प्रकृति

डल्फिन, माझी र पवित्र नदी

गङ्गाको नियतीः आरक्ष क्षेत्रमा डल्फिन छैन, नदी किनारमा माझी छन्, नदीमा माछा छैन ।
नेपाली
<p>Fishermen on the Ganga [image by Arati Kumar-Rao]</p>

Fishermen on the Ganga [image by Arati Kumar-Rao]

झ्वाट्ट हेर्दा पूर्वी बिहारमा रहेको गङ्गा नदी सुन्दर पवित्र नदी जस्तो देखिन्छ । विक्रमशिला गङ्गा डल्फिन आरक्षण (भिजिडिएस्) जत्तिको सुन्दर ठाउँ शायदै भेटिएला । गङ्गा नदीको सुल्तानगञ्जदेखि कहालगावँसम्मको ६७ किलोमिटर लम्बाइ भारतको राष्ट्रिय जलचर – आखाँ नदेख्ने, बाँकटे पौडी खेल्ने – डल्फिनको (वैज्ञानिक नामःPlatanista gangetica gangetica) एकमात्र सरकारी आरक्ष हो । मसँग एक दशकभन्दा बढी डल्फिन र माछा पर्यावरणमा काम गरेका शोधकर्ताहरु, अशोका ट्रष्ट फर रिसर्च अन इकोलोजी एण्ड इन्भार्मेन्टका नचिकेत केल्कर र विक्रमशिला बायोडाइभर्सिटी रिसर्च एण्ड एजुकेशन सेन्टरका सुभाशिस दे छन् ।

तल्लो गङ्गा

बिहार हुँदै पूर्वतर्फ बगेको गङ्गा नदीको तल्लो तटीय क्षेत्रमा हामी डुङ्गामा सवार छौँ । पर दक्षिणी किनारमा लहरै ताडीका रुखहरु देखिन्छन् । केही दशकअघि सम्म नदीको पानी यी ताडीका रुखहरुसम्मै पुग्थ्यो । अहिले पानीको सतह आधा किलोमिटर पर छ । गङ्गा नदीमा पानीको घट्दो सतहको यो पहिलो प्रमाण हो । पछिल्ला वर्षहरुमा गङ्गामा पानीको सतह निरन्तर ओरालो लाग्दै छ । नदीको गहिराइ नाप्ने सेन्सरका अनुसार, यो साल वर्षा सुरु हुनुभन्दा अघिको सुक्खा मौसममा गङ्गामा पानीको मात्रा अहिलेसम्मै सबैभन्दा कम थियो ।

पानीको सतहबाट एक हातजति माथि उठेका ‘दायरा‘ भनिने आँशुका ढिक्का आकारका टापुहरुमा ठाउँ ठाउँमा नरकटका गाँज र अन्य घाँस देखिन्छन् । नदीले बगाएर ल्याउने पाँगो माटोका यी धापिला टापुमा चराचुरुङ्गी र अन्य वनस्पति प्राणीको प्रचुरता छ । एकातिरको किनारमा एक जोडी धनेश जस्ता देखिने चरा बसेका छन् भने कलहंसको बथानले अर्को किनार ढाकेको छ । सारसहरु ढापमा आहारा खोज्दैछन् । घाम तापिरहेका कछुवाहरु हाम्रो डुङ्गाको पुट–पुट आवाजले तर्सेर नदीमा फाल हान्छन् । नदीको दुवै किनारामा माटोका भित्ताहरुमा ठाउँ ठाउँमा खोपाहरु छन् । मैना चरी यी खोपाबाट बाहिर निस्कँदै नदीमा डुबुल्की मार्दै भित्र जाँदै गर्छन् ।

पाँगो माटोले गङ्गा नदीलाई उर्वर बनाउँदै छ । [तस्वीर आरती कुमार–राव]
पाँगो माटोले गङ्गा नदीलाई उर्वर बनाउँदै छ । [तस्वीर आरती कुमार–राव]
एक भिमकाय गलेगण्ड चरा डराउँदै हामीतिर हेर्दै हिलोमा हिँड्दै अघि बढ्छ । अन्य दुई गलेगण्ड आफ्ना विशाल पखेँटा फिँजाएर टापुमाथि उँड्दै छन् । अर्को चौथो गलेगण्ड चाहिँ भद्दा तरिकाले दायरामा टेक्छ । पूर्वी बिहारको यो क्षेत्र लोपोन्मुख प्रजाती गलेगण्डको प्रजनन् स्थल हो । यहाँ ३०० गलेगण्ड रहेको बताइन्छ । संसारभर यीनका यस्ता प्रजनन् स्थल तीन ठाउँमा मात्रै छन् ।

