हरेक वर्ष जेठ महिनाको सुरुवातबाट जब हिमालमा हिउँ पग्लिन थाल्छ, तब नेपालका उत्तरी जिल्लाहरूमा बसोबास गर्ने दशौँ हजार गाउँले हिमाली खर्कतिर जान्छन् । त्यहाँ पुगेर उनीहरू हिमालका पाखामा निकै कष्टपूर्णरुपमा घिस्रिँदै माटो खोस्रेर ढुसी परेकाजस्ता साना–साना टुक्रा जम्मा गर्छन् । यी वस्तु कुनै महत्त्वपूर्ण बिरुवा होइनन्, बरु बहुमूल्य ढुसी हुन् जसलाई स्थानीयरुपमा यार्सागुम्बा भनिन्छ, जसको अर्थ ‘वर्षे घाँस, हिउँदे किरा’ हो ।
झुसिलकिराको ढुसी (क्याटरपिलर फंगस) पनि भनिने यो ओफिओकोर्डिसेप्स सिनेन्सिस एक प्रकारको परजीवी ढुसी हो । यसले झुसिलकिरालाई जमिनमुनि संक्रमित बनाउँछ । केही महिनामा यसले सो झुसिलकिरालाई नै अशक्त बनाएर खान्छ र विस्तारै बढ्दै बढ्दै झुसिलकिराको टाउकोबाट बाहिर निस्किन्छ र टुसाएजसरी जमिनबाहिर देखापर्छ । परम्परागत औषधिमा प्रयोग हुने हुँदा विगत २० वर्षमा यसको माग आकाशिएको छ, जसले गर्दा भाउ पनि अत्यन्तै महंगो हुने नै भयो ।
शरद् ऋतुमा ढुसीजन्य बीजाणुबाट झुसिलकिरा संक्रमित हुन्छ । हिउँदभरिमा त्यो ढुसी फैलिँदै जान्छ र झुसिलकिरालाई नै मार्छ । वसन्त ऋतुमा सो ढुसीले झुसिलकिराको टाउको फुटाएर बाहिर निस्किन्छ र माटोको सतहमा देखापर्छ । अनि, त्यसको दुई–तीन महिनाभित्र यसलाई संकलन गर्न सकिन्छ ।
यसरी आकार लिएको यार्साको स्वरूप केही नबिगारी जस्ताको तस्तै निकाल्नुपर्छ किनभने त्यसमा लाग्ने सामान्य क्षतिले पनि मूल्य स्वाट्टै घटाउँछ । माटोमाथि देखिएको भागलाई समाएर टिप्नुको साटो संकलनकर्ताले खाल्डो खनेर झिक्छन् । तर उनीहरूले प्रायः त्यस्ता खाल्डोहरू नपुरी त्यत्तिकै छाडेर फर्किन्छन्, जसले गर्दा हिमाली क्षेत्रको संवेनशील वासस्थान खलबलिन पुग्छ ।
यसरी संकलन गरिएको यार्सा परम्परागत तिब्बती तथा चिनियाँ औषधिमा प्रयोग गरिन्छ । त्यहाँका मानिसहरू यसबाट शरीरमा शक्ति, स्फूर्ति बढ्ने लगायतको उपचार हुने विश्वास गर्छन् । नेपालमा पाइने यार्साको कोरिया, ताइवान, हङकङ, म्यान्मार, थाइल्यान्ड र जापानलगायतका मुलुकबाट उच्च माग हुने गर्छ ।
हिमाली क्षेत्र तथा तिब्बती पठारबाहिर यार्सालाई ‘हिमालयन भियाग्रा’ र ‘हिमालयन गोल्ड’को रुपमा पनि चिनिन्छ ।
नेपालका कैयौँ हिमाली गाउँका परिवारका लागि यो मूल्यवान् ढुसी आम्दानीको मुख्य स्रोत बनेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने ती साना किसानहरूको आयआर्जनका अन्य स्रोत निकै सीमित छन् । केही जिल्लामा किसानले उत्पादन गर्ने अन्नले आफ्नै परिवारलाई वर्षको पाँच महिना खान पनि पुग्दैन । त्यसैले जीविकोपार्जनका लागि उनीहरू यार्सा संकलन र बिक्रीमा निर्भर छन् । यस विषयमा अनुसन्धान गर्ने क्रममा (जसलाई प्रकाशन गर्न बाँकी नै छ) मैले बझाङलगायतका नेपालका उत्तरपश्चिमी जिल्लामा त्यहाँका घरपरिवारको करिब ८७ प्रतिशत आम्दानी यार्सा बिक्रीमा निर्भर रहेको पाएँ ।
आयआर्जनको अन्य विकल्प पनि नभएको र यसबाट राम्रो कमाइ हुने भएकोले जतिसक्दो धेरै यार्सा जम्मा गर्न परिवारका सबै जना जुटेको पाइन्छ । मध्यवैशाखदेखि मध्यसाउनसम्म यो क्रम जारी रहन्छ ।
तिब्बत, भुटान र भारतका उच्च भूभागमा अवस्थित यार्सा पाइने खर्कहरूमा पनि त्यहाँका समुदायको जीविकोपार्जनका लागि यार्सा संकलनले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । तर उच्च माग र अत्यधिक संकलनका कारण यार्साको उपलब्धता घट्दो क्रममा छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले पनि यसलाई जोखिममा रहेको प्रजातिमा सूचीकृत गरेको छ । यसको अभाव जति बढ्छ, उति माग पनि बढ्दै जान्छ र यो दुश्चक्रले त्यस प्रजातिलाई थप संकटमा पार्छ ।
यार्सा प्रतिकिलो ४० हजारदेखि ५० हजार अमेरिकी डलरसम्म मूल्यमा बिक्री हुन्छ । सन् २०१२ मा त बेइजिङमा यसको मूल्य १ लाख १० हजार अमेरिकी डलरसम्म पुगेको थियो ।
सन् २०२२ मा नेपाली टाइम्समा प्रकाशित समाचारका अनुसार यार्सा संकलनकर्तालाई प्रतिटुक्रा (एक ग्रामको पनि एक अंश तौल भएको) ३०० देखि ३५० रुपैयाँ प्रदान गरिएको थियो तर यदि यार्साको आकार ठूलो र सुनजस्तै पहेँलो भएमा १ हजार रुपैयाँसम्म दिइएको थियो ।
सन् १९८० को दशकको अन्त्यसम्म पनि यार्साको कुनै मूल्य पर्दैनथ्यो । त्यसैले हिमाली भेगका मानिसले त्यसलाई उनीहरूको गाउँमा सहजै नपाइने चुरोट, चाउचाउजस्ता उपभोग्य वस्तुसँग साट्ने गर्थे । सन् २००१ सम्ममा संकलनकर्ताले प्रतिगोटा २० देखि २५ रुपैयाँसम्म पाउनथाले । सन् २०११ सम्ममा यसको भाउ २०० देखि ६०० पुग्यो भने पछि २३ सय प्रतिशतसम्म मूल्य बढ्यो ।
बायाँ: मे २०२१ मा बझाङमा टिपिएको ताजा यार्सा । यसको रङअनुसार यो उच्च मूल्यमा बिक्री हुने देखिन्छ । (तस्बिर: सुमन रावल)
लकडाउनको प्रतिबन्धले पनि रोक्न सकेन यार्सा संकलनलाई
सन् २०२० मा कोभिड नियन्त्रणका लागि लकडाउन लागू भएका बेला यार्सा संकलनकर्ता परिवारहरू आफ्नै घरमा बस्न बाध्य भए । डोल्पा, मुस्ताङ, मुगु र बझाङलगायतका नेपालका सबै हिमाली जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले त्यस वर्षका लागि यार्सा संकलनमा बन्देज लगायो ।
नेपालको उत्तरी क्षेत्रमा पर्ने २६ जिल्लामा यार्सा पाइन्छ भने १३ जिल्लामा व्यावसायिकरुपमै संकलन गरिन्छ । त्यसमध्ये पनि यार्साको कुल व्यावसायिक कारोबारको ९५ प्रतिशत बझाङ, दार्चुला, डोल्पा, जुम्ला र मनाङमा मात्र हुन्छ ।
सन् २०२० को प्रतिबन्धले कस्तो प्रभाव पार्यो भनी जान्नका लागि मैले सन् २०२१ मा बझाङमा एक अध्ययन गरेँ । खाद्यान्न संकट भोग्ने गरेको यस जिल्लाका १०० जना मानिससँग मैले अन्तर्वार्ता गरेँ । अन्तर्वार्ता गरेकामध्ये ७२ प्रतिशतले जिल्ला प्रशासनले प्रतिबन्ध लगाए पनि आफूहरूले यार्सा संकलन गरेको बताए । परिवार पाल्नुपर्ने आवश्यकताले बाध्य भएर आफूहरूले त्यसो गरेको उनीहरूको भनाइ थियो । “बाँच्नका लागि यार्सागुम्बा संकलन गर्नुबाहेक अरु कुनै विकल्प नै छैन, किनभने खेतीपातीले मात्र हामीलाई खानै पुग्दैन,” अन्तर्वार्ता दिनेमध्ये एक जनाले मलाई भने । प्रशासनिक बन्देजका बाबजुद यार्सा संकलनका लागि सयौँ मानिस अवैधानिकरुपमा जम्मा भएका समाचार पनि आइरहेकै थिए ।
एक जना पूर्ववडाअध्यक्षले मलाई बताएअनुसार सन् २०२० मा सरकारी प्रतिबन्धको समेत प्रवाह गरिएन भने सन् २०२१ र २०२२ को संकलनको मौसममा सामान्यरुपमा संकलन कार्य जारी रह्यो र कतिपय ठाउँमा त संकलनकर्ताको संख्या झन् बढ्यो ।
संकटापन्न यस प्रजातिमाथि जथाभावी संकलनले थपेको संकट
अत्यधिक संकलन तथा समय नपुग्दै टिप्नेलगायतका कैयौँ खतरा कायम छन् । संकलनकर्ताहरू लामो समयसम्म शिविर बनाएर बस्ने चलनले संवेदनशील क्षेत्र मानिने उच्च हिमाली खर्कको जैविक अवस्थामा असर पार्ने गरेको छ किनभने त्यहाँ बस्ने क्रममा आगो बाल्न रुख काट्ने तथा फोहोर छाडेर हिँड्नेलगायतका गतिविधिले त्यहाँ प्रतिकूल प्रभाव पार्छ । ठूलो संख्यामा मानिसहरू जम्मा हुँदा त्यहाँको माटो र वनस्पति कुल्चिने, माडिने हुँदा त्यहाँ रहेका सूक्ष्म वासस्थानहरू नष्ट हुन्छन्, ढुसीका बीजाणु र अन्य प्रजातिमा पनि प्रतिकूल असर पर्छ ।
ती क्षेत्रमा बढ्दो नाइट्रोजनको प्रदूषणले पनि ढुसीलाई असर गर्नसक्छ । जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको स्वरूप बदलिएको र त्यसले गर्दा यार्सा बन्ने र किराले ग्रहण गर्ने तरिकामै असर पार्ने हुँदा अवस्था थप जटिल बनेको छ ।
गत २० वर्षको अवधिमा यार्सा संकलन गर्न विगतभन्दा झन्–झन् कठिन बनिरहेको छ । डोल्पा जिल्लामा सन् २००६ मा मानिसहरूले यार्सा संकलनका लागि औसतमा १७ दिन बिताएका थिए । तर सन् २०१९ मा बझाङमा त्यसका लागि मानिसहरूले ७० दिन बिताएको मेरो अध्ययनमा देखिएको छ । पछिल्ला वर्षहरूमा यार्साको संख्या घट्ने क्रममा रहेको तर संकलनकर्ताको संख्या भने बढिरहेका कारण यसो भएको हुनसक्छ ।
“यार्सा निरन्तर घटिरहेको र संकलनकर्ताहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनिरहेका कारण अवस्था बिग्रिँदो छ,” ती पूर्ववडाअध्यक्षले भने ।
११
नेपालमा फेला परेका ओफिओकोर्डिसेप्स प्रजातिको संख्या । विश्वभर ५०० भन्दा बढी प्रजाति पाइन्छन् ।
संकलनकर्ता थोरै भए समुदायलाई पनि फाइदा हुन्छ भने सो क्षेत्रमा दबाब पनि कम हुन्छ । सन् २०२० मा अवैधरुपमा यार्सा संकलन गर्नेहरूले त्यहाँ औसतमा ४५ दिन बिताएको मेरो अध्ययनमा देखिएको छ । त्यहाँ संकलनकर्ताको संख्या कम हुँदा उनीहरूले थोरै दिनमा धेरै यार्सा जम्मा गर्न सकेका थिए । त्यसभन्दा पहिले एक जना व्यक्तिले प्रतिदिन औसतमा ०.९४ ग्राम संकलन गर्नसक्थे भने सन् २०२० मा औसतमा २.०१ ग्राम संकलन गरेका थिए ।
“पक्राउ पर्नसक्ने डर हुँदाहुँदै पनि हामी प्रतिबन्धकै बेलामा समेत संकलन क्षेत्रमा गयौँ र कम प्रतिस्पर्धा भएका कारण अरु बेलाभन्दा प्रतिदिन बढी संकलन गर्नसक्यौँ,” मैले अन्तर्वार्ता गरेका एक जनाले भने ।
