बा संकलन गर्नुबाहेक अरु कुनै विकल्प नै छैन, किनभने खेतीपातीले मात्र हामीलाई खानै पुग्दैन,” अन्तर्वार्ता दिनेमध्ये एक जनाले मलाई भने । प्रशासनिक बन्देजका बाबजुद यार्सा संकलनका लागि सयौँ मानिस अवैधानिकरुपमा जम्मा भएका समाचार पनि आइरहेकै थिए । Recommended एक जना पूर्ववडाअध्यक्षले मलाई बताएअनुसार सन् २०२० मा सरकारी प्रतिबन्धको समेत प्रवाह गरिएन भने सन् २०२१ र २०२२ को संकलनको मौसममा सामान्यरुपमा संकलन कार्य जारी रह्यो र कतिपय ठाउँमा त संकलनकर्ताको संख्या झन् बढ्यो । संकटापन्न यस प्रजातिमाथि जथाभावी संकलनले थपेको संकट अत्यधिक संकलन तथा समय नपुग्दै टिप्नेलगायतका कैयौँ खतरा कायम छन् । संकलनकर्ताहरू लामो समयसम्म शिविर बनाएर बस्ने चलनले संवेदनशील क्षेत्र मानिने उच्च हिमाली खर्कको जैविक अवस्थामा असर पार्ने गरेको छ किनभने त्यहाँ बस्ने क्रममा आगो बाल्न रुख काट्ने तथा फोहोर छाडेर हिँड्नेलगायतका गतिविधिले त्यहाँ प्रतिकूल प्रभाव पार्छ । ठूलो संख्यामा मानिसहरू जम्मा हुँदा त्यहाँको माटो र वनस्पति कुल्चिने, माडिने हुँदा त्यहाँ रहेका सूक्ष्म वासस्थानहरू नष्ट हुन्छन्, ढुसीका बीजाणु र अन्य प्रजातिमा पनि प्रतिकूल असर पर्छ । ती क्षेत्रमा बढ्दो नाइट्रोजनको प्रदूषणले पनि ढुसीलाई असर गर्नसक्छ । जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको स्वरूप बदलिएको र त्यसले गर्दा यार्सा बन्ने र किराले ग्रहण गर्ने तरिकामै असर पार्ने हुँदा अवस्था थप जटिल बनेको छ । मे २०२१ म यार्सा टिप्नका लागि बझाङमा मानिसहरू यसरी शिविर बनाएर बसेका देखिन्छन् । उनीहरूका लागि आगो बाल्ने मुख्य स्रोत नै काठ हो । त्यसका लागि संवेदनशील हिमाली क्षेत्रमा रुख काट्ने र फोहोर अलपत्र छाडेर हिँड्ने सामान्य प्रचलन बनेको छ । (तस्बिर / सञ्जय बिष्ट) गत २० वर्षको अवधिमा यार्सा संकलन गर्न विगतभन्दा झन्–झन् कठिन बनिरहेको छ । डोल्पा जिल्लामा सन् २००६ मा मानिसहरूले यार्सा संकलनका लागि औसतमा १७ दिन बिताएका थिए । तर सन् २०१९ मा बझाङमा त्यसका लागि मानिसहरूले ७० दिन बिताएको मेरो अध्ययनमा देखिएको छ । पछिल्ला वर्षहरूमा यार्साको संख्या घट्ने क्रममा रहेको तर संकलनकर्ताको संख्या भने बढिरहेका कारण यसो भएको हुनसक्छ । “यार्सा निरन्तर घटिरहेको र संकलनकर्ताहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनिरहेका कारण अवस्था बिग्रिँदो छ,” ती पूर्ववडाअध्यक्षले भने । ११नेपालमा फेला परेका ओफिओकोर्डिसेप्स प्रजातिको संख्या । विश्वभर ५०० भन्दा बढी प्रजाति पाइन्छन् । संकलनकर्ता थोरै भए समुदायलाई पनि फाइदा हुन्छ भने सो क्षेत्रमा दबाब पनि कम हुन्छ । सन् २०२० मा अवैधरुपमा यार्सा संकलन गर्नेहरूले त्यहाँ औसतमा ४५ दिन बिताएको मेरो अध्ययनमा देखिएको छ । त्यहाँ संकलनकर्ताको संख्या कम हुँदा उनीहरूले थोरै दिनमा धेरै यार्सा जम्मा गर्न सकेका थिए । त्यसभन्दा पहिले एक जना व्यक्तिले प्रतिदिन औसतमा ०.९४ ग्राम संकलन गर्नसक्थे भने सन् २०२० मा औसतमा २.