गङ्गा–ब्रम्हपुत्र–मेघना नदीमा पाँगो माटोले बनाएका यी दायराहरुमा किसानहरुले खेती गर्दै आएका छन् । पाँगो माटो ज्यादै मलिलो हुन्छ । पाँगो माटोमा फलेको तरकारी संसारकै सबैभन्दा स्वादिलो हुन्छ भन्ने यस भेगमा विश्वास छ । पाँगो माटोले यहाँका फाँटलाई खाद्यान्यको स्रोत बनाएको छ । पाँगो माटोले नै डेल्टा बनाउँछ । पाँगो दक्षिण एसियाकै नपत्याँदो हिरो हो । गङ्गा नदी सम्भवत संसारकै सबैभन्दा बढी पाँगो भएको नदी हो । शायद अमेजन भन्दा पनि बढी ।गङ्गा नदी यहाँबाट झण्डै १५०० किलोमिटर पश्चिमोत्तर उत्तराखण्डको हिमालयमा रहेको गङ्गोत्री हिमनदीबाट भगिरथीको नामबाट बग्न सुरु गर्छ । देवप्रयागमा आएर अलाकान्द नदीसँग मिसिने यो नदीले पहाडबाट बग्दा आफूसँग थुप्रै पाँगो बगाउँदै ल्याउँछ । पहाड छोडेर ऋषिकेशबाट हरिद्वार हुँदै यो उत्तर प्रदेशको समथर फाँटमा प्रवेश गर्छ ।

गलेगण्डको भिमकाय स्वरुप । [तस्वीर आरती कुमार–राव]
गलेगण्डको भिमकाय स्वरुप । [तस्वीर आरती कुमार–राव]
कानपुरसम्म आइपुग्दा यो पवित्र नदी फोहोर हुन थाल्छ । यो क्षेत्रमा नदीबाट पानी यति दोहन गरिएको छ कि अलाहबादसम्म पुग्दा नदी लेदोमा मात्र सिमित हुन्छ । त्यसपछि यमुना नदीमा मिसिएर आउने चम्बालाको पानीले गङ्गामा प्राण भरिदिन्छ । विज्ञानले जेसुकै भने पनि गङ्गाको पानीले वाराणसीमा पुगेपछि लाखौँको पाप पखालिदिन्छ । यहाँबाट यो रसायन, ढल र मान्छेका लाश बगाउँदै अघि बढ्छ । त्यसपछि गङ्गा नदी बिहारतर्फ अघि बढ्छ ।

आधुनिक सभ्यताका फैँलिदा सहर र तीनका भद्रगोल सामना गर्दै आखिरमा नदीले पुनः त्राण पाउँछ । नेपालबाट आउने घाङ्ग्रा, गण्डक र कोशी नदीले गङ्गा नदीलाई नयाँ जीवन दिन्छ । बिहारमा बग्ने गङ्गा नदी यसका सहायक नदीहरुको योग हो । गङ्गा नदी नागबेली पर्दै, लच्छा फिजाउँदै बिहारका फाँट हुँदै, यहाँबाट झण्डै एक हजार किलोमिटर बगेर पश्चिम बङ्गाल बङ्लादेश हुँदै बङ्गालको खाडीसम्म पुग्छ ।

map

नदी डल्फिनको खोजीमा

हामी गङ्गाको तल्लो फाँटमा छौ। साना साना दायराहरुलाई फन्को मारेर गङ्गा नदीले एक चाप बनाएको छ । यी पाँगोका ढापहरु न त पूरै जमिन हुन् न त पानी नै । पानी पर्ला पर्ला जस्तो छ । पानी परेपछि नदीको बहाव नै छुट्टै हुन्छ । माथिल्लो तटीय क्षेत्रमा भोगेका पीडा भुल्दै यो उन्मुक्त बग्नेछ । आकाशबाट वर्षने पानीले ती तीता सम्झना बगाइदिनेछ ।डल्फिन सर्वेक्षण डुङ्गाको तल्लो अवलोकन स्थलबाट, दुई जोडी अभ्यस्त आँखाहरु र एक जोडी सिकारु आँखाले केही खोज्दैछन् – एक अनुपम जीव । बाँकटे हान्दै सास लिन सुलुत्त परेको खैरो थुतुनो पानीको सतहबाट बाहिर निकाल्दै उफ्रने ग्याङ्गेटिक डल्फिन । नदी किनारबाट हेलिँदै गर्दा हामीले एउटा डल्फिन देखेका थियौँ । तर त्यसपछि एउटा पनि देखिएको छैन । मसँग रहेका शोधकर्ता साथीहरु भन्छन् – यो मनसुनपूर्वको समयमा डल्फिन नदेखिनु अनौठो हो । सामान्यतयाः यो मौसममा यत्तिमा पनि ७० देखि १०० डल्फिन देखिने गर्थे ।

हामी चार किलोमिटर लामो विक्रमशिला पुल कटेर जान्छोँ र त्यसपछि खुला मसानघाटहरु पनि कट्छोँ । पर भागलपुर इन्जिनियरिङ् कलेजको होस्टेल देखिन्छ । यहाँभन्दा पर जानु सुरक्षित छैन । त्यहाँ घोडसवार बन्दुकधारीहरु हातमा कालो झण्डा लिएर लुट्न बसेका हुन्छन् । उनीहरुले भनेको नमानेमा तिनीहरुले मारिदिन पनि सक्छन् ।डुङ्गा फर्काएर हामी सुल्तानगञ्ज घाट तर्फ लाग्छौँ । वर्षौँदेखि १५ – २० डल्फिन विचरण गर्ने यस ठाउँमा अहिले एउटै डल्फिन देखिँदैन ।

भारतको राष्ट्रिय जलचर कहाँ गयो होला ? आरक्षणमा पनि यो किन देखिएन ? हामी छलफल गर्न थाल्छौँ, अनुमान लाउन थाल्छौँ । कसैले बल्छी थापेर लग्यो कि ? वा तिनीहरु तलतिर बसाईँ सरे कि ? वा भारत सरकारको राष्ट्रिय जलमार्ग परियोजनाको लागि नदीबाट लेदो निकाल्दा उनीहरुलाई असर पर्यो कि ? वा अन्य कुनै कारणले ती मरे कि ? उत्तर भेटिएन । तर स्तब्धत र चिन्ता थियो ।

अनि माछा चाहिँ कता गए त?

कागजीरुपमा भिजिडिएस् संरक्षित क्षेत्र हो । तर यो घना मानव वस्तीको बीचमा पर्छ । सुल्तानगञ्ज देखि आरक्षणको पूर्वी सीमा कहालगाउँ सम्मका मानिसले नदी विभिन्न प्रयोजनको लागि उपयोग गर्छन् । पुस्तौँदेखि माछा मार्ने पेशामा निर्भर झण्डै ३००० माझी परिवार छन् । हामी त्यहाँ बसुन्जेल कस्ता कस्ता माछा विक्रीका लागि राखिएका छन् हेर्न हरेक बिहान माछा बजार जान्थ्यौँ । नदीमा रहेको माछाको विविधताको बुझ्ने यो नै उत्तम उपाय थियो ।

कहालगाउँको माछा बजार अङ्ग्रेजी अक्षर ‘एम’ आकारको छ । ८ फिट चौ १० फिट लम्बाइका पहेँला हरिया नीला र बैजनी रङका रङ्गी बिरङ्गी छाप्रे पसलहरु लहरै उभिएका छन् । हरेक पसलको अघिल्तिर ठुलो तराजु झुण्ड्याइएको छ । छेउमा सिमेन्ट टिप्कार गरिएको तर ठाउँ ठाउँमा भत्किएको भुइँमा खात लगाएर ढकहरु राखिएका छन् । बजारको एक छेउमा बरफ टुक्र्याउने मेशिन छ । केही घण्टाको अन्तरालमा यो मेशिन चालु भएपछि यसको कर्कश ध्वनीले हाम्रो आवाजलाई दबाइदिन्छ ।

जेठको सुरुतिर बिहानको सात बजेको छ । हामी चन्दनको बैजनी रङ् पोतिएको पसलमा छौँ । हामी हतार हतार गरी जम्मा गरिएका प्लास्टिकका कुर्सीहरुमा बसिरहेका छौँ – माछा बजार कतिखेर जीवन्त होला भन्ने पर्खाइमा । यतिखेर सम्म त माछा ल्याइसक्नुपर्ने हो, चन्दन भन्छन् । हिँजोको आँधीबेरीले माझीहरुलाई गार्हो पार्यो होला । उनीहरु आउँदै होलान् । हामी कुरिरहेका छौँ ।

चन्दन आफैँ त माछा मार्न नदीमा कहिल्यै गएका छैनन् तर सत्तरी टेक्दै गरेका उनका बाबु दशरथ भने अनुभवी माझी साथै गाउँका सम्मानित पाको मान्छे हुन् । “हामी यहाँ झण्डै २०० वर्षदेखि बस्दै आएका छौँ, हामी यहाँका रैथाने हौँ । हाम्रो पालामा मेरो परिवारले ठुलठुला डुङ्गामा माछा ओसार्थ्यो । हामी माछा मार्थ्यौँ तर माछामा मात्रै निर्भर थिएनौँ ,” ती वृद्धले हामीलाई बताए । तर माछा प्रशस्त पाइन्थ्यो, उनी सम्झिन्छन् । त्यतिखेर, २० सालतिर, बच्वा माछा किलोको भारु एक डेढ रुपियामा बिक्थ्यो ।

barari_fishermen_kol

“बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्रै जाल थाप्दा पनि १०० किलो माछा पर्थ्यो । भागलपुरबाट बरफ आउँथ्यो र रेलमा हालेर माछा नवद्विप र पश्चिम बङ्गालको चुन्चरा पठाइन्थ्यो । एक साल यति धेरै हिल्सा पर्यो, यति धेरै हिल्सा!” सम्झनाले उनको मुहारमा मुस्कान फुट्यो । “एक किलोको एक रुपियाँ मात्रै पर्थ्यो, त्यही पनि किन्ने मान्छे हुँदैनथे । यो म सानो हुँदाको कुरा हो ।” आजकाल भारतको हिल्सा माछालाई भारु १००० प्रति किलो पर्छ । चाडवाडको समयमा वा छानेर किन्दा भारु १५०० देखि २००० सम्म पनि पर्छ । दशरथ भन्छन्, नदीमा पाइने माछाका विविधता र सङ्ख्या दुवै घटेको छ । पछिल्लो ३० वर्षमा माछाको परिमाण ७० देखि ९० प्रतिशतसम्म घटेको छ ।

त्यस दिन हामीले कहालगाउँको माछा बजारमा देखेको दृश्य अपवाद थिएन – यस्तै कथा भोलिपल्ट दोहोरियो, पर्सीपल्ट दोहोरियो । हरेक दिन सोही अवस्था । त्यहाँका विशाल तराजुहरुले काम पाएनन् । के गरौँ के गरौँ लागेर दुई जना माझी केटाहरुले एउटा पसल खाली गरेर क्यारम बोर्ड खेल्न थाल्छन् । अन्य पसलहरु, चन्दनको जस्तै, माछा आउला कि भनेर कुरिरहे । तर माछा आएन । गङ्गा किनारको यो माछा बजारलाई भयानक मौनताले छोप्यो ।

बाँधको श्राप

कोशी दोभान कटिसकेपछि गङ्गाका दुवै किनाराका कहालगाउँ, बरारी, नोगछिया, कोस्किपुर गाउँका एउटा नबिराइ हरेक माझीले हामीलाई भने,”फराक्का बाँध निर्माणपछि हिल्सा, झिङ्गा, पाङ्गा, बच्वा, सिलान र अन्य बसाइ सर्ने माछाहरु पूरै लोप भए । आजकाल यिनीहरु देखिनै छाडे ।” कुनै पनि बङ्गाली परिवारमा माछाहरुको रानी मानिएको हिल्साको विशेष महत्त्व हुन्छ । पहिले पहिले वर्षाको समयमा यी माछा गङ्गा नदीमा पौडँदै पौडँदै अलाहबाद र त्यसभन्दा पनि माथिसम्म पुगेर प्रजनन् गर्थे । यसबाट उत्पन्न भुराहरु पौडँदै समुद्रमा जान्थे र अर्को वर्षातमा फेरि प्रजननको लागि पौडँदै माथि जान्थे । भारतले पश्चिम बङ्गालको फराक्कामा बाँध बाँधेपछि यो चक्र रोकिएको छ । हिल्सा, टाइगर श्रीम्प जस्ता प्रजननको लागि चिसो पानीमा बसाइँ सर्ने माछाहरु बाँध भन्दा माथिका क्षेत्रहरुमा झण्डै शून्यमा झरिसकेका छन् । गङ्गामा माछा उद्योगको अवसान यहीँबाट सुरु भएको थियो । माझीहरु आफ्नो समस्याको जड फराक्का बाँध नै हो भन्न पछि हट्दैनन् । तर बसाइँ नसर्ने माछाहरु लोप हुनुमा बाँधको कुनै दोष छैन । यसको कारण अर्कै छ ।

पुर्ख्यौली माझी र च्याँखे थाप्नेहरु

सन् १९९१ मा गङ्गा मुक्ति आन्दोलनले पानीदार(जमीनमा हैकम चलाउने जमिनदार जस्तै पानीमा हैकम चलाउने सामन्ती) हरुबाट गङ्गालाई मुक्त गराउने अभियान थाल्यो । पानीदारहरुले नदीको निश्चित भाग आफ्नो भनी दाबी गर्थे र त्यहाँका माछा लगायत नदीको अन्य उपयोग नियन्त्रण गर्थे । त्यहाँ माछा मार्ने माझीहरुले आफूले समातेको माछाको आधा भाग पानीदारलाई बुझाउनुपर्थ्यो । सामन्ती पानीदार प्रथा हटाउन अत्यन्त जरुरत थियो । तर यो प्रथाको अन्त्यसंगै जोसूकैले जहाँसूकै माछा मार्न पाउन भएपछि गङ्गा नदीको पर्यावरण साथै माछा पालेर जीविकोपार्जन गर्ने पुस्तैनी माझी जातीको लागि घातक सिद्ध भयो ।

पुस्तैनी माझी र च्याँखे थाप्नेहरुलाई छुट्याउने एउटा सजिलो उपाय छ । पुस्तैनी माझीले माछा मार्ने जाल आफैँ बुन्छन् । त्यसकारण माझीहरु भन्छन् , हातबुना जालले मात्रै माछा मार्न पाउने व्यवस्था भए गङ्गा नदीमा अझै पनि प्रशस्त माछा हुन्थ्यो । वास्तविकता अझै जटिल भए पनि, यो पनि एउटा मुख्य कारण हुनसक्छ । सबैको लागि खुला गरिएपछि, पुस्तैनी पेशा माछा मार्ने नभएकाहरुले पनि माछा मार्न थाले जसले गर्दा गङ्गा नदीको यस क्षेत्रमा माछा मार्नेहरुको सङ्ख्या ह्वात्तै बढ्यो । काग्जी तोलाका माझीहरु रिसाएका छन् ; आफ्नै आँखा सामु भएको आफ्नो नदीको दुर्दशाबारे बताउन उनीहरु तँछाड मछाड गर्छन् ।

illustration“सुरुमा बङ्गालबाट केही माझीहरु माथि आए र नदीमा मच्छड झुल हाने । तर उनीहरु तीन महिना मात्रै बसे । अहिले त पहिले १० जना हुने ठाउँमा १०० जना माछा मार्नेहरु छन् जसमा धेरैजनाको पुर्ख्यौली पेशा माछा मार्नु होइन । उनीहरु बार्है महिना नदीमा जाल थाप्छन् । पहिले एउटा डुङ्गाले एउटा मात्रै जाल हान्थ्यो । अहिले त जाल पनि सस्तै पाइन्छ । एउटै डुङ्गाले दशओटा जाल थाप्छन् ।”

“पुर्ख्यौली पेशा माछा मार्नु नभएकाहरुले बजारबाट सस्तोमा जाल त किन्छन्, तर उनीहरुले माछा मार्न जानेका हुँदैन । उनीहरु नदीको वारपार हुनेगरि जाल टाङ्छन् जसले गर्दा सबै जलचर त्यसमा अड्किएर सयौँ किलो जलचरको नाश हुन्छ । हामी सही किसिमको १२ घण्टाको लागि जाल थाप्छौँ, तैपनि १०- १२ किलो मात्रै माछा समात्छौँ ।”

माझीहरु भन्छन्, मच्छड झुलमा गर्भिणी माछा, साना माछा, भुरा माछा सबै पर्छन् । साना माछाहरु जालमा अड्केर मर्छन्, तीनको बजारमा कुनै मूल्य नआउने भएपछि नदीमै फालिन्छन् । यसरी हरेक दिन पछि ठुलो भएर उत्पादन दिन सक्ने बथानका बथान माछा मारिन्छन् । यो क्षयको पूर्ती गर्न लगभग असम्भव छ ।

कतिपयको आम्दानीको मुख्य स्रोत माछा होइन । उनीहरु खेतबारीमा तरकारी आदि लगाउँछन् । यस्ता आंशिक कालिन माछा मार्नेहरुको लागि माछा दिगो स्रोत नभइ खालि समयमा छिट्टो पैसा कमाउने उपाय हो । त्यसकारण उनीहरु आफ्नो व्यवहारको दीर्घकालीन असरको वास्ता गर्दैनन् । तर पुर्ख्यौली माझीहरुको जमीन छैन, जीविकोपार्जनको लागि वैकल्पिक पेशा छैन । उनीहरु आफ्नो जीवनयापनको लागि शतप्रतिशत नदीमै भर पर्छन् ।

“माछालाई फुल कोरल्न नदिए, भुरा हुर्किन नदिए, भोलि के खाने ?” गङ्गा-ब्रम्हपुत्र-मेघना नदी घाँटीका सबै पुर्ख्यौली माझीहरु यसै भन्छन् । गङ्गा किनारका माझीहरु तावाबाट भुङ्ग्रोमा खसेका छन् । गङ्गा नदी पानीदारको थिचोमिचोबाट त मुक्त भयो तर अहिले पानीदारको ठाउँमा नदी वरपर डुल्ने घोडचढी हतियारधारीहरुको विगविगी छ । यी समूहहरुले माझीहरुलाई पटक पटक आक्रमण गरेका छन् ।

“हामीले माछा समातेर ल्याउँदा उनीहरु बाटो ढुकेर बस्छन्, र माछा लुटेर लान्छन् । पकाउन पनि लाउँछन् । भनेको मानेन भने उनीहरुले हामीलाई मार्न पनि सक्छन्,” दशरथ भन्छन् ।यस्ता खतरनाक हतियारधारी भक्षक लुटेरा समूहहरु थुप्रै छन् । एउटा समूह अर्को समूहको दुश्मन हो । यो अकण्टक द्वन्द्वको दोहोरो भिडन्तमा डल्फिन सर्वेक्षण टोली आफैँ पनि दुईचोटी परिसकेको छ ।

आरती कुमार–राव ब्याङ्ग्लोर बस्ने स्वतन्त्र पत्रकार हुन् । उनलाई [email protected]मा सम्पर्क गर्न सकिन्छ । यो लेख thethirdpole.net र  Earth Journalism Network को आर्थिक सहयोगमा तयार गरिएको हो । यो लेख सुरुमा The Hindustan Times मा प्रकाशित भएको थियो ।

Privacy Overview

This website uses cookies so that we can provide you with the best user experience possible. Cookie information is stored in your browser and performs functions such as recognising you when you return to our website and helping our team to understand which sections of the website you find most interesting and useful.

Strictly Necessary Cookies

Strictly Necessary Cookie should be enabled at all times so that we can save your preferences for cookie settings.

Analytics

This website uses Google Analytics to collect anonymous information such as the number of visitors to the site, and the most popular pages.

Keeping this cookie enabled helps us to improve our website.

Marketing

This website uses the following additional cookies:

(List the cookies that you are using on the website here.)