संकलनको दिगो व्यवस्थापन आवश्यक छ
कोभिड महामारीका बेला गरिएको प्रतिबन्ध निष्प्रभावी भएबाट पनि यार्सा संकलनमा अब नयाँ पहलकदमी गर्न आवश्यक छ भन्ने देखाउँछ ।
यार्सा संकलन गरिने ठूला पाटनहरू खुला सीमामा फैलिएका हुन्छन् । कठोर भौगोलिक अवस्था र सरकारको सीमित साधनस्रोतले गर्दा यार्सा संकलनमा अनुगमन तथा नियमन गर्न सहज छैन । संकलनकर्ताहरूले अनुमति लिनुपर्छ र केही जिल्लाले त्यसका लागि सीमित संख्या (कोटा) र संकलन गर्ने दिन पनि तोकेका छन् । यस्ता नियम र लागू गर्ने तौरतरिका भने जिल्लाअनुसार फरक–फरक छन् ।
यार्सामाथि स्थानीय समुदायहरू कतिसम्म निर्भर छन् र यो प्रजाति मासिँदै जाँदा कस्तो संकट आइपर्न सक्छ भन्ने दृष्टान्तलाई कोभिड लकडाउनका बेला भएका घटनाले थप उजागर गरेको छ ।
यार्सामाथि स्थानीय समुदायहरू कतिसम्म निर्भर छन् र यो प्रजाति मासिँदै जाँदा कस्तो संकट आइपर्न सक्छ भन्ने दृष्टान्तलाई कोभिड लकडाउनका बेला भएका घटनाले थप उजागर गरेको छ । संकलनकर्ताहरूको आवश्यकता र त्यस क्षेत्रको वासस्थान संरक्षणबीच सन्तुलन कायम राख्नका लागि दिगो यार्सा संकलनसम्बन्धी एक राष्ट्रियस्तरको अवधारणा बनाउन आवश्यक छ ।
यस्तो ढाँचा चाहिन्छ:
- संकलन निर्देशिका । प्रतिवर्गकिलोमिटर क्षेत्रमा कति मात्रामा संकलन गर्न पाइने भनी निश्चित कोटा तोक्ने तथा त्यहाँको इकोसिस्टम (पारिस्थितिक प्रणाली) मा क्षति पुग्नबाट रोक्ने प्रविधिको प्रवर्ध्दन गर्नेलगायतका विषय यसमा समेटिन्छ । संकलकहरूले यार्सा खोज्ने क्रममा खनेका खाल्टाहरू पुरेर छाड्ने, आफूले गरेको फोहोर व्यवस्थापन गर्ने र ती पाखामा रहँदा वैकल्पिक ऊर्जा स्रोतको प्रयोग गर्नेछन् ।
- संकलकहरूको व्यवस्थापन । संकलन गर्ने क्षेत्रमा पहुँच प्रदान गर्दा गरिब घरपरिवारलाई प्राथमिकता दिने, संकलकहरूको संख्यालाई समग्रमा घटाउने, र संकलन अवधिमा होसियारीपूर्वक अनुगमन गर्ने । संकलनकर्ताहरू कम्तीमा १८ वर्ष उमेर पुगेको र संकलन क्षेत्रमा प्रवेश गर्नका लागि परिचयपत्र बोकेको हुनुपर्ने ।
- गरिबी न्यूनीकरण । गरिब व्यक्तिहरूलाई वित्तीय संस्थाहरूबाट कम ब्याजमा ऋण उपलब्ध गराउने । अहिले गाउँका धनी व्यक्तिहरूले गरिब मानिसलाई ऋण दिँदा उच्च ब्याजदर लिने गर्छन् । यसरी मानिसहरूलाई ऋणको दुश्चक्रबाट मुक्त गर्नसके गरिबीका कारण भइरहेको यार्साको अधिक दोहनलाई कम गर्न सकिन्छ ।
- जीविकोपार्जनको विविधीकरण । जीविकोपार्जनका लागि यार्सामाथिको निर्भरतालाई कम गर्नका लागि गैरकाष्ठ वन्य उत्पादन र अन्य क्षेत्रमा विकल्प खोज्ने ।
- अध्ययन तथा अनुगमन गरी सो क्षेत्रको पारिस्थितिक प्रणालीको स्वास्थ्य बुझ्ने । यसो गर्दा सो क्षेत्रले धान्नसक्ने क्षमता निर्धारण गर्न र त्यहाँबाट संकलन गर्न सकिने यार्साको मात्रा कति हुनसक्छ भनी तय गर्न एउटा अध्ययन गर्ने कुरा यसमा समेटिनुपर्छ ।