०१ ग्राम संकलन गरेका थिए । “पक्राउ पर्नसक्ने डर हुँदाहुँदै पनि हामी प्रतिबन्धकै बेलामा समेत संकलन क्षेत्रमा गयौँ र कम प्रतिस्पर्धा भएका कारण अरु बेलाभन्दा प्रतिदिन बढी संकलन गर्नसक्यौँ,” मैले अन्तर्वार्ता गरेका एक जनाले भने । संकलनको दिगो व्यवस्थापन आवश्यक छ कोभिड महामारीका बेला गरिएको प्रतिबन्ध निष्प्रभावी भएबाट पनि यार्सा संकलनमा अब नयाँ पहलकदमी गर्न आवश्यक छ भन्ने देखाउँछ । यार्सा संकलन गरिने ठूला पाटनहरू खुला सीमामा फैलिएका हुन्छन् । कठोर भौगोलिक अवस्था र सरकारको सीमित साधनस्रोतले गर्दा यार्सा संकलनमा अनुगमन तथा नियमन गर्न सहज छैन । संकलनकर्ताहरूले अनुमति लिनुपर्छ र केही जिल्लाले त्यसका लागि सीमित संख्या (कोटा) र संकलन गर्ने दिन पनि तोकेका छन् । यस्ता नियम र लागू गर्ने तौरतरिका भने जिल्लाअनुसार फरक–फरक छन् । यार्सामाथि स्थानीय समुदायहरू कतिसम्म निर्भर छन् र यो प्रजाति मासिँदै जाँदा कस्तो संकट आइपर्न सक्छ भन्ने दृष्टान्तलाई कोभिड लकडाउनका बेला भएका घटनाले थप उजागर गरेको छ । यार्सामाथि स्थानीय समुदायहरू कतिसम्म निर्भर छन् र यो प्रजाति मासिँदै जाँदा कस्तो संकट आइपर्न सक्छ भन्ने दृष्टान्तलाई कोभिड लकडाउनका बेला भएका घटनाले थप उजागर गरेको छ । संकलनकर्ताहरूको आवश्यकता र त्यस क्षेत्रको वासस्थान संरक्षणबीच सन्तुलन कायम राख्नका लागि दिगो यार्सा संकलनसम्बन्धी एक राष्ट्रियस्तरको अवधारणा बनाउन आवश्यक छ । यस्तो ढाँचा चाहिन्छ: संकलन निर्देशिका । प्रतिवर्गकिलोमिटर क्षेत्रमा कति मात्रामा संकलन गर्न पाइने भनी निश्चित कोटा तोक्ने तथा त्यहाँको इकोसिस्टम (पारिस्थितिक प्रणाली) मा क्षति पुग्नबाट रोक्ने प्रविधिको प्रवर्ध्दन गर्नेलगायतका विषय यसमा समेटिन्छ । संकलकहरूले यार्सा खोज्ने क्रममा खनेका खाल्टाहरू पुरेर छाड्ने, आफूले गरेको फोहोर व्यवस्थापन गर्ने र ती पाखामा रहँदा वैकल्पिक ऊर्जा स्रोतको प्रयोग गर्नेछन् । संकलकहरूको व्यवस्थापन । संकलन गर्ने क्षेत्रमा पहुँच प्रदान गर्दा गरिब घरपरिवारलाई प्राथमिकता दिने, संकलकहरूको संख्यालाई समग्रमा घटाउने, र संकलन अवधिमा होसियारीपूर्वक अनुगमन गर्ने । संकलनकर्ताहरू कम्तीमा १८ वर्ष उमेर पुगेको र संकलन क्षेत्रमा प्रवेश गर्नका लागि परिचयपत्र बोकेको हुनुपर्ने । गरिबी न्यूनीकरण । गरिब व्यक्तिहरूलाई वित्तीय संस्थाहरूबाट कम ब्याजमा ऋण उपलब्ध गराउने । अहिले गाउँका धनी व्यक्तिहरूले गरिब मानिसलाई ऋण दिँदा उच्च ब्याजदर लिने गर्छन् । यसरी मानिसहरूलाई ऋणको दुश्चक्रबाट मुक्त गर्नसके गरिबीका कारण भइरहेको यार्साको अधिक दोहनलाई कम गर्न सकिन्छ । जीविकोपार्जनको विविधीकरण । जीविकोपार्जनका लागि यार्सामाथिको निर्भरतालाई कम गर्नका लागि गैरकाष्ठ वन्य उत्पादन र अन्य क्षेत्रमा विकल्प खोज्ने । अध्ययन तथा अनुगमन गरी सो क्षेत्रको पारिस्थितिक प्रणालीको स्वास्थ्य बुझ्ने । यसो गर्दा सो क्षेत्रले धान्नसक्ने क्षमता निर्धारण गर्न र त्यहाँबाट संकलन गर्न सकिने यार्साको मात्रा कति हुनसक्छ भनी तय गर्न एउटा अध्ययन गर्ने कुरा यसमा समेटिनुपर्छ । थप पढ्नुहोस् आलेख जैविक विविधता उकालो चढ्दै मिचाहा प्रजाति, हिमाली पारिस्थितिक प्रणालीमा जोखिम थपिँदै आलेख जैविक विविधता Climate change hits harvest of one of world’s priciest mushrooms in Himalayas आलेख संकटापन्न प्रजाती अर्नाको संख्या ब्युँताउने महत्त्वाकांक्षी प्रयासमा नेपालको असफलता आलेख जलविद्युत जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा आलेख वन्यजन्तु अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ आलेख पानी अभाव नेपाल–भारत बाढी पूर्वसूचना प्रणालीमा समुदायकाे सहकार्यले जनधनको क्षति घट्याे आलेख अभियना चिपकाे आन्दोलनको ५० वर्षः आफ्नै जीवनकालमा भोगेको परिवर्तनबारे उत्तराखण्डका गाउँलेको वर्णन आलेख वार्ता कोप २७ को एकमात्र सफलता हानि–नोक्सानी क्षतिपूर्ति कोष शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय