जलवायु व्याख्या: हिमाली क्षेत्रमा जलवायु परिवर्तन, भूकम्प र जलविद्युत एक नयाँ अनुसन्धानले हिमाली क्षेत्रमा हिमनदी पग्लने दरमा भएको वृद्धि र हिमाली भूबनोटको बढ्दो अस्थीरताले भूकम्पलाई अझै जोखिमयुक्त बनाउनुका अतिरिक्त भूकम्पको संख्या समेत बढाइरहेको देखाएको छ । नेपाली नेपाली हिन्दी English Share this article × Copy link to page Copy link to page × यो आलेख पुन: प्रकाशित गर्नुहोस् हामी तपाईँलाई कुनै अनलाइन मिडिया वा अखबारमा द थर्डपोलका लेखहरू पुन: प्रकाशन गर्न अनुमति दिन्छौं । यदि तपाईँ आफ्नो मिडियामा हाम्रा सामाग्रीहरू प्रकाशन गर्न चाहनुहुन्छ भने क्रिएटिभ कमन्स इजाजतपत्रका सर्तहरू पालना गर्न आग्रह गर्दछौं । थर्डपोलले आफै उत्पादन गरेका कुनै पनि सामाग्रीहरू पुनःप्रकाशित गर्नु अघि कृपया हाम्रो निर्देशिका पढ्नुहोस्। जलवायु परिवर्तन र ठुला पूर्वाधार आयोजनाले हिमाली क्षेत्रमा गम्भीर प्रकोपहरूको सम्भावना बढाइरहेको छ । (चित्र: न्यूट्रोन टी । द थर्ड पोल) Abrar Mattoo मे 11, 2023May 24, 2023 हिमालय पर्वत तुलनात्मक रूपमा नयाँ पहाड हुाे। भारतीय उपमहाद्वीपको टेक्टोनिक प्लेट सरेर यूरेशियन प्लेटसँग ठोक्किँदा उठेका पहाडले हिमाली शृंखला बनेका हुन् । एकआपसमा अड्केर स्थीर बसेका टेक्टोनिक प्लेटहरूले आफूमा सञ्चित दबाब विसर्जन गर्न चिप्लिँदा भूकम्पहरू आउँछन् । त्यसैले हिमाली क्षेत्रमा भूकम्पको जोखिम धेरै छ । जलवायु परिवर्तनले मौसमी गतिविधिको प्रवृत्तीलाई असर गरिरहेको, हिमनदीहरू पग्लिने दर बढिरहेको र हिमाली भूबनोट अस्थिर बनिरहेकाले पहिले देखि नै बढ्दो क्रममा रहेको भूकम्पीय जोखिमका बीच, एक नयाँ अनुसन्धानले जलवायु परिवर्तनले यस क्षेत्रमा भूकम्पको संख्या समेत बढाइरहेको देखाएको छ । • के हिमाली क्षेत्रमा भूकम्पहरूको संख्या बढ्दै गएको हो?• के जलवायु परिवर्तनले पनि हिमाली क्षेत्रमा भूकम्प जान सक्छ?• के ठुला पूर्वाधार निर्माणले भूकम्प जान सक्छ ?• जलवायु परिवर्तनले भूकम्पलाई कसरी बढी जोखिमयुक्त बनाउँछ ?• हिमालीक्षेत्रमा बढ्दो बहुविपद् के हिमाली क्षेत्रमा भूकम्पहरूको संख्या बढ्दै गएको हो ? सन् १९०० देखि सन् २०१० सम्ममा हिमाली क्षेत्रमा भएका भूगर्भीय गतिविधिको विश्लेषण गर्दा भूकम्पका संख्यामा तीव्र वृद्धि भएको र खासगरि सन् २००० पछि झन् धेरै बढेको देखिन्छ । विश्लेषण अनुसार, हिमाली क्षेत्रमा सन् १९६० देखि ७०को दशकमा प्रति वर्ष १०० भन्दा कम भूकम्पहरू जाने गरेकामा सन् २००० देखि २०१०को बीचमा ५०० देखि ६०० भुकम्प गए । ती भूकम्पहरूमध्ये धेरैजसो २.० देखि ६.० रिक्टर स्केलका थिए । कतिपयले कमसल गुणस्तरमा निर्माण गरिएका संरचनाहरूमा क्षति पुर्याए भने अन्यले उच्च गुणस्तरमा निर्माण भएका संरचनाहरूमा समेत केही क्षति पुर्याए । कतिपय भूकम्प मानिसहरूले स्वतः महसुस गर्न सक्ने खालका थिए भने, अन्य भूकम्प अत्याधुनिक वैज्ञानिक उपकरणले मात्र पत्ता लगाउन सक्ने खालका थिए । यद्यपि, उक्त विश्लेषणले भूकम्पको संख्यामा भइरहेको वृद्धि र जलवायु परिवर्तन बीच सिधा सम्बन्ध भने स्थापित गर्न सकेको छैन । के जलवायु परिवर्तनले पनि हिमाली क्षेत्रमा भूकम्प जान सक्छ ? हिमालयको लगभग १ लाख वर्ग किमी क्षेत्रफल हिमनदीहरूले ढाकेका छन् । पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव बाहिर पृथ्वीको सबैभन्दा ठुलो बरफको भण्डार यही हो । हिमाली क्षेत्र विश्वव्यापी औसत दरभन्दा छिटो गतिमा तात्दैछ । कार्बन उत्सर्जनको दर मध्यम स्तरको मात्रै कायम रहँदा पनि हिमाली क्षेत्रका हिमनदीहरूमा सन् २०३० सम्ममा बरफ भण्डारको १० देखि ३० प्रतिशत घट्ने अनुमान सन् २०२२को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले गरेको छ । काश्मीर विश्वविद्यालयका भूवैज्ञानिक मुदासिर भाटका अनुसार हिमाली क्षेत्रका हिमनदीमा भएको यो परिवर्तनले आइसोस्टेसी नामक प्रक्रियाका गराउँछ र यसका कारण थप भूकम्पहरू जान सक्छन् । आइसोस्टेसी भनेको पृथ्वीले बोक्ने तौलको आधारमा यसको सतह कसरी उठ्छ र कसरी बस्छ भन्ने व्याख्या गर्ने प्रणाली हो । यस प्रक्रियामा हिमनदीहरूले पार्ने प्रभावलाई ग्लेशियल आइसोस्टेटिक अड्जस्टमेण्ट (जीआइए) भनिन्छ । हिमाली क्षेत्रको भूसतहमा धेरै संख्यामा ठुला धाँजा वा दरारहरू रहेका हुनाले, जीअाइए मार्फत हिमनदीमा भएको बरफको क्षयले गर्दा पृथ्वीको सतहमा हुने असन्तुलन वा चालले थप भूकम्प आउन सक्ने भाटको विश्वास छ । यो प्रक्रिया पृथ्वीको अन्य क्षेत्रमा पनि देखिएको छ । Recommended तर हिमाली क्षेत्रको भूसतहमा चाप सिर्जना गर्ने पक्ष हिमनदी मात्र होइनन् । यसमा मनसुनले पनि आफ्नो भूमिका खेल्छ । मनसुन दक्षिण एसियामा अंग्रेजी महिना जुनदेखि सेप्टेम्बरसम्म चल्ने गर्छ र यस क्षेत्रमा हुने कूल वर्षाको ८०% वर्षा मनसुनमै हुन्छ । नेपालका हिमाली क्षेत्रमा गएका भूकम्पहरूमध्ये मापन उपकरणले नाप्न सकेका १०,००० भूकम्पहरूसँग सम्बन्धित मौसमी ढाँचाहरू केलाएर फ्रान्सेली र नेपाली वैज्ञानिकहरूले गरेको अनुसन्धानले “गर्मी याममा भन्दा जाडो याममा भूकम्पको संख्या दुई गुणाले बढी हुने” गरेको निष्कर्ष निकालेको छ । वर्षा याममा गंगा नदी बेसीनमा पानीको मात्रा समेत बढ्ने हुनाले भूगर्भीय चाप पनि बढ्नु यसको कारण रहेको उनीहरूले बताएका छन् ।. पाकिस्तानको इस्लामावादमा रहेको राष्ट्रिय भूगर्भ अनुगमन केन्द्रका निर्देशक तथा प्रमुख भूगर्भविद् जाहिद रफीका अनुसार , “जाडोमा जाने धेरै भूकम्पहरू तुलनात्मक रूपमा कम रिक्टर स्केलका वा सूक्ष्म भूकम्पहरू हुन् ।” यद्यपि, यी साना भूकम्पहरूले समेत कालान्तरमा धेरै विनाशकारी ठुला भूकम्पहरू ल्याउन सक्ने उनको भनाइ छ । वि स २०७२ बैशाखमा गएको ठुलो भूकम्पले नेपालको माद्रे गाउँमा गरेको विनाश ।(तस्वीर: मेजरिटी वर्ल्ड सीआईसी / अलामी) जलवायु परिवर्तनले मनसुनलाई थप असामान्य बनाउन थालेकाले भारतीय उपमहाद्वीपमा पानीको ठुलो मात्रा कहिले र कहाँ जम्मा हुन्छ भन्ने पूर्वानुमान गर्न सकिँदैन । यसले सूक्ष्म भूकम्पमा प्रभाव पार्न सक्छ, र लामो समयसम्म खडेरी पर्दा भूगर्भीय गतिविधिको संख्या बढाउन सक्छ । साना भूकम्पहरूमध्ये धेरैजसो मानिसले महसुस नगर्ने र धेरै क्षति नपुर्याउने किसिमका हुन्छन् । तर यस्ता भूकम्पले भूगर्भीय चाप कम गरी ६ रिक्टर स्केलभन्दा माथिका ठुलो विनाशकारी भूकम्प जाने सम्भावना घटाउँछ कि यसको विपरित ठुलो भूकम्पको लागि थप चाप सञ्चय गर्छ भन्ने विषय प्रष्ट छैन । पासाडेना, क्यालिफोर्नियामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाका विज्ञ पल लन्डग्रेनले सन् २०१९ मा दिएको अन्तर्वार्तामा यही प्रश्नको जवाफ दिएका थिए, “कतिखेर कहाँ पृथ्वीसतहको धाँजा वा दरार टुट्न लागेको हुन्छ र गैर-भूगर्भीय कारणले समेत यो धराप भत्किन्छ भन्ने हामी अनुमान गर्न सक्दैनौँ । त्यसैले, जलवायु प्रक्रियाको कारण ठुलो भूकम्प जान्छ वा जाँदैन भनी हामी अहिले नै केही भन्न सक्ने स्थितिमा छैनौं ।” के ठुला पूर्वाधार निर्माणले भूकम्प जान सक्छ ? मानवीय गतिविधिको कारण पनि भूकम्प जान सक्छ भनी सन् १९६० देखि नै अध्ययन गर्न थालिएको थियाे । जलविद्युत आयोजनासँग सम्बन्धित रहेर जलाशय-प्रेरित भूगर्भीय गतिविधि (RIS) भनिने यस प्रणालीको अभिलेख राखिएको छ । यस प्रणालीले ठुलो जलाशयमा पानीले सिर्जना गरेको चापको कारण जलाशय मुनिको भाग वा नजिकै रहेको दरारको कारण भूसतह मूनिको भाग चिप्लन्छ र भूकम्प जान्छ भनी देखाएको छ । चीन, भारत, पाकिस्तान, नेपाल र भुटान समेट्ने गरी हिमाली क्षेत्रमा हाल करिब १०० जलाशययुक्त आयोजनाहरू सञ्चालनमा छन् र थप ६५० आयोजनाहरू योजना तर्जुमाको चरणमा वा निर्माणाधीन चरणमा छन् । यी सबै आयोजनाहरू पूरा भएमा, हिमाली क्षेत्र विश्वमै सबैभन्दा बढी बाँध घनत्व भएको क्षेत्र बन्नेछ । त्यसमा पनि भारतको जम्मूको चेनाब क्षेत्र र अरुणाचल प्रदेशको ब्रह्मपुत्र नदी किनारमा बढी आयोजनाहरू रहनेछन् । जम्मूको चेनाब नदीमा रहेको बगलिहार जलविद्युत आयोजना । हाल योजनामा रहेका सबै परियोजनाहरू निर्माण गरियो भने, यो संसारको सबैभन्दा बढी बाँध घनत्व भएको क्षेत्रहरू मध्येको एक हुनेछ। (तस्वीर: शर्वरी मेहेन्दले / आलमी) भूगर्भ शास्त्रका एकीकृत अनुसन्धानकर्ता तथा जम्मू र कश्मीरको श्रीनगरमा रहेको अनुसन्धान संस्थान, तहकीक इन्टरनेशनलका निर्देशकका अयाज महमूद दारका अनुसार, “जम्मुमा रहेको चेनाब उपत्यका जलाशय-प्रेरित भूकम्पको केस स्टडी हो ।” चेनाब उपत्यकामा अवस्थित चार ठुला जलविद्युत आयोजनाहरू बाहेक, कम्तिमा अन्य छ ठुला परियोजनाहरू हाल विकासको विभिन्न चरणहरूमा छन्। सन् २०२२ को अगस्ट महिनामा चेनाब उपत्यकामा पाँच दिनभन्दा कम समयमा १३ ओटा भूकम्पहरू गए । “यो उपत्यका किश्तवार दरार वा फल्टमा पर्छ र ठुलो बाँध निर्माणले यस क्षेत्रमा भूगर्भीय गतिविधि बढेको प्रष्ट छ । यद्यपि, पूर्ण सूचना प्राप्त गर्न थप अनुसन्धान गर्न आवश्यक छ ” दार भन्छन् । जलवायु परिवर्तनले भूकम्पलाई कसरी बढी जोखिमयुक्त बनाउँछ ? भूकम्पपछि पहिरो जाने वा हिमताल फुट्ने प्रक्रिया ग्लेशियल लेक आउटबर्स्ट फ्लड (GLOF) लगायतका बहुविपद् अर्थात् एउटा विपद्ले अर्को विपद् निम्त्याउने प्रक्रियाले ठुला भूकम्पको विनाशकारी प्रभावलाई झन् बढाउँछ । हिमनदीबाट पग्लिएको पानीको मात्रा बढ्दै जाँदा हिमतालका भित्ताहरूमा चाप वृद्धि भएर हिमताल विष्फोट भई आउने बाढीलाई ग्लेशियल लेक आउटबर्स्ट फ्लड (GLOF) भनिन्छ । । हिमतालहरू प्रायः स्थिर हुँदैनन् र हिमनदी फुट्दा पानीलाई अड्काएर राखेको गेग्र्यान वा लेदो बगेर ठुलो क्षति हुने सम्भावना हुन्छ । विश्वभर, १ करोड पचास लाख मानिसहरू हिमताल विष्फोटको जोखिममा रहेका छन् । त्यसको एक तिहाइ भारत (३० लाख) र पाकिस्तान (२० लाख) मा मात्र बस्छन् । हिमाली क्षेत्रमा जाने भूकम्पले हिमताल विष्फोट समेत गराउन सक्ने भएकाले अन्यत्र गएको ५ रिक्टर स्केलको भूकम्पभन्दा यहाँ जाने त्यत्रै भूकम्पले बढि क्षति गराउने, नेपालमा रहेको काठमाडौं विश्वविद्यालयको हिमालयन क्रायोस्फियर, क्लाइमेट एण्ड डिजास्टर रिसर्च सेन्टरमा कार्यरत भूकम्पविद् राकेश कायस्थले द थर्ड पोललाई बताए । सन् २०१३ मा भएको भारी वर्षा र हिमपहिरोले चोरबारी हिमताल विष्फोट हुँदा आएको बाढीले उत्तराखण्डका क्षतिग्रस्त नगर पञ्चायतका भवनहरू । (तस्वीर: फ्रैंक बिनेवाल्ड / अलामी) जलवायु परिवर्तनले तापक्रम वृद्धि हुँदा हिमनदीहरू तीव्र गतिमा पग्लँदैछन् र यस प्रक्रियामा हिमतालहरूको संख्या बढ्दैछ । अनुसन्धानकर्ताहरूले हिमाली क्षेत्रमा ८,००० भन्दा धेरै हिमतालहरूको पहिचान गरेका छन् जसमध्ये २०० जति हिमतालहरू जोखिमयुक्त हुनसक्छन् । सन् २००३ देखि २०१०को बीचमा भारतीय राज्य सिक्किममा मात्र ८५ वटा नयाँ हिमतालहरू थपिए । समथर जमिनमा खुला ठाउँमा बालिने आगो र कोइला खानीजस्ता स्रोतहरूबाट उत्सर्जन हुने अत्यन्त हानिकारक प्रदुषकहरू समेत हिमनदीहरूमा खस्ने र यसले गर्दा थप ताप प्राप्त भई हिमताल पग्लाईको दर वृद्धि हुने हुँदा यस प्रक्रियाले तापमान वृद्धिको असरलाई अझै बढाउँछ । जलवायु परिवर्तनले गराउने तापक्रम वृद्धिले हिमाली क्षेत्रमा भूकम्प निम्त्याउन सक्ने अर्को तरिका यस्तो हुनसक्छः हिमनदी पग्लँदा बरफको ठुलो अंश टुक्रिएर झर्दा कम्पन हुने वा क्रायो-सिस्मिसिटी वा ‘आइसक्वेक’ नामक प्रक्रिया उत्पन्न हुन्छ जसमा हिउँ वा बरफ जमेको जमिन हल्लँदा ध्रुवीय क्षेत्रहरूमा हुने जस्तो भूकम्पीय क्रिया हुन्छ । “हिमनदीहरू फुट्दा हिउँले ढाकेको सतहमा ७ रिक्टर स्केल सम्मका भूगर्भीय क्रियाहरू उत्पन्न हुनसक्छन्,” अयाज महमुद डार भन्छन् । “हिमनदीहरूले अधिक गर्मी सोस्दै गर्दा, नयाँ दरारहरू थपिने सम्भावना बढ्छ र यसबाट हिमकम्प वा अभालाञ्चे जाने सम्भावना पहिलेभन्दा बढेको छ । त्यसैले हिमाली क्षेत्र साँच्चिनै खतरामा छ ।” हिमालीक्षेत्रमा बढ्दो बहुविपद् अहिलेसम्म हिमनदीहरू फुटेका कारण हिमाली क्षेत्रमा ठुलो हिमकम्पीय घटनाहरू घटेका छैनन् । हिमनदीहरू फुट्दा बाढी र पहिरो जाने जस्ता बहुविपद्हरू देखा परेका छन् । सन् २०२१ को फेब्रुअरी महिनामा यस्तै घटना घटेको थियो । त्यतिखेर, भारतीय राज्य उत्तराखण्डमा भूकम्पका कारण नभई हिमस्खलनका कारण हिमनदीको ठुलो अंश भत्किएपछि अचानक बाढी आयो र निर्माणाधीन बाँधमा क्षति पुग्यो । Recommended जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बहुविपद्को सम्भावना बढी छ । उदाहरणका लागि, बेमौसमी वर्षा र अतिवृष्टीका कारण हिमाली क्षेत्रमा पहिरो खस्ने क्रम बढ्दो छ । सन् २०२० मा नासाको अनुसन्धान टोलीले सन् २०६१ देखि २१०० सम्ममा नेपाल–चीन सीमा क्षेत्रमा ३० देखि ७० प्रतिशत बढी पहिरो जाने अनुमान गरेको थियो । यस क्षेत्रमा हिमनदीहरू र हिमतालहरू धेरै छन् । यसको अर्थ यहाँ भूस्खलनले हिमताल विष्फोट गराउने र हिमताल विष्फोटले भूस्खलन गराउने सम्भावना उच्च छ । यसका साथै, जलवायु परिवर्तनले उच्च पहाडी क्षेत्रका भिरालो जमिनमा अस्थिरता बढाइरहेको स्पष्ट प्रमाण हरू छन्, जसको अर्थ हो कि तिनीहरू चट्टान खस्ने र पहिरोको अधिक जोखिममा छन् । ठुलो भूकम्प गयो भने यी सबै घटनाहरू एकै साथ हुन पनि सक्छन् । यस्ता बहुविपद्हरूले ठुलो क्षति पुऱ्याउनुका साथै राहत कार्यहरूलाई समेत जटिल र सीमित तुल्याउनेछन् । पाकिस्तानको राष्ट्रिय भूकम्पीय अनुगमन केन्द्रका जाहिद रफीले भने, “सन् २००५ मा काश्मिरमा गएको भूकम्पको अनुभव हेर्ने हो भने हिमाली क्षेत्रमा जाने पहिरोहरू गम्भीर प्रकृतिका हुन्छन् भन्ने देखिन्छ । त्यतिखेर भूकम्पको कारण पहिरोहरू गएका थिए र पहिरोबाट मात्रै ८६,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । पहिरो, चट्टान खस्ने र पराकम्पनका कारण सडकमा क्षति पुगेर कैयौँ हप्तासम्म यातायात अवरुद्ध भएको थियो र यसले गर्दा राहत कार्यक्रम समेत प्रभावित भएको थियो ।” ओमेर अहमदको अतिरिक्त रिपाेर्टिग सहित अब्रार मात्तुले अंग्रेजीमा तयार गरेकाे यो लेख ठाकुर अंगाईले नेपालीमा अनुवाद गरेका हुन् । थप पढ्नुहोस् एक्सप्लेनर हिमालय व्याख्याः हिमाली क्षेत्रमा बाढीको समस्यामाथि वन डढेलोले थपेको जटिलता आलेख जलवायु प्रभाव IPCC: ‘Severe consequences’ of further warming in disaster-hit Himalayas आलेख जलवायु अनुकूलन Is Jammu and Kashmir finally getting serious about disaster preparedness? विचारहरू द थर्ड पोल विचारः हिमाली क्षेत्रमा ‘क्यासकेडिङ’ प्रकोपको जोखिम कसरी कम गर्ने ? आलेख वन्यजन्तु वन्यजन्तु विभागका प्रमुख भन्छन्, ‘नेपालले बाघ वा गैँडाको व्यावसायिक पालन गर्ने संम्भावनालाई नकार्न सकिंदैन’ आलेख वन्यजन्तु नेपालमा गैँडाको संख्या बढिरहँदा जोखिमको पाटोलाई नजरअन्दाज गरिएको हो ? आलेख जलविद्युत जलविद्युत् परियोजनाका कारण मध्यनेपालका हजारौँ स्थानीयबासी विस्थापनको जोखिममा आलेख वन्यजन्तु अन्तर्वार्ताः डीएनए अध्ययनले नेपालको बाघ संरक्षणमा मद्दत पुर्याउन सक्छ शीर्षकहरू खोज्नुहोस् पानी उर्जा जलवायु प्रकृति खाना जंगल न्याय प्रदुषण महासागर व्यवसाय